काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साह विरुद्ध अतीतमा दायर भएको ठगीसम्बन्धी मुद्दा पुनः सार्वजनिक बहसको विषय बनेको छ । उनी मन्त्री नियुक्त भएसँगै उक्त प्रकरण सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा हुन थालेको हो ।
महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साह हालै मन्त्रिपरिषद् गठनसँगै श्रममन्त्री बनेका हुन् ।
के थियो आरोप ?
२०७३ सालमा साहमाथि एमबीबीएस परीक्षामा पास गराइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोप लागेको थियो । त्यसबेला उनी पुतलीसडकस्थित ‘वर्ल्ड वाइड कन्सल्टेन्सी’सँग आबद्ध रहेको बताइन्थ्यो ।
प्रहरीका अनुसार, काठमाडौं–नागार्जुन–२ बस्ने एक विद्यार्थीलाई परीक्षा पास गराइदिने भन्दै उनका अभिभावकसँग दुई लाख रुपैयाँ लिने सहमति गरिएको थियो । यस क्रममा सह–आरोपी गणेश अधिकारीमार्फत रकम लिन खोज्दा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
पीडित पक्षको उजुरीपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०७३ कात्तिक ३ गते ठगी मुद्दा दर्ता गरेको थियो ।
अदालतको फैसला
तर, काठमाडौँ जिल्ला अदालतले २०७३ मंसिर १० मा प्रमाण नपुगेको ठहर गर्दै साह र सह–आरोपीलाई सफाइ दिएको थियो । उक्त फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो ।
पछि उच्च अदालत पाटनले पनि जिल्ला अदालतकै फैसला सदर गर्दै साहलाई अन्तिम रूपमा सफाइ दिएको थियो ।
अहिले किन चर्चा ?
हाल साह मन्त्री बनेपछि विगतको यही मुद्दा पुनः चर्चामा आएको हो । कानुनी रूपमा उनी उक्त मुद्दाबाट सफाइ पाइसकेका भए पनि सार्वजनिक रूपमा नैतिकता र राजनीतिक पृष्ठभूमिको सन्दर्भमा बहस भइरहेको देखिन्छ ।























