images
images
  • राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

    सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने जानकारी दिए ।

    राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

    संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ ।

    त्यो धारामा ‘राष्ट्रपतिबाट सम्बोधन’ शीर्षकमा लेखिएको छ, ‘राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ ।’

    आजै रातिदेखि सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुने भएको छ ।

    नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

    सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो ।

    नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images