काठमाडौं– अमेरिका–इजरायल र इरानबीचको युद्ध आज (चैत १८) ३३औँ दिनमा प्रवेश गरेको छ। इजरायली सेनाले मंगलबार मात्रै २४ घण्टाभित्र इरानमा २३० भन्दा बढी हवाई हमला गरेको दाबी गरेको छ। यसलाई एक योजनाबद्ध सैन्य अभियानको हिस्सा भएको र इरानको सैन्य क्षमतालाई कमजोर पार्न लक्ष्य गरिएको बताइएको छ।
तर इरानले भने अमेरिकी–इजरायली हमलाले केवल सैन्य ठेगानामा मात्र नभई सर्वसाधारण र नागरिकसँग सम्बन्धित क्षेत्रहरूलाई पनि लक्षित गरेको आरोप लगाएको छ।
तेहरान टाइम्सको रिपोर्टअनुसार, हालसम्म यी हमलामा कम्तीमा ४७०० इरानी सुरक्षाकर्मी मारिएका छन् भने करिब २१ हजार मानिस घाइते भएका छन्। युद्धले यस क्षेत्रको अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने चेतावनी पनि दिइएको छ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) का अनुसार, यस क्षेत्रको जीडीपी ३.७–६ प्रतिशतले घट्न सक्ने, होर्मुज जलमार्गमा जहाज आवतजावत ७० प्रतिशतले कम हुने, तेलको मूल्य करिब १२० डलर प्रतिब्यारेल पुग्ने र १६–३६ लाख मानिस रोजगार संकटमा पर्ने सम्भावना रहेको छ।
युद्ध रोक्नका लागि चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक डारले बेइजिङमा बैठक गरी पाँचबुँदे योजना सार्वजनिक गरेका छन्। यस योजनामा समावेश विषयहरू:
युद्ध तुरुन्त रोक्ने र यसलाई थप विस्तार नगर्ने।
यथाशीघ्र शान्ति वार्ता सुरु गर्ने र सबै देशको सुरक्षाको ख्याल राख्ने।
सर्वसाधारण र नागरिक क्षेत्रमा हुने हमलाहरू बन्द गर्ने।
होर्मुज समुद्री मार्गलाई सुरक्षित राख्ने।
संयुक्त राष्ट्रसंघको नियमअनुसार शान्ति सम्झौता गर्ने।


विश्व खबर 




















