काठमाडौं— आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत नेपालले अमेरिकासँग हार व्यहोरेको छ। रुवाण्डामा शनिबार सम्पन्न खेलमा नेपाल ४४ रनले पराजित भएको हो।
अमेरिकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रनमै समेटियो। नेपाली टोलीका लागि बिन्दु रावलले सर्वाधिक २७ रन बनाइन्। उनले ४५ बल खेल्दै एक चौका प्रहार गरिन्। कविता जोशीले ११ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
नेपाललाई सस्तो स्कोरमा सीमित गर्न अमेरिकाका माहि माधवन र तरनुम चोपरा चम्किए। दुवैले समान २–२ विकेट लिए भने रितु सिंह, लेखा शेट्टी र सैनभीले समान १–१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२३ रन बनाएको थियो।
प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल आइतबार इटलीसँग खेल्ने तालिका रहेको छ।


विश्व खबर 



















