काठमाडौं– प्रधानमन्त्रीको अनुपस्थिति र विपक्षी दलहरूको कडा अडानका कारण प्रतिनिधिसभाको बैठक बुधबार कार्यसूचीमै प्रवेश नगरी अवरुद्ध भएको छ। सभामुखले नियमावलीको व्याख्या गर्दै बैठक सञ्चालन गर्ने प्रयास गरे पनि विपक्षी सांसदहरूले संसदीय परम्पराको आधारमा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको माग गर्दै अवरोध जारी राखेपछि बैठक स्थगित गरिएको हो।
बुधबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यसूची थियो। छलफलपछि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने र त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तयारी थियो। तर प्रधानमन्त्री अनुपस्थित भएपछि कार्यसूची अघि बढ्न सकेन।
सभामुखले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीलाई प्रस्ताव टेबुल गर्न अनुमति दिएपछि विपक्षी सांसदहरू आक्रोशित बने। उनीहरूले प्रधानमन्त्री स्वयं उपस्थित नभएसम्म छलफल अघि नबढाउने अडान लिए। पटक–पटक सभामुखले बैठक सञ्चालन गर्न आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गर्नुपरेको हो।
कांग्रेस, एमाले, राप्रपा, नेकपा लगायतका विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई संसद्को मर्यादामाथिको प्रश्न भन्दै आलोचना गरे। उनीहरूले नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने तर्क राखे।
राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको अनुपस्थिति “सभामुख र संसद्को अस्तित्वमाथिको प्रश्न” भएको टिप्पणी गरे। एमाले प्रमुख सचेतक ऐन महरले भने प्रधानमन्त्री संसद्बाट पन्छिन नमिल्ने चेतावनी दिए।
अर्कोतर्फ, सत्तापक्षीय सांसदहरूले नियमावलीको व्यवस्था उद्धृत गर्दै प्रधानमन्त्री अनुपस्थित भएमा तोकिएको मन्त्रीले कार्य गर्न सक्ने दाबी गरे। रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले नियमअनुसार नै अर्थमन्त्रीलाई प्रस्ताव प्रस्तुत गर्न दिइएको बताए।
दोस्रो र तेस्रो बैठकमा पनि सहमति नजुटेपछि नीति तथा कार्यक्रममाथिको छलफल सुरु नै हुन सकेन। यससँगै नयाँ प्रतिनिधिसभाको पहिलो महत्वपूर्ण कार्यसूची नै अवरुद्ध भएको छ।
यसबीच सभामुखले संसद् नियमावलीको सीमाभित्र रहेर बैठक सञ्चालन गर्नुपर्ने अडान दोहोर्याए। उनले भावनामा नभई कानुनअनुसार सदन चलाउनुपर्नेमा जोड दिए।
त्यस्तै, मंगलबारको बैठकमा एमाले नेता रामबहादुर थापा “बादल” द्वारा प्रयोग गरिएका केही शब्दहरूलाई असंसदीय भन्दै संसद्को अभिलेखबाट हटाइएको पनि सभामुखले जानकारी गराएका छन्।






















