images
images
  • बेलायतमा पोर्न हेर्ने क्रम बढ्दो, सन्तान चाहने महिला घट्दो : अध्ययन

    काठमाडौं– बेलायतमा पछिल्लो पुस्ताका किशोरकिशोरी तथा युवाहरूले अघिल्ला पुस्ताको तुलनामा कम यौन सम्पर्क गर्ने वा अहिलेसम्म यौन सम्पर्क नै नगर्ने प्रवृत्ति बढ्दै गएको छ। तर उनीहरूमध्ये ठूलो संख्याले अनलाइनमार्फत यौनजन्य गतिविधि गर्ने र अश्लील सामग्री हेर्ने गरेको एक अध्ययनले देखाएको छ।

    बेलायतमा गरिएको यौन व्यवहारसम्बन्धी एक प्रमुख अध्ययनले पहिलो पटक सर्वसाधारणको यौन जीवनसँगै अनलाइन यौन गतिविधिबारे पनि अनुसन्धान गरेको हो।

    नेशनल सर्भे अफ सेक्सुअल एटिच्युड्स एन्ड लाइफस्टाइल्स (न्याट्सल) ले गरेको अध्ययनअनुसार १६ देखि २४ वर्ष उमेर समूहका आधाभन्दा बढी युवाले पछिल्लो एक वर्षमा मोबाइलमार्फत यौनजन्य तस्बिर पठाएका वा प्राप्त गरेका छन्। त्यस्तै यस उमेर समूहका आधा युवती र ८६ प्रतिशत युवाले अश्लील सामग्री हेरेको बताएका छन्।

    तर यही उमेर समूहका एकतिहाइ युवाले अहिलेसम्म यौन सम्पर्क नगरेको पाइएको छ। १२ वर्षअघि गरिएको अघिल्लो अध्ययनमा यस्तो बताउने युवाको संख्या करिब पाँचमध्ये एक थियो।

    ४५ वर्षमुनिका वयस्कमा पनि यौन सम्पर्कको आवृत्ति घटेको छ। सन् १९९० मा औसतमा सातामा एक पटक यौन सम्पर्क गर्ने गरेकोमा अहिले महिनामा दुई पटकमा झरेको अध्ययनले देखाएको छ।

    यौन सम्पर्क घट्दै, अश्लील सामग्री हेर्ने क्रम बढ्दै

    अध्ययनमा सहभागी महिलामध्ये ३७ प्रतिशतले पछिल्लो एक वर्षमा अश्लील सामग्री हेरेको बताएका छन्। पुरुषमा यस्तो संख्या ८१ प्रतिशत रहेको छ। १६ देखि २४ वर्ष उमेर समूहका महिलामध्ये आधा र पुरुषमध्ये ८६ प्रतिशतले अश्लील सामग्री हेर्ने गरेको बताएका छन्।

    यद्यपि अहिलेसम्म यौन सम्पर्क नगरेका व्यक्तिमा अश्लील सामग्री हेर्ने र हस्तमैथुन गर्ने प्रवृत्ति तुलनात्मक रूपमा कम देखिएको छ। यसले अनलाइन यौन गतिविधि र एक्लै गरिने यौन व्यवहारले वास्तविक यौन सम्पर्कलाई पूर्ण रूपमा विस्थापित गरिरहेको छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने अनुसन्धानकर्ताहरूको भनाइ छ। तर यसबारे निश्चित निष्कर्ष निकाल्न थप अनुसन्धान आवश्यक रहेको उनीहरूले बताएका छन्।

    अध्ययनमा कृत्रिम बुद्धिमता (एआई) वा रोमान्टिक च्याटबटसँगको भर्चुअल सम्बन्धबारे भने प्रश्न गरिएको थिएन। अनुसन्धानकर्ताहरूले आगामी अध्ययनमा यस विषयलाई पनि समेट्नुपर्ने बताएका छन्।

    युनिभर्सिटी कलेज लन्डनकी अनुसन्धानकर्ता सोआजिग क्लिफ्टनले सन् २०२२ देखि २०२४ सम्म अध्ययनका लागि तथ्यांक संकलन गर्दा एआईसँगको सम्बन्ध र यौन व्यवहारमा त्यसको प्रभावबारे सोच्नु केही हदसम्म विज्ञानकथा जस्तै लागेको बताइन्।

    उनका अनुसार भविष्यमा एआई साथी र भर्चुअल सम्बन्धले मानिसको यौन व्यवहार तथा व्यक्तिगत सम्बन्धमा पार्ने प्रभावबारे अनुसन्धान गर्नुपर्ने हुन सक्छ।

    सहमति र यौन सम्बन्धबारे खुला छलफल

    लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनकी सहअनुसन्धानकर्ता प्राध्यापक वेन्डी म्याकडोवालका अनुसार युवाहरूमा यौन सम्पर्क घट्नुको कारण मोबाइल तथा स्क्रिनको बढ्दो प्रयोग मात्रै होइन। यसमा विभिन्न सामाजिक तथा व्यक्तिगत कारणले प्रभाव पारेको हुन सक्छ।

    अघिल्लो पुस्ताको तुलनामा अहिलेका युवाले मदिरा सेवन कम गर्ने गरेका छन्। त्यस्तै धेरै युवा परिवारसँगै बस्ने गरेका छन्। मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्नु र कोभिड महामारीका कारण सामाजिक गतिविधि तथा भेटघाट प्रभावित हुनु पनि यसको कारण हुन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।

    यौन सम्पर्कमा सहमति, इच्छा र व्यक्तिगत निर्णयबारे खुला छलफल बढ्दै जानुले पनि युवाहरूलाई यौन सम्बन्ध राख्ने वा नराख्ने निर्णय गर्न सहज बनाएको हुन सक्ने उनीहरूको विश्लेषण छ।

    तर अध्ययनले केही व्यक्तिमा आफ्नो यौन जीवनसँग जोडिएका विषयले मानसिक असहजता र पीडा उत्पन्न गरिरहेको पनि देखाएको छ।

    अध्ययनमा सहभागी सातमध्ये एक महिलाले विगतमा आफूमाथि भएका यौन व्यवहारका कारण अन्य व्यक्तिसँग निरन्तर असन्तुष्टि वा मानसिक पीडा महसुस गर्ने गरेको बताएका छन्। त्यस्तै पुरुषमध्ये सातमध्ये एकले आफ्ना केही यौन सोच र चाहनालाई लिएर लाज महसुस गर्ने गरेको बताएका छन्।

    यौन सम्पर्कका लागि पर्खिने युवा बढे

    न्याट्सलको चौथो अध्ययनले बेलायतमा यौन व्यवहारको प्रवृत्तिमा आएको परिवर्तन देखाए पनि त्यसका कारण भने पूर्ण रूपमा स्पष्ट पार्न सकेको छैन।

    सन् २०१० मा गरिएको अघिल्लो अध्ययनले युवाहरूले पहिलो पटक यौन सम्पर्क गर्दा धेरै हतार गरेको विषयलाई आफ्नो सबैभन्दा ठूलो पछुतोका रूपमा लिने गरेको देखाएको थियो। तर पछिल्लो अध्ययनले युवाहरूले यौन सम्पर्कका लागि पहिलेभन्दा बढी समय पर्खिने गरेको देखाएको छ।

    अध्ययनअनुसार अहिले १६ देखि २४ वर्ष उमेर समूहका ३८ प्रतिशत युवती र २८ प्रतिशत युवकले अहिलेसम्म यौन सम्पर्क नगरेको बताएका छन्। सन् १९९०, २००० र २०१० मा गरिएको अध्ययनमा यस्तो संख्या करिब २० प्रतिशत मात्रै थियो।

    यौन सम्पर्क गर्ने वयस्कहरूमा पनि यसको आवृत्ति घटेको छ। पहिले औसतमा सातामा एकपटक यौन सम्पर्क हुने गरेकोमा अहिले दुई सातामा एकपटक मात्रै हुने गरेको छ।

    ‘द ल्यान्सेट’ जर्नलमा प्रकाशित पछिल्लो अध्ययन बेलायतका १६ देखि ५९ वर्ष उमेर समूहका ६ हजार ७०० जनालाई छनोट गरी गरिएको सर्वेक्षणमा आधारित छ।

    अध्ययनका मुख्य निष्कर्ष यस्ता छन्ः
    – बेलायतका करिब तीनचौथाइ वयस्कले पछिल्लो एक वर्षमा यौन सम्पर्क गरेका छन्।
    – एक व्यक्तिको जीवनकालमा औसत यौन साथीको संख्या पाँच रहेको छ।
    – महिलाले औसतमा महिनामा एकपटक र पुरुषले महिनामा दुईपटक यौन सम्पर्क गर्ने गरेका छन्।
    – महिला र पुरुष दुवैमा समान लिङ्गका व्यक्तिसँग यौन सम्पर्क गरेको बताउनेको संख्या बढेको छ। यद्यपि यसमा भएको वास्तविक वृद्धिको परिमाण भने स्पष्ट हुन सकेको छैन।

    असुरक्षित यौन सम्पर्क बढ्दो, सन्तान चाहने महिला घट्दै

    अध्ययनले बेलायतमा विशेषगरी युवाहरूले असुरक्षित यौन सम्पर्क गर्ने गरेको पनि देखाएको छ। यसले अनिच्छित गर्भधारण र यौनजन्य संक्रमण (एसटीआई) को जोखिम बढाउन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

    युवा महिलामा गर्भनिरोधक चक्कीको प्रयोगसमेत घट्दै गएको पाइएको छ।

    अर्कोतर्फ सन्तान नचाहने महिलाको संख्या भने बढेको छ। १६ देखि ४४ वर्ष उमेर समूहका महिलामध्ये सन्तान नचाहनेको संख्या पछिल्लो एक दशकमा दोब्बर भएको छ। सन् २०१० तिर यस्तो बताउने महिला ८ प्रतिशत रहेकामा अहिले बढेर १७ प्रतिशत पुगेको छ।

    अनुसन्धानकर्ता डा. लाउरा ओक्लेले यो परिवर्तनका पछाडि आर्थिक असुरक्षा, जलवायु परिवर्तनसम्बन्धी चिन्ता वा बदलिँदो जीवन प्राथमिकता जस्ता कारण हुन सक्ने बताएकी छन्।

    उनका अनुसार यस प्रवृत्तिका कारण पहिचान गर्नु आगामी अनुसन्धान र नीति निर्माणका लागि महत्त्वपूर्ण छ। यसले भविष्यमा स्वास्थ्य सेवा, हेरचाह प्रणाली र परिवारसम्बन्धी सेवाको योजना निर्माणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्छ।

    -बीबीसीलगायत

    प्रतिक्रिया दिनुहोस्
    images
    images