images
images
  • १६ दिने अभियान चलिरहँदा पनि उस्तै हिंसा, न्याय पाउन अझै सास्ती

    काठमाडौं – ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गरौँ’ भन्ने नारासहित यस वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । हरेक वर्ष अभियानका क्रममा सचेतना, प्रतिबद्धता र हिंसा अन्त्यका विषयमा बहस हुने गरे पनि महिलाले भोग्दै आएका हिंसा, असुरक्षा र न्यायका लागि गर्नुपर्ने सङ्घर्ष भने अझै कायमै छन् ।

    ‘हामी दाजुभाइ’ संस्थाका अध्यक्ष सञ्जोग ठकुरीका अनुसार लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सन् १९९१ देखि सञ्चालन हुँदै आएको हो । महिला हिंसाविरुद्धको अभियानमा प्रयोग हुने सेतो रिबन अभियान पनि पुरुषको सहभागिताबाट सुरु भएको उ बताउछन् । तर हिंसा अन्त्यका लागि महिलालाई मात्र सचेत गराएर पर्याप्त नहुने उनको धारणा छ ।

    “लैङ्गिक हिंसा महिलाको समस्या होइन, पुरुषवादी सोचको समस्या हो, जुन अधिकांश पुरुषमा हुन्छ,” ठकुरी भन्छन्, “महिलालाई पिट्नु हुँदैन भनेर महिलालाई सिकाएर के गर्ने रु महिलालाई पिट्ने मान्छेलाई पो सिकाउनुपर्छ, पिट्नु हुँदैन भनेर।”

    उनका अनुसार समाजका विभिन्न शक्ति संरचनामा पुरुषको उपस्थिति बढी भएकाले हिंसा अन्त्यको जिम्मेवारी पनि उनीहरूले लिनुपर्छ। पुरुषले आफ्नो व्यवहार परिवर्तन गर्नुका साथै हिंसाविरुद्ध आवाज उठाउन आवश्यक रहेको उनको भनाइ छ ।

    हिंसा बढेको कि उजुरी गर्ने प्रवृत्ति ?

    लैङ्गिक हिंसाका घटना बढिरहेका छन् कि पीडितले पहिलेभन्दा बढी आवाज उठाउन थालेका छन् भन्ने प्रश्नमा राष्ट्रिय महिला आयोगकी उपसचिव तथा महिला समन्वय शाखा प्रमुख सीता अधिकारी अहिलेको अवस्थालाई घटनाको सङ्ख्यामा भएको वृद्धिका रूपमा मात्र बुझ्न नहुने बताउटन् ।

    उनका अनुसार पहिले बाहिर नआउने गरेका घटना अहिले सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने र सम्बन्धित निकायमा उजुरी गर्ने प्रवृत्ति बढेको छ । परम्परागत रूपमा देखिने घरेलु हिंसा, कुटपिट र शारीरिक हिंसाका घटनामा केही कमी आए पनि सूचना प्रविधिको दुरुपयोगबाट हुने हिंसा र मनोवैज्ञानिक उत्पीडन नयाँ चुनौतीका रूपमा देखिएका छन् ।

    अधिकारीका अनुसार राष्ट्रिय महिला आयोगले गत आर्थिक वर्षमा करिब छ हजार पीडित तथा सेवाग्राहीका मुद्दा व्यवस्थापन गरेको थियो । आयोगमा आएका घटनामध्ये करिब ८० प्रतिशत घरेलु हिंसासम्बन्धी छन् । घरेलु हिंसाका घटनामध्ये पनि करिब ६० प्रतिशत मनोवैज्ञानिक उत्पीडनसँग सम्बन्धित रहेको उनले जानकारी दिए ।

    उजुरी बढ्नु सकारात्मक, न्याय पाउनु चुनौती

    पीडित महिलाले उजुरी गर्ने र आफ्नो समस्या सार्वजनिक गर्ने प्रवृत्ति बढ्नुलाई आयोगले सकारात्मक रूपमा लिएको छ । तर उजुरी गर्न सक्नु र न्याय पाउनु एउटै कुरा नभएको अधिकारीको भनाइ छ ।

    आयोगले जोखिममा रहेका पीडितलाई सुरक्षित आवासमा राख्ने, मनोसामाजिक परामर्श दिने तथा जीविकोपार्जनका लागि स्थानीय तह र साझेदार संस्थासँग समन्वय गर्ने गरेको छ । “पीडितलाई आफ्नो घरमा जान सक्ने स्थिति छैन, घरमा फर्किँदा जोखिम छ भन्ने आयोगबाट ठहर भएपछि हामीले सुरक्षित आवासको व्यवस्था गरेका छौँ,” अधिकारीले भने ।

    आयोगले ११४५ नम्बरको हेल्पलाइनमार्फत २४ घण्टा सेवा दिँदै आएको छ । यसमार्फत पीडितको गुनासो सुन्ने र सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा आवश्यक सहयोग उपलब्ध गराउने गरिएको उनले बताए ।

    कानुन छ, कार्यान्वयनमा झन्झट

    महिला हिंसाविरुद्ध कानुनी व्यवस्था भए पनि पीडितले व्यवहारमा न्याय पाउन अझै कठिन रहेको सरोकारवालाको भनाइ छ । नेपाल ल क्याम्पसकी उपप्राध्यापक डा. विष्णुमाया भुसालका अनुसार नेपालको कानुनी व्यवस्था तुलनात्मक रूपमा पर्याप्त भए पनि कार्यान्वयन र कार्यविधिगत प्रक्रियामा समस्या छ ।

    “सारभूत कानुनले हकअधिकार दिएको छ । तर कार्यविधि कानुनमा यति धेरै झन्झटिलो प्रक्रिया छ कि त्यसले गर्दा हिंसाका घटनाहरू न्यूनीकरण हुन सकेको छैन,” उनले बताए ।

    जिल्ला अदालतबाट फैसला भए पनि उच्च र सर्वोच्च अदालतसम्म पुग्नुपर्ने अवस्था, म्याद थप्ने र तारिख धाउनुपर्ने प्रक्रियाले पीडितलाई थप समस्यामा पार्ने गरेको उनको भनाइ छ । न्याय पाउन लामो समय लाग्दा पीडित मानसिक, सामाजिक र आर्थिक रूपमा थप कमजोर बन्ने जोखिम हुन्छ । त्यसैले अदालतको फैसला मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयन पनि आवश्यक रहेको उ बताउछन् ।

    भुसालले घरेलु हिंसाका घटनामा मिलापत्र गराउने प्रवृत्तिमाथि पनि प्रश्न उठाएको छ । कुन प्रकृतिको विवादमा मेलमिलाप सम्भव हुन्छ र कुन गम्भीर हिंसामा कानुनी कारबाही आवश्यक हुन्छ भन्ने विषयमा राज्य र समाज स्पष्ट हुनुपर्ने उनको भनाइ छ । “महिलाहरू मुद्दा लिएर गए पनि आखिर यस्तै रहेछ, सहनै पर्दोरहेछ भन्ने हिसाबले धेरै हस्तक्षेप गर्न चाहनुभएको छैन,” उनले भने ।

    परिवार र सामाजिक प्रतिष्ठाको दबाब

    महिला अधिकारकर्मी रितु भट्टराईका अनुसार महिला हिंसा अन्त्य हुन नसक्नुमा कानुन र राज्यको कमजोरी मात्र जिम्मेवार छैनन् । समाजमा गहिरोसँग जरा गाडेर बसेका पितृसत्तात्मक मान्यता पनि यसको प्रमुख कारण हुन् ।

    नेपाली समाजले महिलालाई स्वतन्त्र अधिकार भएको व्यक्तिका रूपमा भन्दा परिवारको इज्जत, प्रतिष्ठा र सम्पत्तिसँग जोडेर हेर्ने प्रवृत्ति अझै कायम रहेको उबताउछन् । “समाजले महिलालाई आफ्नो सम्पत्तिजस्तो ठानिरहेको हुन्छ । उनीहरूलाई संरक्षण गर्ने नाममा महिलाको दायरा निर्धारण गरिन्छ र त्यो दायरा नाघे विभिन्न किसिमका हिंसा प्रयोग गरिन्छ,” उनले भने ।

    आर्थिक अभाव, सामाजिक मान्यता र परिवारभित्रको असमान शक्ति सम्बन्धले पनि महिलालाई हिंसाविरुद्ध आवाज उठाउन कठिन बनाउने उनको भनाइ छ । विशेषगरी आर्थिक रूपमा कमजोर महिलाका लागि हिंसात्मक सम्बन्धबाट बाहिर निस्कन सहज हुँदैन । परिवार र बालबालिकाको जीवनयापन कसरी गर्ने भन्ने चिन्ताले उनीहरूलाई हिंसा सहन बाध्य पार्न सक्छ ।

    त्यसैले महिला हिंसालाई आर्थिक अवस्थासँग जोडेर पनि हेर्नुपर्ने भट्टराईको धारणा छ । विपन्न परिवारका महिलालाई सामाजिक सुरक्षा, आर्थिक स्रोत र आत्मनिर्भरताको अवसर उपलब्ध गराउन सके हिंसाबाट बाहिर निस्कने आधार बलियो हुने उ बताउछन्। महिलालाई मात्र सचेत गराउने कार्यक्रमभन्दा परिवारका पुरुष सदस्य र समाजका अन्य पक्षलाई समेत सहभागी गराउनुपर्नेमा उनको जोड छ ।

    अभियान १६ दिनमा मात्र सीमित नहोस्

    उपप्राध्यापक भुसालका अनुसार महिला हिंसाविरुद्धका सचेतनामूलक कार्यक्रम ठूला सभाहल र सहरी क्षेत्रका केन्द्रमा सीमित हुँदा ग्रामीण समुदायका लक्षित वर्गसम्म पुग्न सकेका छैनन् । हिंसाबाट बढी प्रभावित हुन सक्ने समुदायलाई नै कार्यक्रमले समेट्न नसक्दा सचेतनाको प्रभाव सीमित हुने गरेको उहाँको भनाइ छ । “एक पक्षलाई मात्र सुधार गरेर हिंसाको अन्त्य हुँदैन। परिवारका सबै सदस्यले हिंसा गलत हो भन्ने महसुस गर्नुपर्छ,” उनले भने।

    राष्ट्रिय महिला आयोगकी अधिकारीका अनुसार लैङ्गिक हिंसाविरुद्धको काम १६ दिनमा मात्र सीमित छैन। आयोगसहित प्रहरी, स्थानीय तह, अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र र अन्य निकायले वर्षभरि सेवा प्रवाह गर्दै आएका छन् ।

    तर कानुनको जानकारी लक्षित समुदायसम्म पुर्‍याउने, न्यायिक प्रक्रियालाई सहज बनाउने र पीडितको संरक्षण सुनिश्चित गर्ने काम अझै प्रभावकारी हुनुपर्ने भुसाल बताउनुहुन्छ। सचेतना अभियानसँगै पुरुषको व्यवहार परिवर्तन, परिवार र समाजको सोचमा सुधार तथा कानुनको प्रभावकारी कार्यान्वयन हुन सके मात्र लैङ्गिक हिंसा अन्त्यको लक्ष्य हासिल गर्न सकिने सरोकारवालाको धारणा छ ।–गोर्खापत्र

    प्रतिक्रिया दिनुहोस्
    images
    images