काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमा बहस सर्वोच्च अदालतको संयुक्त इजलासले सोमबारदेखि सुरु भएको सुनुवाइमा आज सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले बहस सकिएसँगै आदेश आउन सक्ने सम्भावना बढेको छ ।
लामिछानेविरुद्धका यी दुई मुद्दा फिर्ता गर्ने निर्णय महान्यायाधिवक्ता सविता भण्डारी बरालले गरेकी थिइन् र आवश्यक प्रक्रियाका लागि जिल्लाका सरकारी वकिललाई निर्देशन दिइसकेकी छिन् ।
जिल्ला सरकारी वकिलले मुद्दा फिर्ता गर्ने निवेदन पेश गरे पनि जिल्ला अदालतले सर्वोच्चको निर्णय नआउँदासम्म कुनै निर्णय नगर्ने आदेश दिएको थियो ।
मुद्दा फिर्ता भएपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्चमा छुट्टाछुटै रिट दायर गरेका थिए ।
यी दुई मुद्दा फिर्ता भए पनि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दा भने कायम रहनेछ ।























