images
images
  • अमेरिकाले अत्यधिक र अव्यावहारिक माग राखेको इरानको दाबी

    काठमाडौं- इस्लामावाद वार्ता विना निष्कर्ष टुंगिएको छ।

    होटल सेरेनामा पाकिस्तानी मध्यस्थतामा भएको अमेरिका र इरानबीचको वार्ता कुनै सम्झौता नभई टुंगिएको हो।

    इरानले वार्ता विफल हुनुमा अमेरिका दोषी भएको बताएको छ।

    ‘अमेरिकाको अत्यधिक र अव्यावहारिक मागका कारण वार्ता अगाडि बढ्न सकेन,’ इरानको सरकारी टेलिभिजनलाई उद्धृत गरेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।

    छलफलको मुख्य विषय स्ट्रेट अफ हर्मुज र इरानको युरेनियम समृद्धिबारे दुई देशबीच मतभेद भएको थियो। वार्तामा चर्काचर्की समेत भएको थियो।

    ‘इरानी टोलीले विभिन्न सिर्जनात्मक प्रस्ताव राख्न पनि अमेरिकी पक्षको हस्तक्षेपकारी र असंगत मागका कारण वार्ता अघि बढ्न सकेन,’ इरानी टेलिभिजन प्रसारणमा भनिएको छ।

    इरान सरकारनिकट मानिने विश्लेषक अली गोल्हाकीले पनि सामाजिक सञ्जालमार्फत अमेरिकी अडानकै कारण वार्ता विफल भएको दाबी गरेका छन्।

    उनले इरानलाई पूर्ण रूपमा युरेनियम समृद्धि रोक्नुपर्ने, करिब ९०० पाउन्ड सञ्चित युरेनियम देशबाहिर लैजानुपर्ने र हर्मुज सुरक्षामा अमेरिकी सर्तअनुसार नै हुनुपर्ने माग अमेरिकी प्रतिनिधिमण्डलले राखेको बताएका छन्।

    गोल्हाकीले अमेरिकाले लेबननमा इसराइलको आक्रमण रोक्ने कुनै प्रतिबद्धता पनि अमेरिकाले नदिएको आरोप लगाएको छ। ‍

    ‘हेर्दा त अमेरिकाले वार्ता गर्नै आएको जस्तो देखिएन,’ उनले टिप्पणी गरेका छन्।

    वार्ता बिहान ५ बजेसम्म चलेको भए पनि कुनै सम्झौता नै नगरी टुंगिएको छ। अमेरिकी अधिकारीहरू इस्लामावादबाट निस्किसकेका छन्।

    फर्कनुअघि उपराष्ट्रपति जेडी भान्सले इरान अमेरिकी सर्त मान्न तयार नभएको बताएका छन्।

    ‘हामीले आफ्ना ‘रेड लाइन’हरू स्पष्ट रूपमा राख्यौं, केमा लचिलो हुन सक्छौं र केमा सक्दैनौं भन्ने पनि भन्यौं, तर उनीहरूले ती सर्त स्वीकार गरेनन्,’ भान्सले भने।

    यद्यपि वार्तालाई पूर्ण रूपमा असफल भएको भएको घोषणा भने उनले गरेनन्।

    ‘हामी यहाँबाट एकदमै स्पष्ट प्रस्ताव छाडेर जाँदै छं। यो हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो, अब इरानले स्वीकार गर्छ कि गर्दैन हेर्नेछौं,’ उनले भने।

    उनले वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कैयौंपटक फोनमा कुराकानी गरेका थिए।

    वार्तामा अमेरिकी विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर सहभागी थिए।

    इरानी पक्षबाट सभामुख मोहम्मद बाघेर गालीबाफ र विदेशमन्त्री अब्बास अरागची सहभागी भएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images