काठमाडौं – चितवनका ८३ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । गत जेठ २५ गते गठन भएको जिल्ला भूमि समस्या समाधान समितिले बिहीबार उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो। समितिका सदस्यसचिव श्रीधर ढुङ्गानाका अनुसार इच्छाकामना गाउँपालिकाका ६६ र रत्ननगर नगरपालिका–१२ का पाँच भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।
त्यसैगरी, रत्ननगर नगरपालिका–१२ का १२ अव्यवस्थित बसोबासी परिवारलाई पनि प्रमाणपुर्जा वितरण गरिएको छ ।
चितवनमा विभिन्न समयमा गठन भएका आयोगमार्फत हालसम्म एक हजारभन्दा बढी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरिसकेका छन्। अहिले कालिका नगरपालिका–३ का २५ जनाको प्रमाणीकरण भइसकेकाले उनीहरूको प्रमाणपुर्जा तयार भइरहेको समितिले जनाएको छ।






















