लन्डन-लन्डनस्थित एकजना कर्मठ एनआरएन अभियन्ता तथा एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले एनआरएनएको युरोप संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
सन् २००७ देखि एनआरएन अभियानमा संलग्न रहेका तिमल्सेनाले आफुले यो अभियानमा लगेर धेरै कुरा सिक्ने मौका पाएको बताए।नेपालीका लागि नेपालीू भन्ने नाराको मूल मर्म अनुरुप विदेशमा बसेका नेपालीहरुको हितमा होस् वा नेपालमा कुनै पनि संकट पर्दा, व्यक्तिगत र सामूहिक रुपमा गरेको प्रयास स्मरणीय रहेको बताए।
‘नयाँ देश र नयाँ परिवेशमा सन्तान हुर्काउंदै, व्यवसाय अगाडी बढाउँदै गर्दा हामीलाई आफ्नै समुदायको भरथेग निकै महत्वपूर्ण हुने रहेछ। त्यस्तै हामीले गरेको सानो सहयोग पनि मातृभूमिका लागि ठूलो हुंदो रहेछ भन्ने मैले अनुभव गरे,’ उनले भने।
सामाजिक काममा कहिल्यै पनि नाईं नभन्ने तिमल्सेना सन् २०१५ को भूकम्प होस् वा गत वर्ष देखि शुरु भएको कोभिड प्रकोप, सक्दो सहयोग गर्न सधैं अगाडी रहने गरेका छन्। तिमल्सनाले एनआरएन केन्द्रीय सदस्य (२०१५–०१७), संघको अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्धन सम्बन्धि समितिमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
तिमल्सेनाले गैरआवासीय नेपाली संघको अक्टोवर २३ देखि २५ सम्म हुने १० औं महाधिवेशनमा संघको युरोप संयोजकमा उम्मेदवारी दिने तयारी गरेका हुन् । उनले गैरआवासीय नेपाली संघ, यूकेको सल्लाहकार (सन् २०१७), एनआरएनए युकेको अध्यक्षका प्रत्यासी (सन् २०१७–१९), गैरआवासीय नेपाली संघ, यूके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली संघ, यूके कार्यसमिति सदस्य (सन् २०११–०१३) समेत रहेर काम गरिसकेका छन् ।
लन्डनका सालिन अभियन्ता कृष्ण तिमल्सेना !
१६ वर्षमा एसएलसी पास गरेपछि कृष्ण तिमल्सेना विदेश जाने रहरले भौंतारिन थाले । नेपालमा अवसर कम र निराशा बढी थियो । वि.सं. २०४९ तिरको कुरा हाे- उनकै भनाइमा भन्ने हाे भने उनी ‘एउटा गान्धी नोट, तीनवटा गैंडा र नागरिकता बोकेर’ भारत प्रस्थान गरे । दिल्लीमा बुबालाई भेट्न जान धादिङको धुवाँकोटदेखि सुनौलीसम्मको भाडा तीन सयको नोट (तीनवटा गैंडा) र सुनौलीबाट दिल्लीसम्मको भाडा पाँच सय भारु (गान्धी नोट) हातमा थमाएर आमाले भारत पठाएकी थिइन्, तिमल्सेनालाई ।
जापान जाने सपना उमेर सानै भएका कारण बीचमै तुहियो र तिमल्सेनाले भारत आफ्नो वैदेशिक गन्तव्य बनाए । भारतमा काम गर्दै गर्दा होटल म्यानेजमेन्ट एण्ड टुरिजमको अध्ययन पूरा गरेर कुवेत भासिए उनी । झन्डै ६ वर्ष कुवेत बसाइपछि आफन्तको मार्गदर्शन र सहयोगमा सन् २००१ मा वर्क परमिट मिलाएर बेलायत आए कृष्ण ।
डेढ दशकभन्दा बढी समयदेखि लन्डन कर्मथलो बनाउँदै आएका उनै तिमल्सेनाको अहिले परिचय अनेक छन् । एक सफल व्यवसायी, समाजसेवी, एनआरएन युरोप क्षेत्रका उपसंयोजक, अनुभवी सेफ आदि इत्यादिको परिचय तिमल्सेनाको साथमा छ । मानिस सबैलाई सफलताको शिखर चुम्ने सपना हुने भएपनि थुप्रै आरोह अवरोह आइलाग्छ । तिमल्सेनाले पनि त्यो संघर्ष नभोगेका होइनन् । तर, धर्म-कर्ममा उत्तिकै विश्वास गर्ने तिमल्सेना लन्डन उत्रेदेखि कहिल्यै पछाडि फर्कनु परेन ।
जीवनमा आफूलाई भाग्यले प्रशस्तै साथ दिएको बताउँछन् उनी । बेलायत आएपछि सेफको काम त छँदैछ, आफ्नै व्यवसायमा संलग्न हुंदै समाजसेवा अंगालेका तिमल्सेनाको सालिनता, इमान्दारी, मिहिनेत, सकारात्मक सोच र सह्दयी भावनाले जीवनमा सफलता चुम्न सके ।
उनका जीवनका भोगाई, उतारचढावल, मिहिनेत, र धैर्यता धेरैलाई प्रेरणाका श्रोत हुन सक्छन् । सफलता पाउन संघर्ष अवष्य गर्नुपर्छ । यदि संघर्षबाट टाढिन खोज्ने हो भने सफलता कहिल्यै हासिल नहुने उनको अनुभव छ । ‘काम र जिम्मेवारीलाई पहिलो प्राथमिकता दिनुपर्छ, समय त सबैले पाउने उही हो’, तिमल्सेना भन्छन्, ‘समय मूल्यवान छ, त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने ख्याल गर्न सक्नु नै वुद्धिमता हो । आफूलाई इमान्दारीपूर्वक परिवर्तन गराउन सक्नु पनि अर्को महत्वपूर्ण पक्ष हो ।’
संघर्षबाट हारेर होइन, संघर्षलाई जितेर अगाडि बढ्ने हो भने सफलता मिल्ने बताउँछन् उनी । तिमल्सेनाकै सूत्र मान्ने हो भने धैर्यता र सहनशीलता कायम राख्न सके सफलता हाम्रै वरिपरी छ । हाल बेलायतमा लाखौं नेपाली छन् । सबैका आ-आफ्नै संघर्षका कथा छन् । कसैको जीवनयापन लोभलाग्दो छ, कसैको निरस । कोही उदार दिलका छन्, कोही कठोर पनि । एकथरी अरुलाई दिए आफ्नो झन् फलिफाप हुन्छ भन्ने सोच राख्छन्, अर्कोथरी आफ्नो कमाइ आफैं सदुपयोग गर्ने हो, दिने त जमानै छैन् भन्छन् ।
कृष्ण तिमल्सेनाको सोच यहींनेर पृथक छ । आफ्नो लागि मात्र बाँच्ने कि परिवार आफन्तजन, समाज अनि देशका लागि पनि बाँच्ने त्यो नितान्त फरक र व्यक्तिगत विषय भएको तिमल्सेना बताउँछन् । लाखौंको संख्यामा बेलायतमा रहेका नेपालीमध्ये आफू मात्र नभएर अरुले पनि बाँच्न पाउनुपर्छ र अरुलाई पनि बचाउनुपर्छ भन्ने मान्यता बोकेका व्यक्तिहरु एकदमै न्यून रहेको उनको बुझाइ छ ।
बेलायत आएपछि तिमल्सेनाले आफ्नो लागि मात्र संघर्ष गरेनन्, अरुका लागि पनि उत्तिकै संघर्ष गरे । चाहे यहाँको स्थानीय बेलायती समाजका लागि होस्, चाहे स्वदेशमा आपतविपत आइलाग्दा । निरन्तर सहयोगको भावनाका साथ अघि बढे उनी । अरुलाई सहयोग गर्न र दुःखमा साथ दिन कहिल्यै भागेनन् कृष्ण । ज्ञान र वुद्धि जस्तै धन सम्पति पनि आफूमा मात्र सिमित नराखी अरुलाई जति बाँड्यो उति फैलिने उनको धारणा छ । सानो ठूलो नभनि भेदभावरहित समान सह-अस्तित्व उनले अनुशरण गरेका मन्त्र छन् । सरल सालिन स्वभाव, सहयोगी र इमान्दारीताका कारण नै बेलायती समाजमा लोकप्रिय छन् तिमल्सेना ।
तिमल्सेनाले नेपाल, भारत वा बेलायतका कयौं नेपालीलाई वर्क परमिट दिलाएर ‘सेटल्ड’ गराइदिए । बेलायतमा सञ्चालित नेपाली रेष्टुरेन्ट र ती रेष्टुरेन्टमा काम गर्ने सेफहरुलाई एकताको सूत्रमा बाँध्न तिमल्सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले सन् २०१२ मा बेलायतका सेफहरुलाई एक बनाउने उद्देश्यले ‘नेप्लिज सेफ एसोसिएशन यूके’ गठन गरे र यहाँ रहेका समस्त रेष्टुरेन्ट व्यवसायी तथा यसमा काम गर्ने सेफलाई थप उर्जा थप्ने प्रयत्न गरे । नेपाली खाना विदेशीमाझ चिनाउन र नेपाली रेष्टुरेन्ट व्यवसायलाई सफलता दिलाउन एसोसिएशनको तर्फबाट निकै ठूलो योगदान भयो जसको श्रेय तिमल्सेनालाई जान्छ ।
नेप्लिज सेफ एसोसिएशन यूकेका संस्थापक अध्यक्ष उनी बेलायतमा नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्न अहोरात्र खटिए । नेप्लिज सेफ एसोसिएसनको एक च्यारिटी कार्यक्रममा बेलायतका लागि निवर्तमान नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले उनको खुलेर प्रशंसा गर्दै सम्मानस्वरूप दोसल्ला नै ओढाएका थिए । तिमल्सेना नेपाली समाजका एक आदर्श भएका र उनी जस्ता व्यक्तित्वबाट अरुले पनि प्रेरणा लिन सक्नुपर्ने राजदूतको धारणा थियो ।
गैर आवासीय नेपाली संघमा सन् २००७ देखि साधारण सदस्यका रुपमा प्रवेश गरेका तिमल्सेना अहिले एनआरएनए युरोप क्षेत्रका उपसंयोजक छन् । यसबीचमा उनले कार्यसमिति सदस्य हुँदै एनआरएनए यूकेको उपाध्यक्षको समेत जिम्मेवारी सम्हाले । गैर आवासीय नेपाली संघलाई विश्वभरका नेपालीको साझा संगठनको रुपमा अघि बढाउन र विदेशमा रहेका नेपालीबाट स्वदेशमा लगानी गर्ने अवसर जुटाउन पहल गर्नुपर्ने उनको धारणा छ । नेपालमा हाइड्रो क्षेत्रमा धेरै पैसा खन्याएका उनी अन्य नेपालीलाई पनि स्वदेशको समृद्धि र आफ्नो व्यवसायिक लाभका लागि लगानी गर्न उक्साउंछन् ।


विश्व खबर 



















