काठमाडौं – अस्पतालभित्र कार्यरत महिला सहकर्मीहरूको शौचालय तथा नुहाउने स्थानमा गोप्य रूपमा भिडियो खिचेको आरोपमा अस्ट्रेलियाको मेलबर्नमा एक कनिष्ठ चिकित्सक पक्राउ परेका छन् । रयान चो नाम गरेका ती चिकित्सकले सन् २०२४ देखि २०२५ सम्मको अवधिमा ८७१ महिलासहित कुल ८७४ जनाको गोप्य भिडियो खिचेको स्वीकार गरेका छन् ।
चोले मेलबर्नका तीन ठूला अस्पतालमा कार्यरत महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षित गरेका थिए। उनले मोबाइल फोन जालीको झोलाभित्र लुकाएर अस्पतालका शौचालय तथा नुहाउने स्थानमा राख्ने र त्यसबाट गोप्य रूपमा भिडियो रेकर्ड गर्ने गरेको अदालतमा सुनाइएको छ ।
प्रहरीले चोका विद्युतीय उपकरणबाट करिब तीन हजार भिडियो फेला पारेको थियो। तीमध्ये दुई बालिकाका भिडियोसमेत रहेको अदालतमा प्रस्तुत विवरणमा उल्लेख छ । घटनाबाट प्रभावित महिलाहरूले अदालतमा आफ्नो पीडा, मानसिक तनाव र कार्यस्थलमा असुरक्षित महसुस गर्नुपरेको अनुभव सुनाएका छन् ।
चोले गोप्य रूपमा भिडियो खिच्ने तथा त्यससँग सम्बन्धित अन्य कसुरमा दोषी स्वीकार गरिसकेका छन् । नोभेम्बर २६ मा मेलबर्नको अदालतमा सजायपूर्वको सुनुवाइ सकिएपछि उनलाई हिरासतमा पठाइएको हो। उनलाई सन् २०२७ फेब्रुअरी १२ मा सजाय सुनाउने तयारी गरिएको छ ।






















