काठमाडौं– गाम्बियाका नागरिक डिसेम्बर ५ मा हुने निर्वाचनका लागि तयार भइरहँदा बेरोजगारी, बढ्दो जीवनयापन खर्च, अविश्वसनीय सार्वजनिक सेवा र न्यायमा भइरहेको ढिलाइले देशको लोकतान्त्रिक सङ्क्रमणको परीक्षा लिइरहेको छ । याह्या जामेहले सत्ता छाडेको करिब एक दशकपछि मतदाताहरूले अब आउने राष्ट्रपतिले आफूहरूसँग गरिएका परिवर्तनका वाचा पूरा गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न गरिरहेका छन् ।
सोसेह जाग्नेका लागि यो निर्वाचन स्टेट हाउस (राष्ट्रपति कार्यालय) मा कसले शासन गर्छ भन्ने विषयमा मात्र सीमित छैन । आगामी सरकारले गाम्बियाली नागरिकलाई जीविकोपार्जन गर्न सक्ने वातावरण बनाउँछ कि बनाउँदैन भन्ने विषय पनि उनका लागि उत्तिकै महत्त्वपूर्ण छ ।
जाग्नेले सन् २०२० मा ‘या अन्नाज क्याटरिङ’ नामक खानपान व्यवसाय सुरु गरेकी थिइन् । सन् २०२५ को सुरुमा उनले त्यसलाई रेस्टुरेन्टका रूपमा विस्तार गरिन् । पटक-पटक विद्युत् आपूर्ति बन्द हुँदा उनको व्यवसाय प्रभावित भएको छ । यसले खाना पकाउने, खाद्य सामग्री चिसो अवस्थामा सुरक्षित राख्ने र ग्राहकलाई सेवा दिने काममा समस्या सिर्जना गरेको छ । उनका अनुसार अगस्टदेखि अक्टोबरसम्म कहिलेकाहीँ १९ घण्टा वा त्योभन्दा बढी समयसम्म विद्युत् आपूर्ति बन्द हुन्थ्यो ।
विद्युत् अवरोधका कारण खाद्य सामग्री बिग्रिएर ४० हजारभन्दा बढी गाम्बियाली दलासी (करिब ५३२ अमेरिकी डलर) बराबरको नोक्सानी भएको उनको अनुमान छ । पर्याप्त चिसो अवस्थामा राख्न नसकिने भएपछि उनले घरमै बनाइने आइस्ड जुस बेच्नसमेत छाडेकी छन् ।
उनले भनिन्, ‘विद्युत् विलासिताको वस्तु होइन, यो मानिसहरूको दैनिक जीवनका लागि आवश्यकता हो । विशेषगरी विद्युत्मा निर्भर भएर सञ्चालन हुने व्यवसायका लागि त यसको झनै ठुलो महत्त्व छ ।’
राष्ट्रपति अदामा बारो तेस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका बेला उनको अनुभवले घरपरिवार र व्यवसायीहरूले भोगिरहेको दबाबलाई प्रतिबिम्बित गर्छ । स्वतन्त्र निर्वाचन आयोगका अनुसार डिसेम्बर ५ को निर्वाचनमा बारोसहित आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सन् २०१७ मा २२ वर्षसम्म शासन गरेका जामेहलाई पराजित गर्दै बारो सत्तामा आएका थिए ।
जीविकोपार्जनकै लागि सङ्घर्ष

धेरै युवा गाम्बियालीका लागि सबैभन्दा ठुलो प्रश्न रोजगारी कहाँ पाइन्छ भन्ने हो । सन् २०२५ को गाम्बिया श्रम शक्ति सर्वेक्षणअनुसार देशको समग्र बेरोजगारीदर ८.३ प्रतिशत पुगेको छ । सन् २०२२-२३ मा यो दर ७.६ प्रतिशत थियो । १५ देखि ३५ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर ११.५ प्रतिशत छ ।
सोही सर्वेक्षणले उक्त उमेर समूहका ४१.३ प्रतिशत युवा रोजगारी, शिक्षा वा तालिम कुनै पनि क्षेत्रमा संलग्न नरहेको देखाएको छ ।
गाम्बिया विश्वविद्यालयबाट स्नातक गरेकी २६ वर्षीया मराम मेन्डीका लागि रोजगारी खोज्ने प्रक्रिया दिनप्रतिदिन निराशाजनक बन्दै गएको छ । उनको शिक्षाका लागि अभिभावकले ठुलो त्याग गरेका थिए । त्यसैले पढाइ पूरा गरेपछि पनि रोजगारी पाउन नसक्नु उनका लागि झनै पीडादायी बनेको छ ।
उनले भनिन्, ‘अब म जागिर खोज्दाखोज्दै दिक्क भइसकेँ ।’
उनका अनुसार रोजगारदाताहरूले प्रायः अघिल्लो कामको अनुभव माग्छन् । यसले नयाँ स्नातकहरूलाई एउटा चक्रमा फसाएको छ । अनुभवविना जागिर पाइँदैन । तर जागिरविना अनुभव हासिल गर्न पनि सकिँदैन ।
सन् २०२३ मा स्नातक गरेयता बेरोजगार रहेका २८ वर्षीय बुबा सान्नेका लागि यो निराशाले अनियमित आप्रवासनको बाटो हुँदै युरोप जाने सोचसम्म पुर्याएको छ । यस्तो यात्रालाई सामान्यतया ‘ब्याकवे’ भनिन्छ ।
हाकिम टुरेका लागि विदेशमा अवसर खोज्ने क्रममा उनको परिवारले ठुलो मूल्य चुकाउनुपरेको छ । उनका दाजु बब सन् २०२१ मा युरोप जाने प्रयास गर्दा २७ वर्षका थिए । भूमध्य सागर पार गर्ने क्रममा उनको मृत्यु भयो ।
हाकिमका अनुसार दाजुको मृत्युले देशभित्रको बेरोजगारी, गरिबी र सीमित अवसरका गम्भीर परिणाम उजागर गरेको छ । सन् २०२६ अक्टोबरमा कोलम्बिया भ्रमणपछि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक मोरिस टिडबल–बिन्जले उल्लेख गरेका तथ्याङ्कले पनि यस जोखिमलाई देखाउँछन् ।
आफ्नो भ्रमणसम्बन्धी अन्तिम प्रतिवेदनमा उनले स्वतन्त्र स्रोतहरूलाई उद्धृत गर्दै सन् २०२४ मा १ हजार ६०३ र सन् २०२५ मा ८९३ जना गाम्बियालीको अनियमित आप्रवासनको प्रयासका क्रममा मृत्यु भएको बताएका छन् । तीमध्ये अधिकांशको मृत्यु समुद्रमा भएको थियो ।
यसैबीच अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सन् २०१४ यता आप्रवासनका क्रममा विभिन्न मार्गमा कम्तीमा ४०८ जना गाम्बियाली बेपत्ता भएको अभिलेख राखेको छ ।
परिवारका लागि यी तथ्याङ्क केवल सङ्ख्या होइनन् । यी त गुमेका जीवन र अझैसम्म कुनै खबर नपाएका आफन्तहरूको पीडा हुन् ।
जीवनयापन खर्च र आधारभूत सेवा
आर्थिक कठिनाइ बेरोजगारीमा मात्र सीमित छैन । गाम्बिया तथ्याङ्क विभागले प्रकाशित गरेको तथ्याङ्कअनुसार सन् २०२० मा देशको कुल जनसंख्याको ५३.४ प्रतिशत अर्थात् करिब ११ लाख मानिस राष्ट्रिय गरिबीको रेखामुनि थिए ।
ग्रामीण क्षेत्रमा गरिबीको दर करिब ७६ प्रतिशत थियो भने सहरी क्षेत्रमा ३४ प्रतिशत थियो । बाकोतेह बजारमा तरकारी बेच्ने ३८ वर्षीया फातुमाता जवारा बढ्दो मूल्यवृद्धिका कारण परिवार पाल्न झन् कठिन भएको बताउँछिन् ।
स्वास्थ्य उपचार पनि सर्वसाधारणको पहुँचमा हुने गरी सस्तो बनाउनुपर्ने उनको माग छ ।
उनले भनिन्, ‘दिनप्रतिदिन जीवन धान्न कठिन हुँदै गएको छ । हामीलाई हाम्रो जीवनस्तर सुधार गर्ने राष्ट्रपति चाहिएको छ ।’
नजिकै रहेकी दुई सन्तानकी आमा २२ वर्षीया इसातु सेसेले भने नेताहरूका आश्वासन सुन्दासुन्दै आफू थाकिसकेको बताइन् ।
उनले भनिन्, ‘उनीहरू केवल वाचा गर्छन् । निर्वाचन सकिएपछि फेरि उनीहरूको अनुहार देख्न पाइँदैन । हामी उनीहरूका अनगिन्ती आश्वासनबाट दिक्क भइसकेका छौँ ।’
सुरक्षा पनि अर्को चिन्ताको विषय बनेको छ । विशेषगरी सेनेगलको कासामान्स क्षेत्र नजिक रहेका समुदायहरूमा सुरक्षा चुनौती बढेको छ । छिमेकी क्षेत्रमा देखिएको अस्थिरताले सीमावर्ती बस्तीको सुरक्षा र सीमा पार आवतजावतमा निर्भर जीविकोपार्जनबारे चिन्ता बढाएको छ ।
अधुरो न्यायको प्रतीक्षा
जामेहको शासनकालमा भएका मानव अधिकार उल्लङ्घनबाट प्रभावित परिवारहरूले सन् २०१७ मा सरकार परिवर्तन भएपछि न्याय र दोषीमाथि कारबाही हुने आशा गरेका थिए । तर करिब एक दशक बितिसक्दा पनि धेरै पीडित परिवार अझै न्याय पाउने प्रतीक्षामा छन् ।
सन् २००० अप्रिलमा सुरक्षाकर्मीले विद्यार्थी प्रदर्शनमाथि हिंसात्मक दमन गर्दा साइनाबु कामारा लोवे १७ वर्षकी थिइन् । उक्त घटनामा एक दर्जनभन्दा बढी विद्यार्थी मारिएका थिए । उनी बाँच्न सफल भइन् । तर उनको मेरुदण्डमा गम्भीर चोट लाग्यो र दुई पटक शल्यक्रिया गर्नुपर्यो ।
अहिले ४३ वर्षीया र विधवा रहेकी उनी पाँच सन्तानको पालनपोषण गरिरहेकी छन् । शारीरिक रूपमा सहज हिँडडुल गर्न नसक्ने समस्यासँगै उनले आर्थिक कठिनाइ पनि भोगिरहेकी छन् । क्षतिपूर्तिको प्रक्रियाअन्तर्गत उनले करिब ९ लाख गाम्बियाली दलासी (११ हजार ९७० अमेरिकी डलर) प्राप्त गरे पनि त्यसले परिवारको कठिनाइ कम गर्न खासै सहयोग नगरेको बताइन् ।
उनले भनिन्, ‘पीडितका रूपमा हामीलाई बिर्सिएको छ । हामी अझै पीडा र गरिबीमा बाँचिरहेका छौँ ।’
गाम्बिया सेन्टर फर भिक्टिम्स अफ ह्युमन राइट्स भायलेसन्सका राष्ट्रिय संयोजक केब्बा जोमेका अनुसार सत्य, मेलमिलाप तथा क्षतिपूर्ति आयोगले गरेका २६३ सिफारिसमध्ये २५ प्रतिशतभन्दा कम मात्रै पूर्ण रूपमा कार्यान्वयन भएका छन् ।
जामेहको शासनकालमा भएका भनिएका अपराधहरूको सुनुवाइ गर्न गठन गरिएको विशेष न्यायाधिकरणले आगामी वर्षको सुरुवातमा सुनुवाइ थाल्ने अपेक्षा गरिएको जोमेले बताए । आगामी राष्ट्रपतिको जिम्मेवारी न्यायिक जवाफदेहिताको प्रक्रिया अगाडि बढाउने सुनिश्चित गर्नु पनि हुने उनको भनाइ छ ।
विपक्षी नेता एब्रिमा सोलो सान्देङका सन्तान मोहम्मद र फातुमाता सान्देङका लागि पनि जामेहको बहिर्गमनपछि गरिएको न्यायको वाचा अझै महत्त्वपूर्ण छ । सत्य, मेलमिलाप तथा क्षतिपूर्ति आयोगको निष्कर्षअनुसार उनीहरूका बुबाको सन् २०१६ अप्रिलमा सरकारी हिरासतमा यातना दिएपछि मृत्यु भएको थियो ।
उनीहरूका बुबाको सन् २०१६ अप्रिलमा सरकारी हिरासतमा यातना दिएपछि मृत्यु भएको थियो । उनीहरू आगामी सरकारले आयोगका सिफारिस कार्यान्वयन गर्नुपर्ने र मानव अधिकार उल्लङ्घनमा संलग्न दोषीलाई न्यायको कठघरामा उभ्याउनुपर्ने माग गर्छन् ।
फातुमाताले भनिन्, ‘पीडितहरू लामो समयदेखि न्यायको प्रतीक्षामा छन् । प्रतीक्षा गर्दागर्दै पीडितहरूको मृत्यु भइरहेको छ । न्याय पाउन निकै ढिला भइसकेको छ ।’
प्रतिस्पर्धी वाचा, उस्तै चुनौती
यी मागहरू अधुरो राजनीतिक सुधारको पृष्ठभूमिमा उठिरहेका छन् । जामेहको शासन अन्त्यपछि गरिएको प्रमुख राजनीतिक प्रतिबद्धतामध्ये सन् १९९७ को संविधान प्रतिस्थापन गर्ने योजना अझै पूरा भएको छैन ।
सार्वजनिक छलफल र समीक्षा प्रक्रियापछि तयार पारिएको सन् २०२० को संविधानको मस्यौदामा राष्ट्रपतिको कार्यकाल दुई पटकसम्म सीमित गर्ने व्यवस्थासहित विभिन्न संस्थागत सुधार प्रस्ताव गरिएको थियो ।
तर सन् २०२० सेप्टेम्बरमा राष्ट्रियसभामा आवश्यक दुईतिहाइ बहुमत प्राप्त गर्न नसकेपछि उक्त मस्यौदा पारित हुन सकेन । मस्यौदामाथि भएको विवादमध्ये बारोको पहिलो कार्यकाललाई प्रस्तावित कार्यकाल सीमामा गणना गर्ने कि नगर्ने भन्ने विषय पनि थियो ।
बारोले विपक्षी दलहरूको अवरोधका कारण संविधान पारित हुन नसकेको आरोप लगाएका थिए । पुनः निर्वाचित भएमा संविधान सुधारको प्रक्रिया अघि बढाउने उनले बताएका छन् ।
उनका प्रमुख प्रतिस्पर्धी तथा युनाइटेड डेमोक्रेटिक पार्टी (यूडीपी) का नेता उसैनु डार्बोले भने पदभार ग्रहण गरेको पहिलो १०० दिनभित्र सन् २०२० को संविधानको मस्यौदा पुनः संसद्मा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन् । उनको पार्टीको सन् २०२६ को घोषणापत्रमा उनले पाँच वर्षको एक कार्यकाल मात्रै पूरा गर्ने प्रतिबद्धता पनि उल्लेख छ ।
घोषणापत्रमा संस्थागत तथा सुरक्षा क्षेत्रको सुधार, राष्ट्रपतिको कार्यालयको बजेट कटौती, सार्वजनिक ऋण नियन्त्रण र स्वास्थ्य, शिक्षा, विद्युत् तथा खानेपानीलगायत सार्वजनिक सेवाको प्रभावकारिता बढाउने प्रस्ताव समावेश छन् ।
अन्य उम्मेदवारमा कानिफिङ नगरपालिकाका पूर्वमेयर तालिब अहमद बेन्सुदा र स्वतन्त्र उम्मेदवार अल्मामेह गिब्बा छन् । गिब्बाले निर्वाचन जितेमा जामेहलाई गाम्बिया फर्कन सहज बनाउने बताएका छन् ।
पूर्वउपराष्ट्रपति इसातु टुरे देशको पहिलो महिला राष्ट्रपति बन्ने लक्ष्यसहित चुनावी मैदानमा छिन् । कुचो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरिरहेकी उनले नयाँ संविधान निर्माण र नागरिकको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
राजनीतिशास्त्री एसा एनजीका अनुसार निर्वाचनको परिणाममा आर्थिक अवस्था, उम्मेदवारहरूको व्यक्तित्व र पार्टीप्रतिको निष्ठाले प्रभाव पार्नेछ ।
बेरोजगारी, जीवनयापन खर्च र भ्रष्टाचार मतदाताका प्रमुख चिन्ता भए पनि केही मतदाताले जातीय, धार्मिक र राजनीतिक आधारमा आफ्नो निर्णय गर्ने उनको भनाइ छ ।
आगामी सरकारले संस्थागत सीमितता र परस्पर विरोधी राजनीतिक स्वार्थका बीच चुनावी प्रतिबद्धतालाई वास्तविक सुधारमा परिणत गर्ने चुनौती सामना गर्नुपर्नेछ ।
फरक भविष्यका लागि मतदान ?
धेरै गाम्बियालीका लागि डिसेम्बर ५ को निर्वाचनले आगामी पाँच वर्षमा दैनिक जीवनमा ठोस परिवर्तन आउँछ कि आउँदैन भन्ने निर्धारण गर्नेछ ।
जाग्ने आफ्नो व्यवसाय सञ्चालन गर्न नियमित विद्युत् आपूर्ति चाहन्छिन् । मेन्डी रोजगारीको अवसर खोजिरहेकी छन् । सान्ने आफ्नो जीवन जोखिममा राखेर ‘ब्याकवे’ हुँदै युरोप जानुपर्ने अवस्था अन्त्य होस् भन्ने चाहन्छन् ।
बजारका व्यापारीहरू आफ्ना सन्तानलाई खाना खुवाउन र स्वास्थ्य उपचारको खर्च धान्न सक्ने वातावरण चाहन्छन् । मानव अधिकार उल्लङ्घनका पीडित परिवारहरू न्याय र आफ्ना आफन्तलाई नबिर्सिएको सुनिश्चितता खोजिरहेका छन् ।
जामेहले सत्ता छाडेको करिब एक दशक बितिसक्दा पनि यी अपेक्षाहरू गाम्बियाको लोकतान्त्रिक यात्राका प्रमुख मुद्दा बनेका छन् । निर्वाचनमा जसले जिते पनि उसले देश सञ्चालन गर्ने जिम्मेवारीसँगै पूरा हुन नसकेका वाचाहरूको बोझसमेत बोक्नुपर्नेछ ।
युरोप पुग्ने प्रयासमा दाजु गुमाएका हाकिम टुरेका लागि यो विषय व्यक्तिगत पीडासँग जोडिएको छ । उनले भने, ‘हाम्रा युवाहरू अनिवार्य रूपमा गाम्बियाबाट भागिरहेका होइनन् । उनीहरूमध्ये धेरै निराशाबाट भागिरहेका छन् ।’
-एजेन्सी/बन्जुल






















