काठमाडौं- रुविना क्षेत्रीको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी महिला च्यालेन्ज ट्रफीमा पहिलो जित हात पारेको छ ।
आइतबार रुवान्डाको गाहांगा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो ।
पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको नेपालले यो जितसँगै प्रतियोगितामा पुनरागमन गरेको छ ।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ११२ रन बनायो ।
पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् भने सम्झना खड्का (१६), विन्दु रावल (१५) र कप्तान इन्दु वर्मा (१०) ले योगदान दिए ।
जवाफमा इटाली २० ओभरमा सबै विकेट गुमाएर ६२ रनमै सीमित भयो ।
रुविना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन् भने कविता कुँवरले २ विकेट हात पारिन् ।
अन्य खेलाडीले पनि समान एक–एक विकेट लिए ।
इटालीका लागि थिलिनी फर्नान्डोले २२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।


विश्व खबर 



















