images
images
  • सरकारले मल कारखाना खोल्ने

    काठमाडौं– सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता जनाएको छ ।

    प्रतिनिधिसभामा रहेका ६ वटै राजनीतिक दलका घोषणापत्रका आधारमा तयार गरिएको राष्ट्रिय प्रतिबद्धतापत्र मस्यौदा सार्वजनिक गर्दै सरकारले कृषि क्षेत्रमा आत्मनिर्भरता बढाउने लक्ष्य लिएको छ । यसका लागि आयात प्रतिस्थापन, भारतसँगको व्यापार सन्तुलन तथा देशभित्र उत्पादन सम्भव भएका कृषि उपजको उत्पादन वृद्धि गर्ने नीति लिइने उल्लेख छ ।

    कृषि उद्यम र उद्योगलाई प्राथमिकतामा राख्दै कर छुट, भन्सार सहुलियत र लगानी प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनेछ । बाँझो जग्गाको उपयोग बढाउन भूउपयोग योजना पुनरावलोकन, चक्लाबन्दी र जग्गा एकीकरण कार्यक्रम अघि बढाइने पनि जनाइएको छ ।

    किसानलाई लक्षित गर्दै किसान क्रेडिट कार्ड, बीमा, सहुलियत ऋण, किसान परिचयपत्र, अनुदान र योगदानमा आधारित किसान पेन्सन लागू गरिनेछ । रैथाने तथा उन्नत बिउको प्रवर्द्धन, सामुदायिक बिउ बैंक स्थापना र कृषि उत्पादनको बजार सुनिश्चितता पनि गरिनेछ ।

    रासायनिक मलको मागअनुसार खरिद योजना सुधार गर्दै वितरण प्रणाली व्यवस्थित गरिनेछ । साथै पहाडी र हिमाली क्षेत्रमा नगदेबाली, जडीबुटी र फलफूल प्रशोधन उद्योगलाई विशेष अनुदान र कर सहुलियत दिइनेछ ।

    हुलाकी र मध्यपहाडी लोकमार्ग आसपास कृषि–खाद्य प्रशोधन करिडोर विकास गर्ने, वन क्षेत्रमा फलफूल र फूलबिरुवा रोप्ने अभियान सञ्चालन गर्ने तथा सिँचाइ विस्तारमार्फत कृषि उत्पादन वृद्धि गर्ने योजना पनि समावेश गरिएको छ ।

    माटोको उर्वराशक्ति संरक्षणका लागि जैविक विधिको प्रयोगलाई प्राथमिकता दिइने सरकारको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images