images
images
  • काठमाडौंसहित विभिन्न जिल्लामा सुरु भयो वर्षा

    काठमाडौं- देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु भएको छ ।

    अहिले सातै प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    विभागका सूचना अधिकारी दिनकर कायस्थले आज र भोलि मौसम बदली रही वर्षा हुने जानकारी दिए।

    उनका अनुसार पछिल्लो एक घण्टामा करिब ५० मिलीमिटर वर्षामापन केन्द्रमा वर्षा मापन गरिएको छ।

    त्यसमध्ये सबैभन्दा बढी सङ्खुवासभामा २७ मिलीमिटर र नुवाकोटमा २६ मिलीमिटर वर्षा भएको सूचना अधिकारी कायस्थले जानकारी दिए। लमजुङमा १७, चितवनमा छ दशमलव चार, म्याग्दीमा छ दशमलव चार, कास्कीमा सात दशमलव आठ, तनहुँमा सात दशमलव दुई मिलीमिटर वर्षा भएको छ।

    पछिल्लो तीन घण्टामा भने म्याग्दी र सङ्खुवासभामा भारी वर्षा भएको जनाउँदै कायस्थले म्याग्दीमा ६० मिलीमिटर र सङ्खुवासभामा ५० मिलीमिटर वर्षा भएको बताए । उनका अनुसार देशभरको मौसम बदली भएको छ।

    विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

    विभागले आज जारी गरेको बुलेटिनमा आज राति देशका हिमाली भूभागमा आंशिक बादल तथा कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराईका बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

    सोही कारण कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए।

    शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।

    कोशी, मधेस, बागमती प्रदेशका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images