काठमाडौं– बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको समर्थनमा उनको पार्टी अवामी लिगले आज र भोलि (नोभेम्बर २७ र २८) देशव्यापी बन्द आह्वान गरेको छ ।
पार्टीले आफूमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने, राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्नेलगायत आठबुँदे माग अघि सारेको छ ।
हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशमा राजनीतिक तनाव बढेको छ । सम्भावित हिंसा र उनको फिर्तीलाई ध्यानमा राख्दै सरकारले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
विद्यार्थी आन्दोलनपछि २०२४ अगस्ट ५ मा सत्ता छाडेर भारत पुगेकी हसिना हालसम्म त्यहीँ छिन् । उनले स्वदेश फर्कन हवाई यातायातको व्यवस्था मिलाइदिन बंगलादेश सरकारसँग आग्रह गरेकी छन् ।
यसैबीच, भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बंगलादेशले गरेको प्रत्यर्पण अनुरोधमाथि भारतले आफ्नो प्रक्रियाअनुसार विचार गरिरहेको बताएका छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनमा भएको दमनका घटनामा दोषी ठहर गर्दै ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२५ नोभेम्बर १७ मा हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
संयुक्त राष्ट्रसंघका अनुसार उक्त आन्दोलनका क्रममा करिब १ हजार ४०० जनाको मृत्यु भएको थियो ।






















