काठमाडौं– पाकिस्तानको राजधानी इस्लामावादमा भएको अमेरिका–इरानबीचको २१ घण्टे लामो वार्ता कुनै ठोस सहमतिबिना टुंगिएको छ।
वार्तामा दुवै पक्ष पश्चिम एसियामा जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित सहभागी भए पनि मुख्य विवाद समाधान हुन सकेन। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता निष्कर्षविहीन हुनु इरानका लागि “नराम्रो संकेत” भएको बताएका छन्।
अमेरिकाले इरानले आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता माग गरे पनि तेहरानले उक्त सर्त अस्वीकार गरेको बताइएको छ। इरानले भने अमेरिकाले अवास्तविक माग अघि सारेको आरोप लगाएको छ।
वार्तामा इरानले अमेरिकी–इजरायली आक्रमणको क्षतिपूर्ति, क्षेत्रीय तनाव अन्त्य र होर्मुज जलडमरूमा आफ्नो अधिकार सुनिश्चित गर्नुपर्ने माग राखेको थियो। अमेरिकाले भने इरानको आणविक कार्यक्रम र युरेनियम संवर्द्धन पूर्ण रूपमा रोक्नुपर्ने अडान लिएको छ।
मुख्य विषयमै सहमति नजुट्दा लामो छलफलपछि पनि वार्ता बिना निष्कर्ष टुंगिएको हो।


विश्व खबर 




















