काठमाडौं– अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९०० गोलको ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
बुधबार राति कन्काकाफ च्याम्पियन्स कप अन्तर्गत नासभिल एससीविरुद्धको खेलमा गोल गर्दै उनले यो कोसेढुङ्गा पार गरेका हुन्। ३८ वर्षीय मेसी यो उपलब्धि हासिल गर्ने विश्वका दोस्रो खेलाडी बनेका छन्।
टेनेसीस्थित जियोडिस पार्कमा भएको अन्तिम १६ को दोस्रो लेगमा मेसीले खेलको सातौँ मिनेटमै गोल गर्दै कीर्तिमान कायम गरेका हुन्।
सन् २०२३ जुनमा इन्टर मायामीमा आबद्ध भएयता उनले ९२ खेलमा ८१ गोल गरिसकेका छन्। उनको उत्कृष्ट प्रदर्शनकै मद्दतमा टोलीले लिग कप र एमएलएस कपको उपाधि जित्न सफल भएको छ।
मेसीको गोल यात्रा सन् २००५ मे महिनाबाट सुरु भएको हो। १७ वर्ष १० महिना ७ दिनको उमेरमा अल्बासेटेविरुद्ध बार्सिलोनाका लागि पहिलो गोल गर्दै उनी क्लब इतिहासकै कान्छा गोलकर्ता बनेका थिए।


विश्व खबर 



















