images
images
  • आजबाट बालेन सरकार

    काठमाडौं- बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिए । योसँगै संसद्बाट सरकार बन्ने र निर्वाचित सरकारले शासन गर्ने बाटो खुला भएको छ ।

    २१ फागुनको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित दुईतिहाइनजिकको दल बनेको छ । जनादेशअनुसार यो पार्टीले सरकार बनाउनेछ ।

    गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनपछि राजनीतिक संकट उत्पन्न भएको थियो ।

    संविधानले परिकल्पना गरेभन्दा बाहिरबाट अन्तरिम सरकार बनेको थियो । अन्तरिम सरकारको आफ्नो मुख्य कार्यभार निर्वाचन सम्पन्न गराउने भनेर निर्धारण गरिएको थियो ।

    त्यसैअनुसार अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्दै २१ फागुनका लागि निर्वाचन मिति घोषणा गरेको थियो ।

    संविधानसम्मत प्रक्रियाभन्दा बाहिरबाट आएको सरकारद्वारा गरिएको प्रतिनिधिसभा विघटनले संवैधानिक बहस चर्किएको थियो । यो विषयमा सर्वोच्च अदालतमा मुद्दा प¥यो । तर, अदालतले यो मुद्दालाई प्राथमिकतामा राखेन ।

    कतिपयले प्रतिनिधिसभा विघटनलाई लोकतान्त्रिक मूल्यविरुद्धको कदम भनेर आलोचना गरे भने कतिपयले संकट समाधानको अनिवार्य उपायका रूपमा व्याख्या गरे ।

    अन्ततः निर्वाचन तोकिएकै मितिमा सम्पन्न भयो । निर्वाचन परिणामले नेपालको परम्परागत राजनीतिक समीकरणलाई पूर्णत: उल्ट्याइदिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ शक्तिका रूपमा उदाएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बनेको छ । पुराना दलहरू कमजोर बनेका छन् ।

    रास्वपाबाटै काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह ९बालेन० संसदीय दलका नेता चयन भइसकेका छन् ।

    अब उनी झन्डै दुईतिहाइ बहुमतसहित प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

    एकल पार्टीको स्पष्ट बहुमतसहित सरकार गठन गर्न लागेका बालेन नेपालको समकालीन राजनीतिमा एक नयाँ प्रयोगका रूपमा हेरिएका छन् ।

    बालेनले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिँदै छन् । यसलाई कतिपयले ‘बालेन युग’को संज्ञा दिएका छन् ।

    बालेनसँग काठमाडौं महानगरपालिकामा मेयरका रूपमा करिब साढे तीन वर्ष काम गरेको अनुभव छ ।

    मेयरको रूपमा काम गर्दा उनले अपनाएको कार्यशैली, कडा निर्णय, प्रशासनिक सुधारको प्रयास र सार्वजनिक सेवा प्रवाहलाई नागरिकले रुचाएका थिए ।

    शिक्षामा गरेको सुधार र सांस्कृतिक रूपमा काठमाडौंमा उनले गरेका कामले समेत राष्ट्रिय राजनीतिमा प्रवेशका लागि बलियो आधार तयार गरेको थियो ।

    तर, अब उनी सिंगो मुलुककै नेतृत्व गर्दै छन् ।

    दुईतिहाइनजिक बहुमतले सरकार कानुनी र नीतिगत रूपमा बलियो भए पनि जनताका अपेक्षा पूरा गर्ने योजना र आधार चाहिन्छ ।

    सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना र सेवा प्रवाह सुधारलगायत क्षेत्रमा तत्काल उपलब्धि देखाउनुपर्ने दबाब बालेन नेतृत्वको सरकारमाथि रहनेछ ।

    संवैधानिक ट्रयाकमा फर्किएको वर्तमान अवस्थालाई दीर्घकालीन स्थायित्वमा रूपान्तरण गर्नु अर्को महत्वपूर्ण जिम्मेवारी हो ।

    अन्तरिम सरकारको गठनदेखि प्रतिनिधिसभा विघटनसम्मका घटनाले नेपालको संवैधानिक संरचनामा रहेका कमजोरीहरू उजागर गरेका छन् ।

    अब नयाँ सरकारले ती कमजोरी सच्याउँदै संस्थागत सुधारतर्फ अग्रसर हुनुपर्नेछ ।

    चुनाव जित्नका लागि लोकप्रियता पर्याप्त थियो । तर, बालेन नेतृत्वको सरकार सफल हुनका लागि केवल लोकप्रियता पर्याप्त हुँदैन । त्यसका लागि संस्थागत समन्वय, दक्ष प्रशासन र दीर्घकालीन नीतिगत दृष्टिकोण आवश्यक पर्छ ।

    संघमा बालेन नेतृत्वमा सरकार बन्दै गर्दा प्रदेश र स्थानीय तहमा अन्य दलका नेतृत्वमा सरकार छन् । यस्तो अवस्थामा बालेनले प्रदेश र स्थानीय तहसँगको सहकार्य सुदृढ गर्नुपर्नेछ ।

    चासोमा भू-राजनीति
    बालेन प्रधानमन्त्री बन्दै गर्दा उनले कस्तो विदेश नीति अवलम्बन गर्छन् भन्ने आमचासो छ । किनभने, बालेन नेतृत्वको सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनमा राख्नु पनि उत्तिकै चुनौती हुनेछ ।

    नेपालजस्तो भू-राजनीतिक संवेदनशील देशका लागि छिमेकी राष्ट्रहरूसँग सन्तुलित कूटनीति कायम गर्नु अनिवार्य हुनेछ ।

    आर्थिक लगानी भित्र्याउने, व्यापार विस्तार गर्ने र पर्यटन पुनरुत्थान गर्ने विषयमा पनि नयाँ सरकारको ध्यान केन्द्रित हुनुपर्नेछ ।

    सडक आन्दोलनबाट सुरु भएको राजनीतिक परिवर्तन निर्वाचनमार्फत संस्थागत रूप लिँदै संवैधानिक प्रक्रियामा फर्किए पनि जनताका आकांक्षा पूरा हुन बाँकी छन् ।

    रास्वपाले निर्वाचनमा स्थायित्व, विकास र सुशासनको नारा दिएको थियो । सोहीअनुसार नागरिकले झन्डै दुईतिहाइ मत दिएका छन् ।

    अब जनताले मत दिँदा गरेको अपेक्षा र नयाँ सरकारको काम गराइबीच तादात्म्य खोज्नेछन् ।

    यसमा नयाँ सरकार कति खरो उत्रिन्छ त्यसआधारमा नयाँ युग भनिएको समयको पनि समीक्षा हुँदै जानेछ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images