images
images
  • उत्तर कोरियाले अमेरिकी भूमिमा आक्रमण गर्न सक्ने मिसाइल तयार गर्दै, ट्रम्प वैश्विक आतंककारी भएको आरोप

    सियोल– उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिनको परीक्षण गरेको छ ।

    यसलाई अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्ने मिसाइल कार्यक्रमसँग जोडेर हेरिएको छ ।

    उत्तर कोरियाली नेता किम जोङ उनले उक्त इन्जिन परीक्षण प्रत्यक्ष अवलोकन गरेको र यसलाई देशको सैन्य शक्ति थप उकास्ने महत्त्वपूर्ण उपलब्धि बताएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)ले जनाएको छ ।

    परीक्षण गरिएको इन्जिन कम्पोजिट कार्बन फाइबर सामग्री प्रयोग गरी उन्नत बनाइएको बताइएको छ ।

    यसको अधिकतम थ्रस्ट दुई हजार ५०० किलोटन पुगेको उल्लेख गरिएको छ ।

    यसअघि सेप्टेम्बरमा परीक्षण गरिएको यस्तै इन्जिनको क्षमता करिब एक हजार ९७१ किलोटन रहेको थियो ।

    विश्लेषकहरूका अनुसार इन्जिनको थ्रस्ट क्षमता वृद्धि गर्नुको उद्देश्य एउटै क्षेप्यास्त्रमा बहु वारहेड जडान गर्ने सम्भावना बढाउनु हुन सक्छ, जसले प्रतिरक्षा प्रणाली छल्ने क्षमता थप मजबुत बनाउँछ ।

    यद्यपि परीक्षण कहिले र कहाँ गरिएको हो भन्नेबारे केसिएनएले स्पष्ट जानकारी दिएको छैन ।

    यो परीक्षण उत्तर कोरियाको पाँच वर्षे सैन्य आधुनिकीकरण योजनाअन्तर्गत गरिएको हो, जसको लक्ष्य ‘रणनीतिक आक्रमणका साधनहरू’ लाई स्तरोन्नति गर्नु रहेको बताइएको छ ।

    यसले अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आइसिबिएम) विकासलाई संकेत गर्छ, जसले अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्ने क्षमता राख्ने मानिन्छ ।

    किमले पछिल्लो परीक्षणले देशको रणनीतिक शक्ति उच्च स्तरमा पु¥याउने महत्त्व राख्ने बताएका छन् ।

    पछिल्ला वर्षहरूमा उत्तर कोरियाले विभिन्न प्रकारका आइसिबिएम परीक्षण गर्दै आएको छ, विशेषगरी ठोस इन्धन प्रयोग गर्ने प्रविधिमा प्रगति गरेको छ ।

    यस्तो इन्धनयुक्त मिसाइलहरू छिटो प्रक्षेपण गर्न सकिने र पहिल्यै पत्ता लगाउन कठिन हुने भएकाले अझ खतरनाक मानिन्छ ।

    यसअघि प्रयोग हुँदै आएका तरल इन्धन मिसाइलहरू प्रक्षेपणअघि लामो तयारी आवश्यक पर्ने र लामो समयसम्म तयार अवस्थामा राख्न नसकिने कमजोरी रहेका थिए ।

    तर, केही अन्तर्राष्ट्रिय विज्ञहरूले उत्तर कोरियाले अझै पूर्ण रूपमा कार्यक्षम आइसिबिएम विकास गर्न प्राविधिक चुनौतीहरू सामना गरिरहेको बताएका छन् ।

    विशेषगरी वारहेडलाई वायुमण्डलीय पुनःप्रवेशका क्रममा हुने अत्यधिक ताप र दबाबबाट सुरक्षित राख्ने विषय चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ ।

    यद्यपि अन्य विश्लेषकहरू भने उत्तर कोरियाले लामो समयदेखि गरेको लगानी र परीक्षणका आधारमा ती अवरोधहरू पार गरिसकेको हुन सक्ने तर्क गर्छन् ।

    यसैबीच, उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई थप विस्तार गर्ने नीति निरन्तर अघि बढाइरहेको छ ।

    किमको अमेरिकासँगको उच्चस्तरीय कूटनीतिक प्रयास सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग असफल भएपछि यस्तो रणनीति थप आक्रामक बनेको देखिन्छ ।

    हालै फेब्रुअरीमा आयोजित सत्तारूढ वर्कर्स पार्टीको बैठकमा किमले अमेरिकासँग वार्ताका लागि ढोका खुला राखे पनि त्यसका लागि उत्तर कोरियाको आणविक निशस्त्रीकरणको माग त्याग्न वासिङ्टनलाई आग्रह गरेको छ ।

    यसबीच, किमले हालै संसद्मा सम्बोधन गर्दै आफ्नो देशको आणविक शक्ति हैसियतलाई अपरिवर्तनीय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए र मध्यपूर्वको विकसित परिस्थितिलाई उल्लेख गर्दै अमेरिकामाथि ‘वैश्विक राज्य आतंकवाद र आक्रामकता’ को आरोप लगाएका थिए । –एपी

    प्रतिक्रिया दिनुहोस्
    images
    images