काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले पछिल्ला चार वर्षमा नीतिगत, संरचनागत र कार्यसम्पादनतर्फ उल्लेख्य सुधार हासिल गरेको जनाएको छ।
महानिरीक्षक राजु अर्यालको कार्यकालमा सीमा सुरक्षा मजबुत बनाउँदै हजारौँ सीमा स्तम्भ मर्मत, सिसिटिभी जडान र नयाँ बोर्डर आउटपोष्ट स्थापना गरिएको छ।
विपद् व्यवस्थापनतर्फ गोताखोर तयारी, नयाँ बेस स्थापना र उद्धार प्रणाली सुदृढ बनाइएको छ भने संगठनभित्र पारदर्शिता, पदोन्नति र तालिम व्यवस्थामा सुधार गरिएको छ।
चार वर्षे कार्यकाल पूरा गर्दै महानिरीक्षक अर्याल अवकाशमा जाँदै छन् भने नयाँ नेतृत्वका रूपमा नारायणदत्त पौडेल आउने तयारी छ। नेपाल एपिएफ अस्पताललाई ११० शय्याबाट ३०० शय्यामा विस्तारका लागि स्वीकृति लिनुका साथै ‘एपिएफ नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स’को स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
अस्पतालमा डायलाइसिस, प्रसूति सेवा र अनकोलोजी (क्यान्सर) युनिट जस्ता सेवाहरू थप गरिएको छ । अमर सशस्त्र प्रहरीका ५६ स्थानमा शिलालेख स्थापना, कर्मचारीका अपाङ्ग सन्ततिहरूलाई मासिक आर्थिक राहतको व्यवस्था र तल्लो दर्जाका कर्मचारीलाई लक्षित गरी आवास कर्जा र सामाजिक व्यवहार कर्जाहरूको सुरुआत गरिएको छ ।
‘डिजिटल’ बोर्डर अवधारणालाई कार्यान्वयनमा लैजाने योजना पेस गरिएको छ । भारत र चीनस्थित नेपाली राजदूतावासमा सशस्त्र प्रहरीको प्रतिनिधि राख्ने र सीमा व्यवस्थापन प्राधिकरण गठन गर्नेजस्ता महत्त्वपूर्ण योजना पाइप लाइनमा रहेको सशस्त्र प्रहरीले जनाएको छ । देशभरका छ हजार ७४३ वडामा एक लाख ६८ हजार ९५६ जना विपद् सूचकहरूको रोस्टर तयार गरी स्थानीयस्तरमै उद्धार संयन्त्र बलियो बनाउने कार्य भइरहेको छ ।























