काठमाडौं– सभामुख डोलप्रसाद अर्याल मलेसिया मेडिकल प्रकरणमा मुछिएपछि मंसिरमा हुने भनिएको संसद्को हिउँदे अधिवेशन प्रभावित हुने संकेत देखिएको छ । मलेसिया प्रकरणलाई संसद्को बैठक सुरु हुने बितिकै प्रतिपक्ष दलका सांसदहरूले सभामुख अर्याल माथि प्रश्न उठाउने तयारी गरेको छन् ।
अर्याल श्रम मन्त्री हुँदा मलेशसियामा रकम लैजनका लागि गरेको २ वटा पत्राचारले यसपटकको संसद् अधिवेशन फलामको चिउरा चपाउनु सरह हुने भएको छ । प्रतिपक्ष दलहरू सभामुख मुछिएको यो प्रकरणमा खरो उत्रिने संकेत देखिएको छ ।
रोल्पामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मलेसिया प्रकरणमा मुछिएका सभामुख डिपी अर्याल माथि छानबिन नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले सरकारले आफूनिकटका व्यक्तिलाई उन्मुक्ति दिएको जिकिर गरे।
‘त्यो बीचमा सात जना मन्त्री भएको देखिन्छ । तर, जसलाई फसाउन खोजियो, त्यसको नाममात्रै छानेर कारबाही गरेको देखिन्छ,’ उनले भने, ‘सुरु गर्ने मन्त्रीलाई पनि छानबिन गरिएको छैन, बीचका मन्त्रीहरूलाई पनि गरिएको छैन । आफ्नै पार्टीको तर्फबाट अहिले सभामुख हुनुभएका त्यो बेला मन्त्री हुनुहुन्थ्यो ।’ सरकारले आफूसँग फरक मत राख्नेलाई मात्र छानेर कारबाही गर्न खोजेको उनको आरोप छ ।
उनले थपे, ‘यो सुशासन होइन । यो निर्देशित छानबिन या निर्देशित ढंगले प्रतिशोध लिने रूपमा गइराखेको छ । निजी क्षेत्रमा पनि पुरानो पार्टीसँग या नेतासँग नजिक भयो भनेर कसैलाई तर्साइहाल्ने खालको काम गरिएको छ ।’
यसैकारण संघीय संसद्को हिउँदे अर्थात् विधेयक अधिवेशन कहिले बोलाउने भन्ने टुंगो अझै लाग्न सकेको छैन । सरकारले जारी गर्न सिफारिस गरेका तीन अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा विचाराधीन छन् ।
मलेसिया जाने कामदारबाट स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा पैसा असुलेर मलेसिया पठाएको आरोपमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तत्कालीन श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याललाई बिहीबार नियन्त्रणमा लिएको छ ।
एकनारायण सचिव हुँदा शेरबहादुर कुँवर, डोलप्रसाद र शरदसिह भण्डारी मन्त्री भएका थिए । एकनारायण पछि मुख्यसचिव भएर सेवाबाट अवकाश भएका हुन् ।
गत कात्तिक १२ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सभामुख अर्यालबिच मंसिर १८ आसपास संसद्को हिँउदे अधिवेशन बोलाउने गरी छलफल भएको थियो । त्यसपछि सभामुखले नेताहरूसँगको भेटमा मंसिर अन्तिम साता अधिवेशन बोलाउने तयारी भइरहेको जानकारी दिएका थिए ।
गत असोज १६ गते बर्खे अर्थात् बजेट अधिवेशन अन्त्य भएपछि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठ अध्यादेशमध्ये पाँचवटा जारी भइसकेका छन् । जारी हुन बाँकी अध्यादेशमा कात्तिक १७ मा सिफारिस प्रेस काउन्सिल ऐन संशोधन र संस्कृति, पर्यटन तथा नागरिक उड्यनसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश तथा मंसिर ४ मा सिफारिस जेन–जी आन्दोलनका घटनासम्बन्धी छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश छन् ।
विभिन्न समाचार माध्यम र सिआइबीको अनुसन्धानलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरणअनुसार डोलप्रसाद दोस्रो पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री (२०८० फागुन २३ देखि २०८१ असार ३१ सम्म) भएका बेला २०८० चैत २५ गते श्रम मन्त्रालयबाट नेपाल राष्ट्र बैंकलाई दुईवटा पत्र पठाइएको थियो । ती पत्रमा बायो मेडिकल सिस्टम (बिएमएस) सेवा शुल्कबापत दुई किस्तामा २१ लाख ३१ हजार ७४० मलेसियन रिंगिट (तत्कालीन विनिमय दरअनुसार करिब ७ करोड २९ लाख रुपैयाँ) मलेसिया पठाउन विदेशी मुद्रा सटही सुविधा माग गरिएको विवरण बाहिरिएको छ ।
सिआइबी स्रोतले डोलप्रसाद अर्याल र अर्का तत्कालीनमन्त्री शरत्सिंह भण्डारीलाई भने अनुसन्धानको दायरामा नराखिएको बताएको छ । संसद् अधिवेशन छिटो बोलाउँदा अध्यादेश ल्याउने बाटो रोकिने र शीतलनिवासमा रोकिएका अध्यादेश स्वतः निष्प्रभावी (औचित्यहीन) हुन पुग्छन् ।
रास्वपाले अधिवेशनमार्फत न्यायालय शुद्धीकरण र महाभियोगसम्बन्धी अजेन्डा अघि बढाउने तयारी गरिरहेको छ ।






















