images
images
  • बालेनको भारत भ्रमण : बिर्सिए ग्रेटर नेपाल, ओझेलमा पर्‍यो इपिजी

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवाद र प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदनले प्राथमिकता नपाएको भन्दै आलोचना सुरु भएको छ ।

    काठमाडौं महानगरपालिकाको मेयर हुँदा भारतले नेपालको भू–भागसमेत समेटेर ‘अखण्ड भारत’को नक्सा सार्वजनिक गरेपछि बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए । त्यस्तै, नेपालको चुच्चे नक्साको पक्षमा अडान लिएका उनले भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शनसमेत रोकेका थिए ।

    तर, प्रधानमन्त्री बनेपछि मंसिर ६ र ७ गते भएको भारत भ्रमणमा उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायत क्षेत्रको सीमा विवादलाई प्रमुख एजेन्डा बनाउन सकेनन् । आठ वर्षअघि गठन भएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन कार्यान्वयनबारे पनि छलफल भएको सार्वजनिक भएको छैन ।

    पूर्वराजदूत नीलाम्बर आचार्यले प्रधानमन्त्रीस्तरीय भ्रमणमा सीमा विवाद र सन् १९५० को सन्धिजस्ता राजनीतिक मुद्दाले स्थान नपाउनु कमजोरी भएको बताएका छन् । उनका अनुसार यस्ता विषयमा उच्चस्तरीय राजनीतिक संवाद आवश्यक छ ।

    पूर्वराजदूत दीपकुमार उपाध्यायले पनि सीमा विवाद कर्मचारी तहको अध्ययनबाट मात्रै समाधान नहुने बताए । भूगोलसँग जोडिएका समस्या राजनीतिक नेतृत्वबीचको कूटनीतिक संवादबाट समाधान गर्नुपर्ने उनको भनाइ छ ।

    परराष्ट्रमन्त्री शिशिर खनालले भने सीमा समस्याबारे अध्ययन अघि बढाउन दुवै देशका परराष्ट्र तथा विदेश सचिवलाई निर्देशन दिइएको बताएका छन् । दुवै पक्षको अनुकूल समयमा सचिवस्तरीय बैठक बस्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसअघि भारतले नेपालको सहमतिबिना लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने निर्णय गरेपछि बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा नेपालको दाबी स्पष्ट राख्न आग्रह गरेका थिए । चीनले नेपालको चुच्चे नक्सालाई समेट्न नसकेको भन्दै उनले आफ्नो चीन भ्रमणसमेत रद्द गरेका थिए ।

    तर, प्रधानमन्त्री बनेपछि गत जेठ १७ गते संसद्मा बोल्दै उनले भारतले मात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको हुन सक्ने भन्दै दुवै पक्ष बसेर अध्ययन गर्नुपर्ने बताएका थिए ।

    यसैबीच, नेपाल र भारतबीच सीमा व्यवस्थापनसम्बन्धी दुई संयुक्त बैठक सम्पन्न भए पनि लिपुलेक, लिम्पियाधुरा र कालापानी विवादमा ठोस निर्णय हुन सकेको छैन । विज्ञहरूले यस्ता संवेदनशील विषयमा सरकारले स्पष्ट राष्ट्रिय अडानसहित राजनीतिक तथा कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images