काठमाडौं – सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले निर्माण सुरु भएको करिब डेढ दशकपछि व्यावसायिक विद्युत् उत्पादन थालेको छ ।
पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको कमजोरी, ठेक्का रद्द, पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावलगायत कारणले लामो समयदेखि अलपत्रजस्तै बनेको थियो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको आयोजनाले परीक्षण अवधि पूरा गरी व्यावसायिक उत्पादन सुरु गरेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए ।
उनका अनुसार विद्युत्गृह परिसरमा असोज ११ गते कालीगण्डकी नदीको बाढीले कटान गरी क्षति पुर्याएपछि असोज ६ गतेदेखि सुरु भएको परीक्षण अवधि लम्बिएको थियो। प्राकृतिक विपत्ति, कोभिड–१९ महामारी, भन्सार प्रक्रियामा देखिएको समस्या, अन्तर्राष्ट्रिय युद्धको प्रभाव र कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खननमा लगाइएको रोकले निर्माण प्रभावित भएको उनले बताए ।
आयोजनाअन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा बाँध निर्माण गरिएको छ। त्यहाँबाट छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ हुँदै पानी विद्युत्गृहसम्म पुर्याइएको छ । आयोजनामा दुईवटा पानी थिग्य्राउने पोखरीसमेत निर्माण गरिएका छन् । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक छेउमा पर्ने रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा विद्युत्गृह रहेको छ ।
आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार तिल्केनीचौरदेखि घुमाउनेताल, पिप्ले, मौवाफाँट, बुग्ल हुँदै बाँधस्थलसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । राहुघाटमा बेलिब्रिजसमेत निर्माण गरिएको छ ।
विद्युत्गृह परिसरमा स्वीचयार्ड निर्माण गर्नुका साथै कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल सर्किट क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोड्न चारवटा टावर र प्रसारण लाइन निर्माण गरिएको छ ।
आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरेको थियो । भारतको वाकफोस आयोजनाको परामर्शदाता कम्पनी हो ।
राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय निर्माण कम्पनी आईभीआरसीएलसँग २०६७ कात्तिक १८ गते दुई अर्ब ५० करोड रुपैयाँमा सिभिल निर्माणको ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार काम भएको भए आयोजनाबाट २०७० सालमै विद्युत् उत्पादन सुरु हुने थियो ।
तर, कमजोर आर्थिक अवस्थाका कारण काम गर्न नसकेपछि प्राधिकरणले २०७२ सालमा आईभीआरसीएलसँगको ठेक्का रद्द गर्यो । ठेक्का रद्द हुँदासम्म पाँच वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति १२ प्रतिशतमा सीमित थियो ।
त्यसपछि प्राधिकरणले आयोजना पुनर्संरचना गरी क्षमता ३२ मेगावाटबाट बढाएर ४० मेगावाट पुर्याउने र कम्पनी मोडेलमा निर्माण अघि बढाउने निर्णय गर्यो । सोही निर्णयअनुसार २०७३ सालमा प्राधिकरणको सहायक कम्पनीका रूपमा रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरी आयोजना अघि बढाइएको थियो ।
भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट ९ईपीसी० प्रारूपमा आयोजना निर्माण गर्ने प्रक्रिया अघि बढाइयो ।
नयाँ प्रक्रियाबाट छनोट भएको भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स ९जेपी०सँग २०७४ मङ्सिर ६ गते करिब छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ४५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा २०७५ असारदेखि पहुँचमार्ग र २०७६ असार ८ गतेदेखि पिप्लेस्थित तेस्रो नम्बरको अडिटबाट सुरुङ निर्माण सुरु गरिएको थियो । २०८१ साउन १५ गते मुख्य सुरुङ जोडिएको थियो ।
निर्माणका क्रममा पटक–पटक म्याद थप गरिएको थियो। सन् २०२२ फेब्रुअरीमा पहिलो र दोस्रोपटक म्याद थपिएको थियो भने तेस्रोपटक सन् २०२५ नोभेम्बरसम्मका लागि समय दिइएको थियो । चौथोपटक थपिएको अवधिभित्र आयोजना सम्पन्न भएको हो ।
आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ भारत सरकारको स्वामित्वमा रहेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले राहुघाट जलविद्युत् आयोजनालाई जिल्लाको जलविद्युत् विकासको प्रवेशबिन्दुका रूपमा लिइएको बताए । उनका अनुसार जिल्लामा सबैभन्दा पहिले सुरु भएको सरकारी लगानीको आयोजना भएकाले यसको विशेष महत्त्व छ ।
“राहुघाट सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेका छन् । ढिलै भए पनि डेढ दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेकामा उत्साही भएका छौँ”, श्रेष्ठले भने ।






















