images
images
  • १७ देशमा छैनन् नेपाली राजदूत, नेपालको सक्रियता कमजोर हुने जोखिम

    काठमाडौं- नेपालका तीन वटा स्थायी नियोग र ३१ वटा दूतावास गरी ३४ वटा नियोग तथा दूतावास छन् ।

    यसमध्ये १७ देशमा नेपालका राजदूत छैनन् ।

    ३० असोज २०८२ मा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाएको थियो । उनीहरू अदालत गए ।

    सर्वोच्च अदालतले सरकारको निर्णयमा रोक लगाएपछि सरकारले परराष्ट्र मन्त्रालयमा बसेर काम गर्ने गरी फिर्ता गर्‍यो ।

    त्यसमध्ये १० जनाले राजीनामा दिइसकेका छन् भने एक जनाले राजीनामा दिएका छैनन् ।

    वर्तमान सरकारले यही चैत २४ गते अन्य ६ देशमा रहेका राजदूतलाई पनि फिर्ता बोलाएको छ ।

    फिर्ता बोलाइएका राजदूतहरुलाई एक महिनाभित्र फर्किन पत्राचार भइसकेको छ । यो सँगै १७ देश नेपालको राजदूतविहीन भएका हुन् ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री भन्छन्, ‘पहिलो पटक परराष्ट्र मन्त्रालयमा काम गर्ने गरी फिर्ता बोलाइएका ११ जनामध्ये १० जनाले राजीनामा दिनुभयो । पछिल्लो पटक ६ जना राजदूतलाई फिर्ता बोलाइएको हो ।’

    परिणाममा ठूला देशमै नेपालका प्रतिनिधि छैनन् । भारत, चीन, अमेरिका, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, जापान, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र साउथ अफ्रिका नेपाली राजदूतविहीन भएका हुन् ।

    कुटनीतिक क्षेत्रका जानकारहरू भारत, चीन, अमेरिका जस्ता राष्ट्रमा राजदूत नहुनुलाई अत्यन्त संवेदनशील मान्दछन् । नेपाल–भारत सम्बन्ध दैनिक कूटनीतिमा आधारित छ ।

    व्यापार, पारवहन, ऊर्जा, सीमा व्यवस्थापन जस्ता विषयहरू निरन्तर आइरहन्छन् जसमा निरन्तर संवादको जरुरत हुन्छ । चीनसँग नेपालको पूर्वाधार विकास, लगानी र क्षेत्रीय कनेक्टिभिटीका परियोजनाहरू अघि बढिरहेका छन् ।

    स्थायी राजदूत नहुँदा उच्चस्तरीय संवाद प्रभावित हुन हुन्छ र निर्णय प्रक्रियामा ढिलाइ हुँदा त्यसको असर दुवै देशमा पर्दछ ।

    अमेरिका, बेलायत, जर्मनीजस्ता देशहरू नेपालका प्रमुख विकास साझेदार हुन् । शिक्षा, स्वास्थ्य, सुशासन, जलवायु परिवर्तनजस्ता क्षेत्रमा यि देशहरूले नेपालमा काम गरिरहेका छन् ।

    ती देशमा नेपालको राजदूत नहुँदा सहकार्यमा सञ्चालित कार्यक्रमहरूमा नेपालको सक्रियता कमजोर हुने जोखिम रहन्छ ।

    परराष्ट्र मन्त्रालयका अधिकारीहरू भने रिक्त र राजदूत फिर्ता बोलाएका नियोगहरूमा छिट्टै राजदूत नियुक्ति गर्ने तयारी रहेको बताउँछन् ।

    राजदूतमा सिफारिस व्यक्तिको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुर्छ ।

    गत शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले संसदीय सुनुवाइ गठन गरिसकेको छ । अब सरकारले नाम सिफारिस गरेपछि संसदीय सुनुवाइका लागि बाटो खुल्छ ।

    २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले झण्डै दुई तिहाइ सिट जितेको छ ।

    रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भइसकेको छ । प्रतिनिधिसभाको सभामुखमा रास्वपाका डिपी अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् ।

    शुक्रबार नै प्रतिनिधिसभाले उपसभामुखमा श्रम संस्कृति पार्टीका रुबी ठाकुर चयन गरेको छ ।

    संसदीय सुनुवाइ समिति गठन भएर अगाडि बढिसकेकाले अब राजदूत नियुक्ति प्रक्रिया अघि बढाउने परराष्ट्र मन्त्रालयको तयारी छ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images