images
images
  • हिल्टन होटेल पुनर्बिमा प्रकरण : कानुनविपरीत काम गरेका कुन-कुन कम्पनी परे कारबाहीमा ?

    काठमाडौं- हिल्टन होटेलको पुनर्बिमा प्रकरणमा कानुनविपरीत काम गरेको देखिएपछि नेपाल बिमा प्राधिकरणले दुई रिइन्स्योरेन्स कम्पनी, इन्स्योरेन्स कम्पनी र पुनर्बिमा ब्रोकरलाई कारबाही गरेको छ ।

    प्राधिकरणले हिल्टन होटेलको ‘हुलदंगा तथा आतंकवाद जोखिम’को पुनर्बिमा र पुनर्बिमाको दायित्वमा निर्देशन र निमतविपरीतको कार्य गरेको भन्दै नेपाल रिका सिइओ सुरेन्द्र थापा, हिमालयन रि र दी ओरियन्टल इन्स्योरेन्सलाई दुई/दुई लाख रुपैयाँ जरिवाना तिराउने र एलियन्ट पुनर्बिमा ब्रोकर कम्पनीको लाइसेन्स तीन महिनालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

    बिमा ऐन र प्राधिकरणको निर्देशनविपरीत हिल्टन होटेलको हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बिमा नियोजित रूपमा हिमालयन रि-इन्स्योरेन्समा गरेको र पुनर्बिमाको दायित्व भने सरकारी स्वामित्वको नेपाल रिमा पार्न खोजेको देखिएपछि प्राधिकरणले तीनै पक्षलाई स्पष्टीकरण सोधेको थियो ।

    चित्तबुझ्दो स्पष्टीकरण नआएपछि प्राधिकरणले दुई रि-इन्स्योरेन्स, इन्स्योरेन्स र ब्रोकरलाई कारबाही गरेको हो ।

    जेन-जी विद्रोहका क्रममा तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त भएको पाँचतारे हिल्टन होटेलमा ६ अर्ब रुपैयाँबराबरको बिमा दाबी गरिएको छ ।

    उक्त दाबीको दायित्व सरकारी स्वामित्वको नेपाल रिलाई भिडाउन सिइओ थापा, हिमालयन रि र ओरियन्टल इन्स्योरेन्सले मिलेमतो गरेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

    यो कारबाहीसँगै अब ६ अर्बको क्षतिको दायित्वबाट हिमालयनलाई जोगाउने र नेपाल रिलाई फसाउने प्रपञ्च असफल हुने बाटोमा गएको उनीहरू बताउँछन् ।

    बिमा ऐन, २०७९ को दफा १३८ को उपदफा ४ अनुसार उनीहरूलाई कारबाही गरिएको प्राधिकरणकी प्रवक्ता पूजन ढुंगेल अधिकारीले बताइन् ।

    उक्त दफामा प्राधिकरणको निर्देशनविपरीत काम गरेमा दुई लाखदेखि ५० लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

    ‘प्राधिकरणले जारी गरेको निर्देशन वा आदेश पालना नगरेमा वा यस ऐनबमोजिमको रित नपुर्‍याई बिमा व्यवसाय गरेमा वा झुटा विवरण तयार गरेमा प्राधिकरणले देहायबमोजिमको जरिवाना गर्न सक्नेछ,’ दफा १३८ को उपदफा ४ मा भनिएको छ, ‘(क) पहिलोपटकका लागि दुई लाख रुपैयाँ, (ख) दोस्रोपटकका लागि पच्चीस लाख रुपैयाँ र ९ग० तेस्रोपटक वा सोभन्दा बढीको लागि पटकैपिच्छे पचास लाख रुपैयाँ ।’

    गत बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले जरिवाना तथा कारबाहीको निर्णय गरेको हो । यो निर्णयको माइन्युट आइतबार लेखिएको छ ।

    ‘नेपाल रिको सिइओ (सुरेन्द्र थापा), हिमालयन रि, दी ओरियन्टल इन्स्योरेन्सलाई जरिवाना भएको छ । यसैगरी, एलियन्ट पुनर्बिमा ब्रोकरको लाइसेन्स केही समयलाई निलम्बन गरिएको छ,’ उनले भनिन्, ‘यसको विस्तृत जानकारी मलाई पनि आउन बाँकी छ ।’

    छानबिन समितिले गरेको थियो कारबाहीको सिफारिस
    गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा हिल्टन होटेल ध्वस्त भयो । त्यसपछि होटेलले दी ओरियन्टल इस्योरेन्समा बिमा दाबी गर्‍यो ।

    तर, हिमालयन रिलाई पुनर्बिमा शुल्क तिर्दै आएको दी ओरियन्टलले पुनर्बिमा दाबी भने नेपाल रिमा गर्‍यो । यो प्रक्रियालाई सिइओ थापाले अघि बढाए ।

    हिल्टनको बिमा दाबी प्रक्रियाबारे अख्तियारमा उजुरी परेपछि पुनर्बिमाको भार सरकारी कम्पनीलाई पार्ने योजना बाहिरियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान गर्न अर्थ मन्त्रालय हुँदै प्राधिकरणलाई पत्र पठाएको थियो ।

    त्यसपछि प्राधिकरणले यसमा अनुसन्धान अघि बढाएको थियो ।

    प्राधिकरणले हिल्टनको दाबीमा हुन लागेको बदमासीको विषयमा अनुसन्धान गर्न निर्देशक धु्रव तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

    समितिले हिल्टन होटेलको पुनर्बिमा गर्दा दी ओरियन्टल इन्स्योरेन्स, हिमालयन रि, एलियन्ट पुनर्बिमा ब्रोकर र नेपाल रिका सिइओ थापाले निर्देशन उल्लंघन गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।

    त्यसपछि प्राधिकरणले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो । जवाफ चित्तबुझ्दो नभएपछि कारबाही गरिएको स्रोतको भनाइ छ । यसैबीच हिमालयन रि–इन्स्योरेन्सको अध्यक्षबाट शेखर गोल्छाले राजीनामा दिएका छन् ।

    उनले व्यक्तिगत कारण देखाउँदै गत शुक्रबार पदबाट राजीनामा दिएको कम्पनीका सूचना अधिकारी शिशिर गैरेले जानकारी दिए ।

    पुनर्बिमा हिमालयनमा, दाबी सरकारी कम्पनीमा
    नेपालका बिमा कम्पनीले अन्य जोखिममा न्यूनतम अनुपातमा नेपाल रि र हिमालयन रि दुवैलाई हस्तान्तरण गर्नुपर्ने नीति छ । बाँकी भएको जोखिम विदेशी पुनर्बिमा कम्पनीलाई पनि हस्तान्तरण गरिन्छ ।

    तर, हुलदंगा तथा आतंकवादजन्य जोखिमको पुनर्बिमा भने ‘नेपाल रि’मा मात्रै गर्ने नीति छ । सशस्त्र द्वन्द्धका वेला विदेशी पुनर्बिमा कम्पनीले नेपालका हुलदंगाको जोखिमको पुनर्बिमा लिन छाडेका थिए ।

    त्यसपछि नेपालमै ०६०/६१ मा आकस्मिक बिमा कोष स्थापना गरियो । उक्त कोषलाई नै कात्तिक ०७१ मा पुनर्बिमा कम्पनीका रूपमा स्थापना गरिएको हो । त्यसपछि सरकारकै निर्णयअनुसार प्राधिकरणले ०८० असार २९ गते हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बिमा नेपाल रिमा गर्न निर्देशन दिएको थियो ।

    तर, हिल्टन होटेलको बिमा गरेको दी ओरियन्टल इन्स्योरेन्सले त्यसको हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बिमा भने एलियन्ट पुनर्बिमा ब्रोकरमार्फत हिमालयन रिमा गरेको थियो ।

    नेपाल रिका सिइओ थापाले हिल्टनको पुनर्बिमा प्रस्ताव अस्वीकार गरेका कारण हिमालयनमा लगिएको ब्रोकर र इन्स्योरेन्स कम्पनीले दाबी गरेका छन् ।

    तर, तीनै पक्षको मिलेमतोमा नेपाल रिले पुनर्बिमा प्रस्ताव अस्वीकार गरेको आशंका गरिएको छ । विगतमा नेपालमा आन्दोलनबाट हुने जोखिम न्यून थिए ।

    त्यसले गर्दा यसबाट बिमा कम्पनी र पुनर्बिमा कम्पनीलाई निरन्तर नाफा भएको थियो । सोही नाफा कमाउने लोभमा नियोजित रूपमा हिल्टन होटेलको हुलदंगा तथा आतंकवादसमेतको पुनर्बिमा हिमालयन रिमा गरिएको थियो ।

    नेपाल रिका सिइओ थापालाई नियोजित रूपमा पुनर्बिमा प्रस्ताव अस्वीकार गर्न लगाएर हिमालयन रिमा पुनर्बिमा गरिएको थियो ।

    तर, जेनजी विद्रोहका क्रममा हिल्टन जलेपछि भने यसको पुनर्बिमा दायित्व नेपाल रिमार्फत गराउने प्रक्रिया अघि बढाइयो ।

    ‘प्रिमियम हिमालयन रिमा तिरेर दाबी भने सरकारी स्वामित्वको नेपाल रिमा गर्ने प्रक्रिया अघि बढाइएको पाइयो,’ प्राधिकरण स्रोतले भन्यो, ‘यसमा मिलेमतो देखिएको छ ।’ -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images