काठमाडौं – अमेरिकाले आफ्नो नागरिकका लागि नेपाल यात्रा सम्बन्धी ट्राभल एड्भाइजरी अपडेट गर्दै खतराको स्तर घटाएको छ। ३१ मार्च, २०८२ मा प्रकाशित एड्भाइजरीले सुरक्षा स्तर “लेभल–२” राखेको छ, जसको अर्थ थप सावधानी अपनाउन आवश्यक रहेको हो।
गत वर्ष भदौमा भएको जेनजी आन्दोलन र त्यसपछिका अस्थिरताका कारण कडाइ गरिएको एड्भाइजरी हाल सामान्य अवस्थामा फर्किएको छ। तथापि, विशेषगरी शहर क्षेत्रमा प्रदर्शन वा स्थानीय अशान्ति अझै हुन सक्ने चेतावनी जारी गरिएको छ। अमेरिकी नागरिकलाई भीडभाडबाट टाढा रहन, स्थानीय प्रशासनको निर्देशन पालना गर्न, र अप्रत्याशित घटनामा सतर्क रहन सुझाइएको छ।
स्वास्थ्य सेवासम्बन्धी जानकारीमा काठमाडौंका अस्पतालहरू अन्य क्षेत्रको तुलनामा राम्रो भए पनि अत्यधिक भीड, औषधि र उपकरणको कमी, तथा उपचारअघि भुक्तानी मागिने समस्या रहेको उल्लेख छ। विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने छैन। त्यसैले आवश्यक औषधि साथमा ल्याउन र मेडिकल इभ्याकुएसन समेटिएको यात्रा बिमा अनिवार्य गर्न सिफारिस गरिएको छ।
एड्भाइजरीले प्राकृतिक जोखिमबारे पनि सचेत गराएको छ। नेपालमा भूकम्प, बाढी र पहिरोको सम्भावना नियमित रहन्छ। विशेषगरी मनसुनको समय (जुन–सेप्टेम्बर) मा भारी वर्षाले आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्ने र सडक अवरुद्ध हुने जोखिम रहने चेतावनी दिइएको छ।
नेपाल यात्रा गर्ने अमेरिकी नागरिकहरूलाई अमेरिकी दूतावास वा कन्सुलेटमार्फत उपलब्ध सूचना तथा अलर्टमा दर्ता हुन, स्थानीय समाचार नियमित रूपमा हेर्न, र आवश्यक परे यात्रा योजना परिवर्तन गर्न सुझाइएको छ।























