images
images
  • इजरायली आक्रमण : घाइते छन् इरानी सर्वोच्च नेता खामेनी, अनुहार र खुट्टामा गम्भीर चोट

    काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी अनुहार र खुट्टामा लागेको गम्भीर चोटबाट अझै तङ्ग्रिन संघर्ष गरिरहेका छन्।

    युद्धको सुरुवातमै आफ्ना बुबा आयतोल्लाह अली खामेनी मारिएको सोही हवाई आक्रमणमा मोजतबा पनि परेका थिए।

    रोयटर्सका अनुसार ५६ वर्षीय मोजतबाको अनुहार आक्रमणका कारण निकै कुरूप भएको छ भने एउटा वा दुवै खुट्टामा गम्भीर चोट लागेको छ।

    कतिपय अमेरिकी गुप्तचर निकायले त उनले एउटा खुट्टा नै गुमाएको हुन सक्ने अनुमान समेत गरेका छन्।

    गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले सुरु गरेको युद्धको पहिलो दिन तेहरानस्थित सर्वोच्च नेताको निवासमा बमबारी भएको थियो।

    सोही आक्रमणमा सन् १९८९ देखि शासन गरिरहेका बुबा अली खामेनी, मोजतबाकी श्रीमती, जेठान र सालीसहित परिवारका धेरै सदस्य मारिएका थिए।

    बुबाको मृत्युपछि फागुन मार्च ८ मा मोजतबालाई नयाँ सर्वोच्च नेता नियुक्त गरिए पनि अहिलेसम्म उनको कुनै फोटो, भिडियो वा अडियो सार्वजनिक भएको छैन।

    इरानी सरकारी सञ्चारमाध्यमले उनलाई जानबाज ९युद्धमा गम्भीर घाइते भएको व्यक्ति० भनेर सम्बोधन गर्नुबाहेक उनको अवस्थाबारे आधिकारिक जानकारी दिएका छैनन्।

    शारीरिक रूपमा निकै कमजोर भए पनि मोजतबा मानसिक रूपमा भने अझै तिक्ष्ण रहेको र अडियो कन्फरेन्सिङमार्फत राज्यका महत्त्वपूर्ण निर्णयहरूमा सहभागी भइरहेको बताइएको छ।

    अमेरिका र इरानबिच पाकिस्तानको इस्लामावादमा भइरहेको उच्चस्तरीय शान्ति वार्ता र युद्धका रणनीतिहरूबारे उनले आफ्ना वरिष्ठ अधिकारीहरूलाई निर्देशन दिने गरेका छन्।

    यद्यपि, अनुहार बिग्रिएको र हिँडडुल गर्न नसक्ने भएकाले उनलाई सार्वजनिक रूपमा नदेखाइएको स्रोतहरूको दाबी छ।

    सुरक्षा स्थिति र स्वास्थ्यमा सुधार आएमा आगामी एक/दुई महिनाभित्र उनको तस्बिर वा भिडियो सार्वजनिक गर्ने तयारी इरानी प्रशासनले गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images