images
images
  • आयात र निर्यातबीचको अन्तर अत्यधिक फराकिलो, व्यापार घाटा ११ खर्ब

    काठमाडौं- चालू आर्थिक वर्षको पहिलो आठ महिनासम्म आइपुग्दा नेपालको वैदेशिक व्यापार संरचनामा सुधार संकेत देखिए पनि समग्र सन्तुलन भने झन् कमजोर बनेको छ ।

    भन्सार विभागका अनुसार मुलुकले करिब ११ खर्ब रुपैयाँबराबरको व्यापार घाटा ब्यहोरेको छ ।

    कुल वैदेशिक व्यापार १४ खर्ब ४० अर्बभन्दा बढी हुँदा आयात १२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ भने निर्यात १ खर्ब ९१ अर्बमै सीमित भएको छ ।

    यसरी हेर्दा आयात र निर्यातबीचको अन्तर अत्यधिक फराकिलो रहँदा व्यापार घाटा १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको हो ।

    गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा आयात करिब १२ दशमलव ५४ प्रतिशत र निर्यात २० प्रतिशतभन्दा बढीले बढेको छ ।

    निर्यात वृद्धिलाई सकारात्मक रूपमा लिन सकिए पनि यसको आधार सानो भएकाले समग्र व्यापार सन्तुलनमा खासै सुधार हुन सकेको छैन ।

    आयात–निर्यात अनुपात अझै पनि १ः६ भन्दा बढीको हाराहारीमा रहनुले नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेको स्पष्ट पार्छ ।

    आर्थिक वर्ष सुरुवातदेखि नै व्यापार घाटा निरन्तर बढ्दोक्रममा देखिएको थियो ।

    पहिलो महिनादेखि नै घाटा उच्च देखिन थालेको थियो भने पाँच महिनासम्म आइपुग्दा यो ६ खर्ब रुपैयाँ नाघिसकेको थियो । सात महिनामा पुग्दा घाटा ९ खर्ब ५५ अर्ब रुपैयाँ पार गरेको थियो ।

    आयात संरचना विश्लेषण गर्दा नेपालको अर्थतन्त्र अझै पनि उपभोगमुखी रहेको स्पष्ट हुन्छ ।

    पेट्रोलियम पदार्थ आयात सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । डिजेल, पेट्रोल र एलपी ग्यासमा मात्रै अर्बौं रुपैयाँ बाहिरिएको छ ।

    ऊर्जा क्षेत्रमा आत्मनिर्भर हुन नसक्दा विदेशी मुद्रा बाहिरिने दबाब निरन्तर बढिरहेको छ । यससँगै कच्चा भटमास तेल, फलामजन्य वस्तु, मोबाइल फोन, सुन र चाँदीजस्ता वस्तु आयात पनि उल्लेख्य छ ।

    खाद्यान्न क्षेत्रमा पनि नेपाल अझै आत्मनिर्भर हुन सकेको छैन ।

    आठ महिनामा मात्रै २८ अर्ब रुपैयाँभन्दा बढीको धान–चामल आयात भएको छ ।

    यद्यपि, अघिल्लो वर्षको तुलनामा धानको आयात केही घटेको देखिए पनि तयारी चामल (विशेषगरी बासमती)को आयात बढेको छ । निर्याततर्फ हेर्दा प्रशोधित भटमास तेल सबैभन्दा ठूलो निर्यात वस्तुका रूपमा रहेको छ ।

    यसपछि अलैंची, कार्पेट, सूर्यमुखी तेल र पाम तेल प्रमुख निर्यात वस्तु रहेका छन् । तर यीमध्ये धेरैजसो वस्तुमा कच्चा पदार्थ आयात गरेर पुनः निर्यात गर्ने प्रवृत्ति रहेको छ, जसले वास्तविक मूल्य अभिवृद्धि सीमित बनाउँछ ।

    त्यसैले निर्यात बढ्दा पनि अर्थतन्त्रमा यसको दीर्घकालीन लाभ अपेक्षित रूपमा देखिँदैन । भौगोलिक रूपमा नेपालको व्यापार संरचना अझै दुई छिमेकी मुलुकमा अत्यधिक निर्भर रहेको छ ।

    भारतसँग मात्रै पाँच खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा छ । भारतबाट सात खर्बभन्दा बढीको वस्तु आयात हुँदा निर्यात १ खर्ब ५६ अर्बको मात्र भएको छ ।

    चीनसँग पनि दुई खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढीको घाटा रहेको छ ।

    यी दुई देशसँगको असन्तुलनले नेपालको व्यापार संरचना अस्थिर र जोखिमयुक्त बनाएको छ ।

    यसबाहेक अर्जे न्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसियासँग पनि उल्लेख्य घाटा देखिएको छ । यद्यपि, सानो मात्रामा रोमानिया, नर्वे र आइसल्यान्डसँग नाफा समग्र घाटाको तुलनामा नगण्य छन् ।

    आठ महिनामा १० हजारभन्दा बढी कार आयात भएका छन् । कार आयात बढ्दा पनि विद्युतीय सवारी (ईभी) को आयात घटेको छ भने पेट्रोल गाडीको आयात उल्लेख्य रूपमा बढेको छ ।

    यो प्रवृत्ति दीर्घकालीन रूपमा चिन्ताजनक मानिन्छ, किनकि यसले पेट्रोलियम पदार्थको आयात अझै बढाउने सम्भावना देखाउँछ ।

    ईभी आयात घट्नुमा नीतिगत अनिश्चितता मुख्य कारणका रूपमा रहेको बुझाइ व्यवसायीहरूको छ ।

    कर बढ्ने हल्लाका कारण अघिल्लो वर्ष ठूलो मात्रामा ईभी आयात भएको थियो, जसले अहिलेको मागमा असर पारेको व्यवसायीहरूको भनाइ छ ।

    अर्थशास्त्रीहरूका अनुसार नेपालको व्यापार घाटा घट्न नसक्नुमा उत्पादनमूलक उद्योग विकास हुन नसकेकाले हो ।

    यसैगरी सरकारले आयात प्रतिस्थापन नीति प्रभावकारी रूपमा कार्यान्वयन नगर्दा पनि व्यापार घाटा घट्न नसकेको हो ।

    त्यस्तै निर्यातको सीमित विविधीकरण र नीतिगत अस्थिरताका कारण पनि निर्यात प्रवर्धन हुन नसकेको हो । व्यापार घाटाले विदेशी मुद्रा सञ्चिति, विनिमय दर र समग्र आर्थिक स्थायित्वमा असर पार्ने हुन्छ ।

    आयात बढी हुँदा विदेशी मुद्रा बाहिरिन्छ, जसले रुपैयाँको मूल्यमा दबाब पर्ने हुन्छ । यसले महँगी बढाउने र समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने सम्भावना हुन्छ ।

    उत्पादनमूलक उद्योग विस्तार, कृषिमा आधुनिकीकरण, ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र निर्यात विविधीकरण गरेमा व्यापार घाटा घट्ने बुझाइ अर्थशास्त्रीहरूको रहँदै आएको छ ।

    विशेष आर्थिक क्षेत्रलाई प्रभावकारी बनाउने, निर्यातमुखी उद्योगलाई प्रोत्साहन गर्ने र नीतिगत स्थायित्व कायम गर्ने सुझाव दिंइदै आएको छ ।

    यद्यपि तथ्यांक अनुसार आयात १२ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ भने निर्यात २० प्रतिशतभन्दा बढीले बढेको छ ।

    निर्यात वृद्धि सकारात्मक संकेत भए पनि यसको आधार सानो भएकाले समग्र व्यापार सन्तुलनमा खासै सुधार आउन सकेको छैन ।

    आयात–निर्यात अनुपात ७ दशमलव २४ बाट घटेर ६ दशमलव ७५ मा झरेको छ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images