images
images
  • बालेन शाह नेतृत्व मन्त्रिपरिषदमा छानिए विज्ञ र सारथी, को-को परे ?

    काठमाडौं- प्रधानमन्त्री नियुक्त हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को रूपरेखा तयार भएको छ ।

    पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले पटक पटकको छलफलपछि बिहीबार मन्त्रिपरिषद्को स्वरुप करिब टुंग्याएका हुन् ।

    लामिछाने र शाहबीच मन्त्री चयन सन्दर्भमा पटक पटक भएका छलफलमा पार्टीलाई संकटमा जोगाउनेदेखि चुनावका बेला विज्ञ मन्त्री बनाउने बाचा प्रकट हुने देखिएको छ ।

    वरिष्ठ नेता शाहले आफ्नो नेतृत्वमा हुने मन्त्रिपरिषद्मा परिणामकेन्द्रित हुने र आफ्नो स्पिट र ‘स्पिरिट’ मिल्ने टिम बनाउन खोजेका छन् ।

    लामिछानेले आफू पार्टी चलाउने र शाहलाई सरकार चलाउने स्वरूपमा प्रस्तुत गर्न खोज्दा ‘भाजपा मोडल’ भनेरसमेत चर्चा र टिप्पणी भएपछि आफूले अन्तिममा निर्णय गर्ने भन्दै बाँकी टीमको ‘होमवर्क’ सकेका हुन् ।

    लामिछानेले दुबै शीर्षनेता एकैपटक सरकारमा जान नहुने संकेत केही निकटस्थलाई गर्दै ‘मोदी राजनाथ मोडल’ भन्दै चर्चा नगर्न आग्रह गरेका हुन् ।

    ‘वेटिङमा लामिछाने छन् भन्दै विपक्षी तथा रास्वपा विभाजन कुर्नेहरूलाई ठाउँ नदिन र एकैपटकमा डेलिभरी दिनका लागि शाह प्रधानमन्त्री र लामिछाने गृहमन्त्री मतदाताकै भावना हो, हामीले त्यही विषयमा अलिअलि छलफल गरेका पनि हौं तर उहाँहरूले अन्तिममा जे भन्यो त्यही हुन्छ,’ एक पदाधिकारीले भने ।

    ‘छरितो र परिणाममुखी मन्त्रिपरिषद् बनाउने’ भन्दै शाहले १५ सदस्यीय प्रस्ताव गरेपछिका पटक पटक भएका छलफलले अन्ततः १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने टुंगोनजिक छन् ।

    ‘सुरुमा केही विज्ञतासहित ९ जनाको नाम दिएर बाँकीमा छलफल गरौं’ भनेपछि लामिछानेले संख्यालाई १५ बाट बढाउने प्रस्ताव गरेका थिए ।

    निर्वाचनक्रममा प्रधानमन्त्रीका रूपमा शालाई प्रस्तावित गरेजस्तै अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्लेलाई निविकल्पजस्तै बनाइएको छ ।

    अर्थमा वाग्ले तय भएजस्तै लामिछाने सरकारमा नभएको खण्डमा डोलप्रसाद अर्याल गृहमन्त्री हुने करिब पक्का छ । अर्यालले संकटका बेला पार्टीलाई सही ढंगले हाँकेको भए पनि ‘एक्सन स्पिरिट’मा बालेनले आशंका गर्दा सुदन गुरुङ गृहमन्त्री बन्नसक्ने सम्भावनासमेत बढेको छ ।

    गुरुङको ‘रणनीतिक भूमिका र जिम्मेवारी’ विषयमा रवि र बालेनबीच बिहीबार रातिसम्म सहमति भएको खण्डमा गुरुङ शक्तिशाली गृहमन्त्री हुने छन् ।

    रास्वपाले परराष्ट्र मन्त्रालयमा शिशिर खनाललाई नै करिब टुंग्याएको छ । कांग्रेस त्यागेर स्वतन्त्र सांसद हुँदै रास्वपा प्रवेश गरेका अमरेशकुमार सिंहले परराष्ट्र दाबी गरे पनि खनाल निर्विकल्पजस्तै छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुम्निमा उदासलाई करिब टुंग्याइएको छ ।

    विश्वमञ्चमा नेपाली पर्यटन प्रवर्धन गर्ने भिजनसहित उदासलाई अगाडि सारिएको बुझिएको छ भने पार्टी प्रवक्ता मनीष झालाई सूचना तथा सञ्चारमन्त्रीमा लैजाने बुझिएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय एकीकरण गरी शक्तिशाली मन्त्रालय बनाएर सुनिल लम्साललाई जिम्मेवारी दिने तयारी रहेको बुझिएको छ ।

    त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेललाई आउने सम्भावना छ ।

    कानुनमन्त्रीका रूपमा सोविता गौतमको चर्चा चले पनि उनलाई सभामुख बनाउने सम्भावना बढेको छ ।

    स्वास्थ्य मन्त्रालयको जिम्मेवारी डा. लेखजंग थापा वा डा. तोसिमा कार्कीलाई आउने सम्भावना देखिएको छ ।

    भूगोल समेट्नेगरी कञ्चनपुरबाट निर्वाचित दिपक बोहोरा वा केपी खनाललाई मन्त्री बनाउनुपर्ने भएकाले युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छलफल भइरहेको छ ।

    प्रतिभा रावललाई मन्त्री बनाउने सम्भावना छ भने दलितको प्रतिनिधित्व गर्दै रिमा विश्वकर्माले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्ने सम्भावना बढेको छ ।

    यसैगरी, खगेन्द्र सुनारले ‘दलितमन्त्री हुनैपर्छ’ भनेका कारण महिला संख्या बढाउनका लागि रिमाको सम्भावना बढेको स्रोतको दावी छ ।

    सरकार निर्माणका लागि मन्त्रीको नाम करिब अन्तिम चरणमा पुगे पनि आइतबार बिहान छलफलपछि अन्तिम निर्णय हुने बुझिएको छ ।

    बाहिर आएका चर्चा र हल्ला भए पनि पार्टीमा वरिष्ठ नेता र सभापतिले छलफल गरी ल्याएको विषय पदाधिकारीमा अलिअलि छलफल गरी अन्तिम रूप दिइने बताइएको छ ।

    केही मन्त्रालय एकीकरण गर्नुपर्ने र नाम हेरफेर सम्भावना भएकाले अन्तिम निर्णय शुक्रबार बिहान गरी पहिलोपटक नै पूर्णमन्त्रिपरिषद् विस्तार गरेर नयाँ सन्देश दिने वरिष्ठ नेता शाहको तयारी रहेको छ ।

    मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरी मन्त्रालय एकीकरण गर्नुपर्ने भएकाले पहिलो दिन शपथग्रहण गरेका मन्त्रीको मन्त्रालयको नाम हेरफेर हुने सम्भावना रहेको पनि रास्वपा स्रोतले बताएको छ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images