images
images
  • बालेन सरकारका अध्यादेश विपक्षी दलको काँधमा, संसद्‌बाट पारित हुन देलान् ?

    काठमाडौं– सरकारले संसद् अधिवेशन जारी रहेकै बेला आठवटा अध्यादेश ल्याएको छ। यी अध्यादेशमार्फत सार्वजनिक पदमा रहेका करिब १५ सय जना एकैपटक पदमुक्त भएका छन्। साथै निर्माण, सहकारी, सार्वजनिक खरिद र भूमिसम्बन्धी नीतिमा पनि महत्वपूर्ण परिवर्तन गरिएको छ।

    अब यी अध्यादेशहरू ऐनमा परिणत हुने वा नहुने भन्ने निर्णायक अवस्था राष्ट्रिय सभाको राजनीतिक अंकगणितका कारण मुख्य रूपमा कांग्रेस, एमाले र अन्य दलहरूको सहमतिमा निर्भर बनेको छ।

    कांग्रेस सांसद रन्जित कर्णका अनुसार पार्टीले सरकारका कदमलाई गुण र दोषका आधारमा मूल्यांकन गर्ने नीति लिएको छ। उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति भने असहमति जनाउँदै भने, “यो अध्यादेशले संविधानको मर्मलाई सम्बोधन गर्दैन, यसमा हाम्रो स्पष्ट विरोध छ।”

    विपक्षी दलहरूले अध्यादेशहरू अस्वीकृत गर्नुपर्ने भन्दै संसद् सचिवालयमा सूचना समेत दर्ता गराएका छन्। अधिवेशन नरहेका बेला जारी गरिएका यी अध्यादेशहरू वैशाख २८ गते प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेस भइसकेका छन्।

    पेस गरिएका अध्यादेशहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन), सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था, संवैधानिक परिषद् (पहिलो संशोधन), सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन), स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी संशोधन तथा विश्वविद्यालयसम्बन्धी विभिन्न संशोधन अध्यादेशहरू रहेका छन्।

    संविधानको धारा ११४ अनुसार संसद् अधिवेशन नरहेका बेला सरकारले अध्यादेश जारी गर्न सक्छ। तर अधिवेशन सुरु भएपछि ती अध्यादेश पहिलो बैठकमै पेस गर्नुपर्ने व्यवस्था छ।

    त्यसपछि सांसदहरूले अध्यादेश अस्वीकार गर्न सूचना दर्ता गर्न पाउने प्रावधान नियमावलीमा उल्लेख छ। सोही अनुसार विपक्षी दलहरूले अस्वीकारको सूचना दर्ता गरेका हुन्।

    कांग्रेसले संवैधानिक परिषद् र केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश अस्वीकार गर्न माग गरेको छ भने नेकपाले पनि विभिन्न अध्यादेशहरू अस्वीकृत गर्न सूचना दर्ता गराएको छ।

    अब यी अध्यादेशहरूको भविष्य संसद्का प्रमुख दलहरूको सहमतिमा निर्भर बनेको छ। विशेषगरी राष्ट्रिय सभाको गणितीय संरचनाले निर्णायक भूमिका खेल्ने देखिन्छ।

    प्रतिनिधिसभामा सरकार पक्षले सहज बहुमतको अवस्था राखे पनि राष्ट्रिय सभामा भने फरक समीकरण छ। ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसका २४, नेकपाका १७, एमालेका १० तथा अन्य साना दलका सदस्यहरू रहेका छन्।

    संविधानअनुसार कुनै एक सदनले पनि अध्यादेश अस्वीकार गरेमा त्यो स्वतः निष्क्रिय हुन्छ। यही कारण राष्ट्रिय सभामा कांग्रेस–एमाले लगायत प्रमुख दलहरूबीचको सहमति वा असहमति नै अध्यादेशहरूको भविष्य निर्धारण गर्ने निर्णायक तत्व बन्न पुगेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images