अमेरिका- पत्रकारिता, सामाजिक अभियान र राजनीतिमा सक्रिय नेपाली मूलका सतिश चापागाई अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स (राज्यसभा सदस्य) का लागि चुनावी अभियानमा होमिएका छन् ।
मेरिल्याण्ड डेमोक्रेटिक पार्टीका केन्द्रित सदस्य समेत रहेका चापागाईले मेरिल्याण्डको डिष्ट्रिक ७ ए बाट हाउस अफ डेलिगेट्स बन्नका लागि चुनावी अभियान अघि बढाएका हुन् ।
गत महिनानैं उम्मेद्वारी दर्ता गराइ अहिले चुनावी प्रचार प्रसारमा चापागाई सक्रिय भएका छन् ।
मेरिल्याण्डमा नेपालीसहित आप्रवासीहरुको बसोबास उल्लेख्य मात्रामा रहेको छ । लामो समयदेखि मेरिल्याण्डको बाल्टिमोरमा बस्दै आएका चापागाई नेपाली सम्बद्ध स्थानीय संघसंस्था र अभियानमा पनि निरन्तर सक्रिय रहेका छन् ।
वाल्टिमोर एशोसिएशन अफ नेप्लिज इन अमेरिकाका पूर्वउपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ, अमेरिकाका सल्लाहकार तथा पूर्वमिडिया संयोजक चापागाई नेपाली समुदायका साथै वाल्टिमोरको आप्रवासी समुदायमा पनि परिचित छन् । पार्टी केन्द्रीय सदस्यको हिसाबले र सामाजिक अभियन्ताको रुपमा चापागाई निरन्तर सक्रिय रहेका छन् ।
चापागाईले आफ्नो उम्मेद्वारीलाई सबै नेपालीले आफ्नो समुदायको उम्मेद्वारीको रूपमा लिन आग्रह गरे । उनले आफ्नो उम्मेद्वारी सबै नेपालीका सन्ततीहरुका लागि प्रवेशद्धारको रुपमा रहेको बताए ।
चापागाईको डिष्ट्रिकमा उनको डेमोक्रेटिक पार्टीको प्राईमरीमा २ सिटका लागि ४ जनाको उम्मेद्वारी परेको छ । उनले डेमोक्रेटिक पार्टीभित्र प्राइमरी लड्न लागेका हुन् । चापागाईसँगै लिडिया ब्राउन, टम बेकर र क्लिभलेण्ड रेनोल्ड जुनियर प्रतिस्पर्धामा छन् ।
चापागाई अहिले सोही डिष्ट्रिकबाट उक्त पार्टीको केन्द्रीय सदस्य छन् । चार वर्ष अगाडि चापागाईले ४ हजार १ सय मत ल्याएर पार्टीको केन्द्रीय सदस्य पदमा विजय हासिल गरेका थिए । आगामी नोभेम्बरमा हुने निर्वाचनका लागि मेरिल्याण्डमा राज्यमा यहि जुन २३ मा प्राइमरी निर्वाचन हुँदैछ ।
‘पार्टीकै साथीहरुको सल्लाह, सुझाव र सहयोगबाट मैले उम्मेद्वारी दर्ता गराएको छु’चापागाईले भने । प्राइमरीका लागि आगामी जुन २३ गते निर्वाचन हुँदैछ । प्राइमरीमा निर्वाचन जिते भने चापागाईले रिपब्लिकन उमेद्वारसंग नोभेम्बरमा पुनःलड्नुपर्ने छ ।
पछिल्लो मतगणना अनुसार ८३ हजार जनसंख्या रहेको यस डिष्ट्रिकमा ४ प्रतिशत एशियन मूलका मानिस बसोबास गर्दछ । प्रतिशतका आधारमा यो क्षेत्रमा ४४.९ प्रतिशत रिपब्लिकन,३४.७ प्रतिशत डेमोक्र्याटिक र १८.९ इन्डिपेन्डेन्ट मतदाता रहेका छन् ।
२००८देखि बाल्टिमोरमा बस्दै आएका चापागाई नेपालमा रहँदा १२ वर्षे आफ्नो पेशागत पत्रकारिता जीवनमा विभिन्न सञ्चार माध्यमहरुको काम गरेका थिए । पत्रकारिताकै दौरानमा प्रशिक्षकदेखि नेपाल प्रेस युनियनको पाल्पा जिल्ला सभापति र केन्द्रीय उपाध्यक्ष समेत भएका थिए ।
नेपाल अमेरिका पत्रकार संघ नेजाका हाल विधान समितिका संयोजक समेत रहेका चापागाई साहित्य क्षेत्रमा पनि संलग्न देखिन्छन्, उनले रचना गरेका गीतहरु निकै लोकप्रिय रहेका छन् ।
श्रीमती र दुई छोरीका साथ बाल्टिमोरमा बस्दै आएका उनी व्यवसायी समेत हुन् ।


विश्व खबर 




















