काठमाडौं- नेपाली संसद्ले इतिहासकै कान्छी उपसभामुख पाउने भएको छ ।
श्रम संस्कृति पार्टीकी २५ वर्षीया सांसद रुबीकुमारी ठाकुर उपसभामुख बन्ने निश्चित भएको छ ।
झन्डै दुईतिहाइ सदस्य रहेको रास्वपाले समर्थन गरेसँगै उनको उपसभामुख पक्का भएको हो । यसको औपचारिक घोषणा भने शुक्रबारको प्रतिनिधिसभा बैठकमा हुने निर्वाचनपछि हुनेछ ।
उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ । निर्णायक रास्वपासँग श्रम संस्कृति र राप्रपाले उपसभामुखमा सघाउन आग्रह गरेका थिए ।
राप्रपा आशावादी पनि देखिएको थियो । तर, अन्तिममा रास्वपाले श्रम संस्कृतिकी ठाकुरलाई समर्थन गर्ने निर्णय गर्यो ।
कांग्रेस, एमाले र नेकपाले उम्मेदवारी दिएका छैनन् । उनीहरूले पनि रुबीलाई नै समर्थन रहेको बताएका छन् ।
सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण रास्वपाबाहेकको दलबाट महिला उम्मेदवार हुनुपर्थ्यो ।
सभामुखमा रास्वपाका डिपी अर्याल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
धनुषाको सामान्य परिवारमा जन्मिएकी रुबी राजनीतिक पृष्ठभूमिकी होइनन् । उनका बुवा वैदेशिक रोजगारीमा छन् भने आमा गृहणी हुन् ।
उनको परिवारले दुई बिघा जग्गा अधियाँमा लिएर खेती गरेको छ । ३ वर्षे डिप्लोमा इन्जिनियरिङ अध्ययन पूरा गरेकी रुबी सांसद बन्नुअघि कन्सल्टेन्सीमा काम गर्थिन् ।
चुनावी अभियानका क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ धनुषा पुगेका वेला उनको भेट भएको थियो । त्यसपछि उनी चुनावी प्रचारप्रसारमा हिँडेकी थिइन् ।
श्रम संस्कृतिले उनलाई मधेशी महिलाबाट समानुपातिक सांसद बनाएको थियो ।
रुबीको उम्मेदवारीको प्रस्तावकमा श्रम संस्कृतिका आरेन राई र समर्थकमा रास्वपाका अशोक चौधरी र श्रम संस्कृतिकी अम्बिकादेवी संग्रौला छन् ।
उम्मेदवारी दर्तापछि उनले उपसभामुखको जिम्मेवारी आफ्ना लागि ठुलो भए पनि इमानदारीपूर्वक निर्वाह गर्ने बताइन् ।
‘यो ठुलो जिम्मेवारी हो, तर म सक्छु । मलाई प्राप्त हुन लागेको जिम्मेवारीलाई न्याय गर्नेछु,’ उनले भनिन्, ‘अध्यक्षज्यूले म भुइँको मान्छेलाई यहाँसम्म पुर्याइदिनुभयो, म उहाँलाई भगवान नै मान्छु । मधेशका दाजुभाइ, दिदीबहिनीहरू, सम्पूर्ण नागरिकलाई धन्यवाद दिन चाहन्छु ।’
रास्वपा महामन्त्री एवं सांसद कवीन्द्र बुर्लाकोटीले विभिन्न दलबाट समर्थनका लागि आग्रह गरिएको र पार्टीभित्र छलफल गरेर निर्णयमा पुगेको बताए ।
‘भावनालाई सम्बोधन गर्नका लागि यो सहकार्यले धेरै काम गर्छ भन्ने लाग्छ । पार्टीमा छलफलपश्चात यो निर्णय भएको हो । हामीलाई आग्रह गर्ने सबै दलसँग छलफल गरेका थियौँ । अन्तिम क्षणसम्म हेर्दै थियौँ । हामीले पार्टी र उम्मेदवार दुवै हेरेर उपसभामुख रुबीकुमारीलाई समर्थन गरेका हौँ ।’
मधेशी समुदायबाट उपसभामुख देशले नै पाउँदा राम्रो हुने उनले बताए ।
श्रम संस्कृति पार्टीका महासचिव एवं सांसद आरेन राईले उपसभामुखमा सहयोगका लागि आफूहरूले सबै पार्टीसँग कुरा गरेको बताए ।
रास्वपाको समर्थनमा पार्टीकी सांसद रुबीकुमारी उपसभामुख बन्ने पक्का भएपछि प्रतिपक्षमा रहेका अन्य दलहरूले पनि फोन गरेर समर्थन गर्ने प्रतिबद्धता जनाएको उनले बताए । -पत्रपत्रिकाबाट






















