काठमाडौं– इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा लामो वार्ता बिना कुनै ठोस सहमतिमा टुंगिएको छ ।
यसले दुई सातादेखिको युद्धविराम सकिएसँगै पुनः द्वन्द्व चर्किने सम्भावना बढाएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताबाट नतिजा ननिस्किएको बताएका छन् ।
अमेरिकाले आफ्नो अन्तिम प्रस्ताव राखिसकेको र अब निर्णय इरानको हातमा रहेको उनको भनाइ छ ।
मुख्य विवाद इरानको युरेनियम संवर्धन कार्यक्रममै केन्द्रित रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता भए वा नभए पनि आफूहरू दबाबमा नरहेको संकेत दिएका छन् ।
उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सैन्य विकल्प अझै खुला रहेको चेतावनी दिएका छन् ।
यसबीच होर्मुज जलमार्ग क्षेत्रमा तनाव बढ्दै गएको छ ।
इरानले आफ्ना सर्त पूरा नभएसम्म मार्ग पूर्ण रूपमा नखोल्ने अडान दोहोर्याएको छ ।
अबको अवस्था अनिश्चित छ ।
कूटनीति असफल भएमा द्वन्द्व पुनः चर्किने र त्यसको असर विश्व अर्थतन्त्र तथा तेल आपूर्तिमा पर्ने चिन्ता बढेको छ ।


विश्व खबर 




















