काठमाडौं– व्यापारीहरू दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहेका बेला सो प्रकरणलाई प्रभावित पार्ने प्रयास भएको आशंका बढेको छ। उनीहरूसँग व्यवसायिक रूपमा जोडिएका केही साझेदारहरू हाल फरार रहँदा अनुसन्धानमा जटिलता थपिएको छ।
स्रोतका अनुसार सरकारी अधिकारी, उच्चपदस्थ कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूको नामसमेत विभिन्न कम्पनीहरूको सेयर संरचनामा देखिनुका कारण अनुसन्धान निष्पक्षतामाथि प्रश्न उठेको हो।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर संरचनामा अर्थ सचिव घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायको नाम देखिएको छ। त्यस्तै, तत्कालीन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी पत्नी राखी निहारिकाको नाम हिमालयन रि–इन्स्योरेन्समा सेयरधनीका रूपमा भेटिएको विवरण सार्वजनिक भएको छ।
सम्बन्धित अधिकारीहरूले भने ती लगानीहरू वैध स्रोतबाट गरिएको दाबी गर्दै आएका छन्। अर्थ सचिव उपाध्यायका अनुसार पत्नीका नाममा गरिएको लगानी उनको वैध आम्दानीबाट गरिएको हो र बैंकिङ माध्यममार्फत भुक्तानी भएको छ।
यसैबीच, अनुसन्धानको क्रममा भट्टका केही साझेदारहरू मदिरा व्यवसायी राजबहादुर शाह, रोहित गुप्ता, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोर लगायत हालसम्म फेला नपरेको स्रोतको दाबी छ। उपेन्द्र हिरावत पनि विदेशमा रहेको बताइएको छ।
हिरावत र भट्टबीच भारतको उत्तरपूर्वी राज्य मिजोरममा औषधि उद्योगमा साझेदारी रहेको आशंका समेत अनुसन्धानको दायरामा ल्याइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस विषयमा थप अनुसन्धान गरिरहेको भए पनि आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
सीआईबीका प्रवक्ता एसएसपी शिवबहादुर श्रेष्ठले अनुसन्धान जारी रहेको र निष्कर्षपछि मात्र सबै तथ्य सार्वजनिक हुने बताएका छन्।
भट्ट २०८२ चैत १९ गते पक्राउ परेका थिए। उनीविरुद्ध धितोपत्र कारोबार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढिरहेको छ।
कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेखअनुसार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा ४६ जना संस्थापक सेयरधनी रहेका छन्। सूचीमा विभिन्न व्यवसायी, लगानीकर्ता तथा कम्पनीहरूका साथै भट्ट स्वयं र उनका सहयोगीहरू पनि समावेश छन्।
अनुसन्धान प्रभावित पार्ने प्रयास भएको आशंका र सरकारी निकायका अधिकारीहरूको संलग्नताबारे उठेका प्रश्नले प्रकरण थप संवेदनशील बनेको देखिएको छ।






















