झापा– आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ ।
आयोजक चन्द्रगढी युवा क्लबले आज खेलतालिका सार्वजनिक गरेको हो ।
यही २०८३ वैशाख ५ देखि १४ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद रु ११ लाख र ट्रफी प्राप्त गर्नेछ ।
यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक भएको आयोजकले जनाएको छ ।
उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद रु १० हजार पाउनेछ ।
खेलतालिकाअनुसार उद्घाटन खेलमा पोखराको आरएस पोखरा फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।
त्यस्तै वैशाख ६ गते भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष रोहित सुब्बाले बताउनुभयो ।
वैशाख ७ गते नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
वैशाख ८ गते एपिएफ फुटबल क्लबले ओखलढुङ्गाको पदमा स्पोर्टस् क्लबविरुद्ध खेल्नेछ ।
वैशाख ९ गते पुलिस र आयोजकबीचको विजेतासँग भारतको रानी लक्ष्मीबाई स्पोर्टस् एकेडेमीले सामना गर्नेछ ।
वैशाख १० गते एपिएफ र पदमाबीचको विजेताविरुद्ध सङ्कटा फुटबल क्लबले खेल्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल वैशाख १२ गते र दोस्रो सेमिफाइनल खेल वैशाख १३ गते हुनेछ ।
फाइनल खेल वैशाख १४ गते हुने प्रतियोगिता हुने उहाँले जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार प्रदान गरिनेछ ।
उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद रु २५ हजार पाउनेछ ।
भद्रपुरको मेची रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रयोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको छ ।


विश्व खबर 



















