काठमाडौं– अमेरिकी अर्ब पति एलन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सका दुई कित्ता सेयर उपहार दिने योजना घोषणा गरेका छन् । प्रविधि क्षेत्रमाथि राजनीतिक र सार्वजनिक निगरानी तीव्र भइरहेका बेला आफ्नो स्याटलाइट र कृत्रिम बुद्धिमत्ता (एआई) व्यवसायप्रति जनसमर्थन बढाउने प्रयास स्वरूप उनले यस्तो योजना ल्याएका हुन् ।
विश्वकै सबैभन्दा धनी व्यक्ति मस्कले बुधवार साँझ सेयर वितरणको घोषणा गरेका हुन् । यसको कुल मूल्य करिब १८ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ । यो घोषणा स्पेसएक्सले अन्तरिक्षमा डेटा सेन्टर सञ्चालनका लागि १० लाख स्याटलाइट प्रक्षेपण गर्न अमेरिकी सरकारबाट अनुमति पाएको केही घण्टापछि आएको हो ।
मस्क कम्प्युटिङ पूर्वाधारको तीव्र विस्तारले वातावरणमा पार्ने असर तथा प्रविधि क्षेत्रका अरबपतिहरूको आर्थिक र राजनीतिक प्रभावबारे चिन्ता बढिरहेका बेला एआई उद्योगमा स्पेसएक्सको भूमिका थप विस्तार गर्न चाहन्छन् ।
यसै महिना अमेरिकामा भएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूको जितमा डेटा सेन्टर विकासको विरोध गर्ने समूहहरू पनि प्रमुख रूपमा देखिएका थिए । सिंगापुरस्थित ओसीबीसी बैङ्कका सम्पत्ति परामर्श प्रमुख चेज आनबुले बिहीबार भने, ‘यो पहलले स्पेसएक्सको विकास यात्रामा आम सर्वसाधारणको सहभागिता विस्तार गर्न स्पष्ट रूपमा मद्दत गर्छ ।’
उनले थपे, ‘बालबालिकालाई कम्पनीमा प्रत्यक्ष आर्थिक हिस्सेदारी दिँदा एआई र अन्तरिक्ष अर्थतन्त्रबाट प्राप्त हुने लाभमा व्यापक जनसहभागिता सुनिश्चित गर्ने एउटा शक्तिशाली सन्देश जान्छ ।’ अमेरिकी सङ्घीय सञ्चार आयोग (एफसीसी) ले एआई कम्प्युटिङको तीव्र रूपमा बढ्दो माग पूरा गर्न स्पेसएक्सको स्याटलाइट समूह (स्याटलाइट कन्स्टलेसन) प्रस्तावलाई स्वीकृति दिएको जनाएको छ ।
तर अन्तरिक्षमा यस्ता गतिविधि विस्तार हुने विषयमा खगोल शास्त्रीहरूले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन् । अमेरिकी खगोल शास्त्रीय समाजले एफसीसीको निर्णयप्रति आफूहरू ‘निराश र स्तब्ध’ भएको जनाएको छ ।
प्रस्तावित स्याटलाइट समूहले खगोल विज्ञानसम्बन्धी पूर्वाधारमा सङ्घीय सरकारले दशकौँदेखि गर्दै आएको लगानी र रातको आकाशको अध्ययन तथा अवलोकन गर्ने खगोल शास्त्री र सर्वसाधारणको क्षमतामा गम्भीर असर पार्ने चेतावनी उक्त संस्थाले दिएको छ । मस्कले सामाजिक सञ्जाल एक्समा छोटो पोस्ट गर्दै बालबालिकाले स्पेसएक्सबाट एउटा र आफूबाट व्यक्तिगत रूपमा अर्को गरी दुई कित्ता सेयर पाउने बताएका छन् । अर्को पोस्टमा उनले स्पेसएक्स कम्पनीका सेयर आगामी महिना हस्तान्तरण गरिने जानकारी दिएका छन् ।
मस्कले थपेका छन्, ‘मबाट व्यक्तिगत रूपमा दिइने सेयर भने आगामी वर्ष जुनमा मेरो सेयर बिक्री तथा हस्तान्तरणसम्बन्धी प्रतिबन्ध (लकअप अवधि) समाप्त भएपछि हस्तान्तरण गरिनेछ ।’ स्पेसएक्सले बुधवार यसअघि नै हाल सक्रिय रहेका प्रत्येक ट्रम्प खातामा आफ्नो क्लास ए साधारण सेयरको एक कित्ता नयाँ रूपमा जारी गरेर दिने घोषणा गरेको थियो । कम्पनीले आफूले दिने सेयर सङ्ख्या बराबर मस्कले पनि व्यक्तिगत रूपमा सेयर उपलब्ध गराउने जनाएको थियो ।
ट्रम्प खाता १८ वर्षभन्दा कम उमेरका अमेरिकी नागरिकलाई सेयर बजारमा हिस्सेदारी दिलाउने र सानै उमेरदेखि सम्पत्ति निर्माण गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको कार्यक्रम हो । ह्वाइट हाउसका अनुसार अक्टोबरसम्ममा करिब सात करोड खाता खोलिएका थिए ।
बुधवार स्पेसएक्सको एक कित्ता सेयरको कारोबार मूल्य १२७.४४ डलरमा बन्द भएको थियो । यस मूल्यका आधारमा मस्कको सेयर उपहार योजनाको कुल मूल्य करिब १८ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।
मस्कले दिने स्पेसएक्सका सेयर ट्रम्प खातासँग जोडिने हुन् कि होइनन् भन्ने विषयमा टिप्पणी माग्दा स्पेसएक्सले कुनै प्रतिक्रिया दिएन ।
ब्रोकरेज कम्पनी मिट्रेड ग्रुपका विश्व बजार सल्लाहकार क्रिस्टोफर ब्रान्किनले भने, ‘यसले दीर्घकालीन रूपमा ठुलो सङ्ख्यामा व्यक्तिगत सेयर धनीहरूको आधार तयार गर्छ,’ उनले थपे, ‘यसले तत्कालै बजारप्रति चासो बढाउँछ र नयाँ पुस्ता वयस्क हुँदै जाँदा कारोबार गर्ने प्लेटफर्महरूका लागि वित्तीय ज्ञान भएका सम्भावित ग्राहकहरूको ठुलो समूह तयार पार्छ ।’
करिब ८२४ अर्ब डलर सम्पत्ति भएका मस्कले गत महिना अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो स्पेसएक्स सेयरमध्ये एक कित्ता दिने घोषणा गरेका थिए । जुन महिनासम्ममा उनीसँग स्पेसएक्सका करिब ६ अर्ब ४२ करोड कित्ता सेयर रहेको थियो ।
त्यति बेला एक्समा पोस्ट गर्दै मस्कले भनेका थिए, ‘आगामी वर्ष म अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो स्पेसएक्स सेयरमध्ये एक कित्ता दिनेछु। यो धेरै योजनामध्ये पहिलो हुनेछ ।’ मस्कले भनेका थिए, ‘भविष्यको अर्थतन्त्रमा हिस्सेदारी जनाउने सेयर प्रत्यक्ष रूपमा सर्वसाधारणलाई दिनु नै सही बाटो हो ।’ उनका अधिकांश परोपकारी गतिविधि मस्क फाउन्डेसनमार्फत हुँदै आएका छन् । उक्त फाउन्डेसनसँग १४ अर्ब डलरभन्दा बढीको सम्पत्ति रहेको बताइएको छ ।
यसैबीच, स्पेसएक्सकी अध्यक्ष ग्विन सटवेल र उनका पतिले पनि गत अक्टोबरमा ट्रम्पको उक्त कार्यक्रमअन्तर्गत दुई लाखभन्दा बढी बालबालिकालाई आफ्नो स्पेसएक्स सेयरमध्ये एक कित्ता दिने प्रतिबद्धता जनाएका थिए ।






















