images
images
  • प्रधानमन्त्री बालेन शाहलाई मोदीले गरे निमन्त्रणा, उपयुक्त समयमा भ्रमण गर्ने जवाफ

    काठमाडौं- प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् ।

    प्रधानमन्त्री शाहले पनि समकक्षी मोदीको निमन्त्रणा स्वीकार गर्दै उपयुक्त समयमा भ्रमण गर्ने जवाफ पठाएका छन् ।

    निमन्त्रणासँगै सरकारले प्रधानमन्त्री शाहको भ्रमणको तयारी थालेको छ ।

    शाह प्रधानमन्त्री भएपछि मोदीले विदेश मन्त्रालयमार्फत पठाएको लिखित बधाई सन्देशमा उपयुक्त समयमा भारतमा स्वागतका लागि प्रतीक्षारत रहेको उल्लेख गरेको परराष्ट्रमन्त्री शिशिर खनालले पुष्टि गरेका छन् ।

    साथै, शुक्रबार मौरिससमा भएको भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँगको भेटमा सुरुमा काठमाडौंमा दुई देशका परराष्ट्रमन्त्रीस्तरीय बैठक राख्ने र त्यसपछि उच्चस्तरीय भ्रमण तय गर्ने सहमति बनेको मन्त्री खनालले बताए ।

    हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा मौरिसस रहेका खनालले भारतीय प्रधानमन्त्रीको निमन्त्रणा आएको र प्रधानमन्त्री बालेनले स्वीकार गरेको पनि पुष्टि गरे ।

    मन्त्री खनालका अनुसार परराष्ट्र मन्त्रालयले भारतलाई जवाफी चिट्ठीमा उपयुक्त समयमा कूटनीतिक च्यानलमार्फत भ्रमण तय गर्ने भनेको छ ।

    मौरिससमै रहेका भारतीय विदेशमन्त्री जयशंकरसँगको शुक्रबार परराष्ट्रमन्त्री खनालसँग उच्चस्तरीय भेटवार्ताको चर्चा भएको थियो ।

    ‘भारतीय विदेशमन्त्रीज्यूसँगको भेटवार्तामा सुरुमा हाम्रा प्राथमिकताबारे गृहकार्य गर्छौँ, हामीबिचका द्विपक्षीय संयन्त्रहरूको पुनरावलोकन गर्छौँ र विशेषगरी सूचना प्रविधिमा आधारित विकास तथा विकासका विविध परियोजनाको प्राथमिकता तय गर्छौँ भनेको छु,’ खनालले भने, ‘त्यसपछि विदेशसचिवस्तरमा दुई पक्षबिच थप समीक्षा गर्ने र त्यस आधारमा भ्रमण तय गरौँ भन्ने छ । यसमा भारतीय विदेशमन्त्री सहमत हुनुभएको छ ।’

    खनालका अनुसार जवाफमा जयशंकरले भनेका थिए, ‘तपाईंहरू समय लिएर गृहकार्य गर्नुहोस् र हामीलाई जानकारी दिनुहोस् । म विदेशसचिवलाई नेपाल पठाउँछु । त्यसमा छलफल गरेर अघि बढौँ ।’

    परराष्ट्रमन्त्री खनाल स्वदेश फर्केपछि सरोकारवाला मन्त्रालयसँग छलफल गर्ने तयारी छ ।

    ‘परिवर्तित परिस्थितिमा नेपालको हितका आधारमा परियोजनाहरूको प्राथमिकता निर्धारण गर्छौँ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘उहाँहरूसँग संवाद गर्छौँ र त्यसपछि उच्चस्तरीय भ्रमणमा प्रवेश गर्छौँ । तयारीसहित उच्चस्तरीय भ्रमण सफल होस् भन्ने हाम्रो चाहना छ । र, नेपालको यो चाहनालाई भारतले स्वागत गरेको छ ।’ -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images