images
images
  • अमेरिकाको नियतमा इरानको शंका : अवाञ्छित माग नछोडे वार्ता सफल नहुने चेतावनी

    काठमाडौं- अमेरिका र इरानबिचको ऐतिहासिक शान्ति वार्ता निष्कर्षविहीन बनेसँगै इरानले अमेरिकाको गम्भीरतामाथि प्रश्न उठाएको छ।

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाइले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै वार्ताको सफलता पूर्ण रूपमा अमेरिकी पक्षको सद्भाव र गम्भीरतामा निर्भर रहने स्पष्ट पारेका छन्।

    प्रवक्ता बाकाइले वार्तालाई ‘अत्यन्तै सघन’ भनी टिप्पणी गरे पनि वासिङ्टनले अघि सारेका मागहरूलाई ‘अत्यधिक र गैरकानुनी’ को संज्ञा दिएका छन्।

    उनले अमेरिकालाई आफ्ना जिद्दी र दबाबपूर्ण शैली छोडेर इरानको वैध अधिकार र राष्ट्रिय स्वार्थलाई स्वीकार गर्न आग्रह गरेका छन्।

    इरानले विशेषगरी आफ्नो सार्वभौमिकता र क्षेत्रीय स्वार्थमा आँच आउने कुनै पनि सर्त नमान्ने संकेत दिएको छ।

    जारी वार्तामा मुख्यगरी तीनवटा एजेन्डामा छलफल भइरहेको बाकाइले जानकारी दिएका छन्।

    जसमा विश्व ऊर्जा आपूर्तिको लाइफलाइन मानिने स्ट्रेट अफ होर्मुजको भविष्य, इरानको आणविक कार्यक्रमको स्वरूप र इरानमा भइरहेको युद्धको पूर्ण अन्त्य रहेका छन्।

    यी विषयमा दुवै देशका अडान निकै टाढा रहेकाले सहमति जुटाउन कठिन भइरहेको बुझिएको छ।

    इरानले अमेरिकामाथि ‘अवाञ्छित माग’ राखेको आरोप लगाइरहँदा अमेरिकाले भने आफ्ना सर्तहरूमा अडिग रहने संकेत दिएको छ, जसले गर्दा हप्तौँ लामो युद्ध अन्त्य गर्ने यो प्रयास अझै पनि अन्योलपूर्ण मोडमा छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images