images
images
  • पैसाका लागि आफ्नै साथीको हत्याः मदिरा खुवाएर रातभरी घुमाए, बिहानै गोली हानेर मारे

    चितवन –चितवनको भरतपुर महानगरपालिका १७ मा मृत भेटिएका नेपाली सेनाका हुद्धा भरत गुरुङको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न उनकै साथी भरतपुर– २१ का गंगाधर ढकाललाई पक्राउ गरेको छ ।

    उनलाई सोही दिन दिउँसो ४ बजे भरतपुर– २० चनौलीबाट पक्राउ गरेको जिल्ला प्रहरीले कार्यालय चितवनले जानकारी दिएको छ । मृतक गुरुङ र पक्राउ परेका ढकाल नेपाली सेनाको दि फेमस महेन्द्र दलमा कार्यरत दिए । ढकाल सैनिक जवान हुन् ।

    पैसाको लागि ढकालले गुरुङ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारीले बताए । पक्राउ परेका ढकाल २ गते मृतक गुरुङको ग्लोबल बकको खाली चेक बोकेर चितवन आएको र आँफैले मृतक गुरुङको हस्ताक्षर गरेर ९ लाख रुपैयाँ झिकेको एसपी अधिकारीले बताए । उनले एक लाख रुपैयाँ आँफैले राखेको र ६ लाख श्रीमतीलाई तथा २ लाख बुवालाई दिएका थिए । प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल, एसएमजी बन्दुक तथा गुरुङको चेकबाट निकालेको ९ लाख रुपैयाँ बरामत गरेको छ ।

    यस्तो छ घटनाको नालीबेली

    मृतक गुरुङ गत २०७७ साल माघ महिनामा लेबनानमा शान्ति सेनामा गएर फर्किएका थिए । शान्ति सेनाबाट आएको पैसाले उनले भरतपुरको शारदानगरमा १० धुर जग्गा किन्नका लागि बैना गरेका थिए । बैनाका लागि उनले २ लाख ५० हजार रुपैयाँ समेत जग्गाधनीलाई दिइसकेका थिए ।

    साउन २ गते ढकाल मृतक गुरुङको खाली चेक बोकेर चितवन आए । चितवन आएपछि ढकालले चेकमा आँफैले मृतक गुरुङको हस्ताक्षर गरेर ३ गते नवलपुरको गैंडाकोटस्थित ग्लोबल आइएमई बैंकबाट ९ लाख रुपैयाँ झिके । ९ लाख मध्ये १ लाख रुपैयाँ उनले आँफैले राखे । ६ लाख आफ्नी श्रीमतिलाई आफ्नो जागिरको एकमुष्ट रकम भन्दै दिए भने २ लाख बुवालाई दिए ।

    ५ गते मृतक गुरुङले जग्गा पास गर्नका लागि चितवन आउनुपर्ने भएकोले काठमाडौं लिन आउनु भनेर ढकाललाई फोन गरेर बोलाए । ढकाल गुरुङलाई लिन काठमाडौं गए । उनी मृतक गुरुङलाई काठमाडौंबाट चितवन फर्किन्छन् । ६ गते उनीहरु खाजा खान भनेर जान्छन् । सोही दिन राति ढकालले मृतक गुरुङलाई अत्याधिक मादक पदार्थ खुवाउछन् ।

    अत्याधिक मादक पदार्थ खुवाएर उनले रातभरी मृतक गुरुङलाई भरतपुरका बिभिन्न स्थानमा घुमाउछन् । भोलिपल्ट ७ गते बिहान उनीहरु घटनास्थल भरतपुर १७ स्थित सिमल डाँडा पुग्छन् । ढकालले आफुलाई प्रहरीबाट बचाउन गुरुङको हत्या गरेपछि प्रहरीले पत्ता आफुलाई पक्राउ नगरोस् भनेर कतै कुनै होटलमा नराखी रातभरी मोटरसाइकलमा गुमाएको अनुसन्धानले देखाउँछ ।

    ७ गते बिहान ५ बजे घटनास्थलमा पुगेपछि पिसाब फेर्ने बाहानामा ढकाल मोटरसाइकलबाट उत्रिन्छन् । मृतक गुरुङ भने फेरि मोटरसाइकलमा नै बस्छन् । त्यसपछि ढकालले आफ्नो झोलामा रहेको एसएमजी बन्दुक निकालेर गुरुङलाई सुट गर्छन् । मृतक गुरुङ भुँईमा लडेपछि ढकालले उनलाई घटनास्थलबाट करिब ७ मिटर पर पानीमा लगेर फाल्छन् ।

    त्यस पछि उनले आफ्नो जुत्ता, कपडा र मोटरसाइकलमा लागेको रगत पानीले धुन्छन् र दिदीको घरमा गएर फेरि साबुन पानीले धुन्छन् । त्यसपछि उनले आफुसँग रहेको हतियार भरतपुर ८ स्थित बिसहजारी ताल जाने सडक किनारको झाडीमा लगेर फाल्छन् र उनी सौराहाचोकस्थित फुपुको घरमा गएर मोटरसाइकल, झुत्ता र कपडा फेरि धुन्छन् र मृतक गुरुङका लागि किनेको जुत्ता आफुले लगाउछन् ।

    सोही दिन मोटरसाइकल कतै प्रहरीले देख्यो कि भन्ने डरले उनले आफ्नो मोटरसाइकल भाई नाता पर्नेको घरमा छोड्छन् र भाई नाता पर्नेको मोटरसाइकल लिएर निस्किन्छन् । सोही दिन दिउँसो उनी पक्राउ पर्छन् ।

    bike baramat८ घण्टामा नै दोषी पक्राउ

    प्रहरीले घटना घटेको करिब ८ घण्टामा नै दोषीलाई पक्राउ गरेको छ । गुरुङको हत्यामा संलग्न भरतपुर– २१ का गंगाधर ढकाल ८ घण्टा भित्रै पक्राउ परेका हुन् । ७ गते बिहान ८:३० बजे प्रहरीलाई घटनास्थलबाट स्थानीयले फोन गरेर पुरुष व्यक्तिको शव भेटिएको बारे जानकारी गराएका थिए । लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले घटनास्थल सिल गरेर अनुसन्धान अघि बढाएको थियो ।

    अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न ढकाललाई दिउँसो ४ बजे पक्राउ गर्‍यो । प्रहरीको टिमको अथक प्रयासले छोटो समयमा नै पक्राउ गर्न सफल भएको चितवनका प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारीको भनाइ छ । पक्राउ परेका ढकालसँग सोधपुछका क्रममा उनले आफुलाई निर्दोष प्रमाणित गर्न खोजे पनि थप सोधपुछका क्रममा उनले आफ्नो संलग्नता स्वीकार गरेको एसपी अधिकारीले बताए । उनीसँगको सोधपुछ पछि प्रहरीले सोही घटनामा प्रयोग भएको मोटरसाइकल, एसएमजी बन्दुक तथा गुरुङको चेकबाट निकालेको ९ लाख रुपैयाँ बरामत गरेको थियो ।

    कानुन मिच्दैनौँ तर हामीलाई न्याय चाहियो: भातिजी

    मृतक गुरुङकी भातिजी माधुरी गुरुङले सोझोपनको फाईदा उठाउदै ढकालले गुरुङको हत्या गरेको बताएकी छिन् । उनले दोषी माथि कडा भन्दा कडा सजायको माग गरेकी छिन् ।

    ‘आफ्नो मान्छे गुमाएका छौं, हामीलाई न्याय चाहिन्छ, उनले भनिन्, हामीलाई सुट गर्न त मन छ नि तर हामी कानुन अनुसार जान्छौं । हत्यारालाई कडा भन्दा कडा सजाय हुनुपर्छ ।’ मृतक गुरुङका १२ वर्षीय छोरा छन् । श्रीमतिसँग भने सम्बन्धबिच्छेद भइसकेको छ । जग्गा किनेर घर बनाएपछि उनी अर्को बिहे गर्ने योजनामा रहेको भातिजी गुरुङले बताईन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images