images
images
  • चीन–ताइवानबीच झडप हुनसक्छ : सी

    काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिङपिङले अमेरिकासँगको सम्बन्धलाई ‘रचनात्मक, रणनीतिक र स्थिर’ भन्दै नयाँ ढंगले व्याख्या गरेका छन् ।

    चिनियाँ विदेश मन्त्रालयका अनुसार यही आधारमा आगामी तीन वर्ष र त्यसपछिको चीन–अमेरिका सम्बन्ध अघि बढाउने विषयमा सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सहमति भएको छ ।

    बेइजिङमा भएको भेटवार्तापछि जारी विज्ञप्तिमा सीले चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको मूल आधार ‘आपसी लाभ र दुवै पक्षको जित’ भएको बताएका छन् ।

    उनले दुवै देशले कठिन प्रयासबाट प्राप्त सकारात्मक वातावरणलाई जोगाउन सहकार्य जारी राख्नुपर्नेमा जोड दिए ।

    सीले अमेरिकी व्यवसायका लागि चीनको बजार अझ खुला बनाइने आश्वासन पनि दिएका छन् ।

    दुई नेताबीच पश्चिम एसिया, युक्रेन र कोरियाली प्रायद्वीपको अवस्थाबारे समेत छलफल भएको थियो ।

    तर वार्तामा सबैभन्दा बढी प्राथमिकता ताइवान मुद्दाले पाएको चिनियाँ पक्षले जनाएको छ ।

    सीले ताइवानलाई चीन–अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण विषयका रूपमा व्याख्या गर्दै यसलाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

    ‘यदि ताइवान मुद्दालाई सही ढंगले सम्हालियो भने द्विपक्षीय सम्बन्धमा स्थिरता कायम रहन्छ । तर त्यसो हुन सकेन भने दुई देशबीच झडप र द्वन्द्वको अवस्था सिर्जना हुन सक्छ,’ सीलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

    सीले बिहीबार ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गर्ने कार्यक्रम छ भने शुक्रबार पुनः दुई नेताबीच थप वार्ता हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images