काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको संस्थापनइतर पक्षले पुनः छलफल सुरु गरेको छ ।
चुनावपछि पुनः सक्रिय बनेको यो समूहको बैठक आज काठमाडौंको कान्तिपथस्थित होटल यलो पगोडामा बसेको हो ।
महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिई महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् ।
बैठकमा चुनावी पराजयपछि नेतृत्व पुनर्संरचना, उपसभामुखमा उम्मेदवारीको विषय तथा पार्टी पदाधिकारीको जिम्मेवारीबारे पनि चर्चा भएको बताइएको छ ।
अध्यक्ष लिङ्देन नेतृत्वको समितिको कार्यकाल गत मंसिरमै सकिएको भए पनि महाधिवेशनको मिति भने अझै तय हुन सकेको छैन ।
निर्वाचनमा पराजयपछि केन्द्रीय पदाधिकारीले राजीनामा दिनुपर्ने र तदर्थ समिति गठन गर्नुपर्ने धारणा प्रकाशचन्द्र लोहनीले राख्दै आएका छन् ।






















