काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिएको आरोपमा तीन जनाविरुद्ध अभियोगपत्र दायर गरेको जनाएको छ ।
प्रहरीका अनुसार प्रदीप अधिकारीको निर्देशन र मिलेमतोमा प्रकाश पाठक र तारा प्रसाद खरेलले संगठित रूपमा आयोगका प्रमुख आयुक्तलाई इजीएन नामक कथित आतंकवादी संगठनको नाम प्रयोग गरी राजीनामा नदिए ज्यान मार्ने धम्की दिएको साथै आपराधिक लाभ (एक्सटर्सन) लिन खोजेको आरोपमा मुद्दा दायर गरिएको हो ।
परिसरले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उनीहरूमाथि आपराधिक षडयन्त्र, विद्युतीय कारोबार ऐन उल्लंघन, हुन्डी कारोबार तथा संगठित अपराध निवारण ऐनअन्तर्गतका कसूरसमेत गरेको दाबी गरिएको छ ।
अनुसन्धानका क्रममा प्रतिवादीहरूले पत्र, ह्वाट्सएप नम्बर तथा भिडियोमार्फत धम्की दिएको खुलेको प्रहरीको भनाइ छ ।
सोही आधारमा मुद्दा दायर गरिएको परिसरले जनाएको छ ।
अभियोगपत्रमा प्रतिवादी प्रकाश पाठक फिलिपिन्समा लुकीछिपी बस्दै आएको उल्लेख छ भने प्रदीप अधिकारी तत्कालीन नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रहेको जनाइएको छ ।
तारा प्रसाद खरेल पनि सोही प्रकरणमा संलग्न रहेको दाबी गरिएको छ ।
प्रहरीले उनीहरूविरुद्ध मुलुकी अपराधसंहिता तथा संगठित अपराध निवारण ऐनअनुसार सजायको मागदाबी गरेको छ ।
यस प्रकरणमा अन्य व्यक्तिहरूको संलग्नता खुल्न आएमा थप अनुसन्धान गरी छुट्टै प्रतिवेदन पेश गरिने प्रहरीले जनाएको छ ।























