images
images
  • इस्लामाबादमा यसरी भइरहेछ अमेरिका र इरानको वार्ता तयारी

    काठमाडौं- पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामाबादले शनिबार अमेरिका-इरानबीच वार्ताको आयोजना गर्दैछ ।

    यो वार्ता अमेरिका-इजरायलले इरानमाथि गरेको आक्रमणको करिब ६ हप्तापछि हुन लागेको हो ।

    इस्लामाबादमा यतिखेर अमेरिकी र इरानी प्रतिनिधिमण्डलको भ्रमणअघि सुरक्षा कडा पारिएको छ । फुटपाथहरूमा रंग लगाइँदैछ, सुरक्षा उपस्थिति बलियो बनाइँदैछ ।

    अलजजिराले विश्वले हेर्ने बैठकहरू आयोजना गर्ने तयारी भइरहँदा पाकिस्तानको राजधानीमा अपेक्षा र चिन्ताको वातावरण छाएको उल्लेख गरेको छ ।

    शान्ति वार्ता स्थल सेरेना होटल अगाडि अमेरिकी र इरानी प्रतिनिधिमण्डलको भ्रमणअघि एक मजदुर सडकमा रङ्ग लगाउँदै ।

    पाकिस्तानको मध्यस्थतामा वासिङटन र तेहरान दुवैले २ साताको युद्धविराम सहमति गरिसकेका छन् । पाकिस्तानको इस्लामाबादमा अमेरिकी र इरानी प्रतिनिधिमण्डलको भ्रमण अघि एक मजदुर फुटपाथ रंगाउँदै

    वार्ता कहिले र कहाँ हुनेछ ?
    पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले दुवै पक्षलाई वार्ताको औपचारिक आमन्त्रण गरिसकेको र सप्ताहन्तमा इस्लामाबादमा वार्ता सुरू हुने तय भएको बताएका छन् ।

    ह्वाइट हाउसले औपचारिक वार्ता स्थानीय समय अनुसार शनिबार बिहान सुरू हुने पुष्टि गरेको छ ।

    इस्लामाबादस्थित विदेश मन्त्रालय नजिकै रेडजोनमा रहेको सेरेना होटलमा वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो होटल बुधबार साँझदेखि आइतबारसम्म खाली गराइसकिएको छ ।

    इस्लामाबादमा हिजो र आज पनि सार्वजनिक बिदा दिइएको छ । शहरभरि सुरक्षा कडासँगै वार्तास्थल आसपास ‘रेड जोन’ सिल गरिएको छ । इस्लामाबादमा प्रवेश गर्ने प्रमुख बिन्दुहरू पनि बन्द गरिएको छ ।

    वार्तामा को-को सहभागी हुनेछन् ?
    ह्वाइट हाउसका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्, जसमा राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष दूत स्टीव विटकफ र ज्वाइँ जारेड कुशनर पनि सामेल हुनेछन् ।

    इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) का प्रतिनिधि सहभागी हुने/नहुने बारे अहिले प्रष्ट भइसकेको छैन ।

    पाकिस्तानका लागि इरानका राजदूत रेजा अमीरी मोघदमले एक्समा इरानी प्रतिनिधिमण्डल आज आइपुग्ने बताएका छन् ।

    वार्ता कस्तो देखिनेछ ?
    प्रधानमन्त्री शरीफले औपचारिक रूपमा वार्ताको आयोजना गर्ने र शुक्रबार वा शनिबार बिहान दुवै पक्षसँग छुट्टाछुट्टै प्रारम्भिक बैठकहरू गर्ने बताइएको छ ।

    द्वन्द्वकालभरि शटल कूटनीतिमा संलग्न रहेका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले शनिबार औपचारिक वार्तालाई सहजीकरण गर्ने छन् ।

    शनिबार, अमेरिकी र इरानी टोलीहरू छुट्टाछुट्टै कोठामा बस्ने र पाकिस्तानी अधिकारीहरूले उनीहरूबीच सन्देशहरू आदानप्रदान गर्ने छन् ।

    अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय मिडियाहरू ३ दर्जनभन्दा बढीले भिसाका लागि आवेदन दिएका छन् । जसमध्ये २० जना पत्रकारहरूलाई स्वीकृति दिइएको छ ।

    इरानको शान्तिको लागि १० बुँदे प्रस्तावमा हर्मुज जलडमरूको इरानी निरीक्षण, मध्य पूर्वबाट अमेरिकी लडाकू सेना फिर्ता र सहयोगी सशस्त्र समूहहरू विरुद्ध सैन्य कारबाही रोक्न लगायतका मागहरू छन् ।

    ट्रम्पले औपचारिक रूपमा यी सर्तहरू स्वीकारेका छैनन् । अमेरिकाले इरानको युरेनियम स्टक सुम्पनुपर्ने माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images