images
images
  • कुवेत ड्रोन आक्रमण इरानद्वारा अस्वीकार

    काठमाडौं– इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले कुवेतमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता नरहेको दाबी गरेका छन् । आक्रमणमा दुई इटालियन नागरिकको मृत्यु भएपछि अराघचीले घटनालाई शङ्कास्पद भन्दै यसलाई युद्ध चर्काउने पूर्वयोजनाको हिस्सा हुन सक्ने आशङ्का व्यक्त गरेका हुन् ।

    सामाजिक सञ्जाल एक्समार्फत उनले घटनाको वास्तविकता पत्ता लगाउन कुवेत र इटालीसँग संयुक्त अनुसन्धान गर्न इरान तयार रहेको बताएका छन् । उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै आक्रमणमा इरानको कुनै भूमिका नरहेको स्पष्ट पारे ।

    रोयटर्सका अनुसार मृत्यु हुने दुवै इटालियन नागरिक जर्मन रक्षा कम्पनी राइनमेटलको इटालियन सहायक कम्पनीमा कार्यरत प्राविधिक थिए । उनीहरू कुवेतस्थित हवाई रक्षा निगरानी केन्द्रमा तैनाथ रहेका बेला ड्रोन आक्रमणमा परेका थिए ।

    कुवेतको रक्षा मन्त्रालयले पनि घटनामा दुई इटालियन नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । आक्रमणमा एक कुवेती र एक पाकिस्तानी नागरिक घाइते भएका छन् ।

    तर कुवेतको परराष्ट्र मन्त्रालयले घटनालाई निरन्तर इरानी आक्रमणको हिस्सा भन्दै कडा निन्दा गरेको छ । उसले आफ्नो सार्वभौमसत्ता र महत्त्वपूर्ण पूर्वाधारको सुरक्षाका लागि आवश्यक कदम चाल्ने चेतावनी दिएको छ ।

    इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेकी छन् । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्वमा चर्किएको क्षेत्रीय द्वन्द्वकै बीच कुवेतमा यो घटना भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images