images
images
  • प्रम बालेनले आफ्नै गाउँकी गौरीलाई बनाए मालदार मन्त्रालयको मन्त्री

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाहले मन्त्रिपरिषद् विस्तार गर्दै गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र रामजी यादवलाई श्रममन्त्री नियुक्त गरेका छन् ।

    नवनियुक्त उद्योगमन्त्री गौरी यादव प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–४ बाट करिब ३० हजार मत ल्याएर निर्वाचित भएकी हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेकी थिइन्।

    महोत्तरीमै जन्मिएकी गौरीको प्रारम्भिक शिक्षा भारतको सीतामढीमा भयो, किनकि गाउँमा माध्यमिक विद्यालयको सुविधा थिएन । त्यहीँ उनले आईएससीसम्म अध्ययन गरिन् ।

    परिवारले उनलाई डाक्टर बनाउन चाहन्थ्यो, तर घरेलु जिम्मेवारीका कारण उनले एमबिबिएस पूरा गर्न सकिनन् । यद्यपि, उनले आफ्नी बहिनीलाई एमबिबिएस पढाएर परिवारको सपना अगाडि बढाइन् भने कान्छी छोरी अहिले एमडी अध्ययनरत छिन् ।

    राजनीतिक पृष्ठभूमि परिवारमै रहेको थियो । उनका ससुरा प्रधानपञ्च थिए भने श्रीमान रूसमा अध्ययनपछि राजनीतिमा सक्रिय भई जनता समाजवादी पार्टी (जसपा)का नेता बने । सुरुमा उनी गृहिणी जीवनमै सीमित भए पनि पछि राजनीतिक गतिविधिमा सहभागी हुन थालिन् ।

    पछि ५४ वर्षको उमेरमा उनी रास्वपामा प्रवेश गरिन् । पार्टीसँग उनको जोडिने प्रमुख कारण बालेन शाहसँगको पारिवारिक सम्बन्ध र राजनीतिक विश्वास रहेको बताइन्छ ।

    उनको मुख्य राजनीतिक एजेन्डा दाइजो प्रथा अन्त्य, महिला सम्पत्ति अधिकारको प्रभावकारी कार्यान्वयन, विकास बजेटको दुरुपयोग नियन्त्रण, र ग्रामीण क्षेत्रमा शिक्षा तथा स्वास्थ्य सुधार हो ।

    उनका अनुसार मधेसमा गरिबका नाममा आउने अनुदान र सुविधाहरू प्रभावशाली वर्गले दुरुपयोग गरिरहेको छ । साथै, विकास निर्माणमा हुने भ्रष्टाचार र घुसप्रथाले साना ठेकेदारहरू मारमा परिरहेका छन् ।

    संसदमा पुगेर उनले ग्रामीण विद्यालय र स्वास्थ्य चौकी सुधारलाई प्राथमिकतामा राख्ने बताएकी छन् । बालेन नेतृत्वको सरकारले यी मुद्दा सम्बोधन गर्ने विश्वासका साथ आफू राजनीतिमा आएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images