images
images
  • इरानले खाडीका तेल भण्डारमा मिसाइल प्रहार गरेपछि अमेरिकी सत्तापक्षका सांसदले गरे इजरायलको विरोध

    काठमाडौं– अमेरिका–इजरायल र इरानबीच जारी युद्ध आज २०औँ दिनमा प्रवेश गरेको छ। पछिल्लो घटनाक्रममा इरानले बुधबार राति कतारको सबैभन्दा ठूलो ग्यास प्लान्ट ‘रास लाफान’ मा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।

    आक्रमणपछि उक्त क्षेत्रमा आगलागी भएको र ठूलो भौतिक क्षति पुगेको बताइएको छ। आगो नियन्त्रणका लागि तत्काल आपत्कालीन टोली परिचालन गरिएको थियो।

    कतारले यस घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै सर्वसाधारण र अत्यावश्यक पूर्वाधारलाई लक्षित गर्नु ‘लक्ष्मणरेखा पार गर्नु’ भएको प्रतिक्रिया दिएको छ। साथै, यस्ता गतिविधिले समग्र क्षेत्रीय स्थायित्वलाई खतरामा पार्ने चेतावनी दिँदै कतारले सबै पक्षलाई संयमता अपनाउन र तनाव कम गर्न आह्वान गरेको छ।

    उता, इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनीले सुरक्षा प्रमुख अली लारिजानीको हत्याको बदला लिने चेतावनी दिएका छन्। उनले ‘हरेक रगतको मूल्य चुकाइनेछ’ भन्दै कडा प्रतिक्रिया व्यक्त गरेका छन्।

    यसैबीच, अमेरिका र इजरायलले दक्षिणी इरानस्थित साउथ पार्स ग्यास फिल्ड र असालुयेह क्षेत्रका तेल तथा ग्यास केन्द्रहरूमा हवाई आक्रमण गरेका छन्। साउथ पार्सलाई विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार मानिन्छ। आक्रमणमा ग्यास, तेल र पेट्रोकेमिकल पूर्वाधारहरू लक्षित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    इजरायलका रक्षामन्त्रीले यसअघि इरान र लेबनानमा ‘ठूलो सरप्राइज’ देख्न पाइने चेतावनी दिएका थिए, जसलाई हालका आक्रमणहरूसँग जोडेर हेरिएको छ। जवाफस्वरूप इरानले खाडी क्षेत्रका देशहरूमा थप आक्रमण हुन सक्ने संकेत दिएको छ। इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले साउदी अरब, यूएई र कतारका ऊर्जा केन्द्रहरू नजिक नजान सर्वसाधारणलाई आग्रह गरेको छ।

    उता, अमेरिकी रक्षा विभाग ‘पेन्टागन’ ले इरानसँगको युद्धका लागि २०० अर्ब डलरभन्दा बढी बजेट आवश्यक पर्ने भन्दै ह्वाइट हाउससँग प्रस्ताव गरेको छ। हालसम्म युद्धको लागत ११ अर्ब डलर नाघिसकेको बताइएको छ। उक्त प्रस्ताव अमेरिकी कंग्रेसमा पठाइने तयारीमा रहेको छ।

    तर, यस विषयमा अमेरिकाभित्रै मतभेद देखिएको छ। अमेरिकी सांसद क्रिस भ्यान होलेनले यस्तो ठूलो सैन्य खर्चको खुलेर विरोध गरेका छन्। उनले यो युद्ध जनताको चाहना विपरीत रहेको र यसले देशको सुरक्षा पनि सुनिश्चित नगर्ने दाबी गर्दै यसमा कुनै पनि हालतमा समर्थन नगर्ने बताएका छन्।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलद्वारा इरानको साउथ पार्स ग्यास फिल्डमा गरिएको आक्रमणप्रति असन्तुष्टि जनाएका छन्। उनले उक्त आक्रमणबारे अमेरिकालाई पूर्वजानकारी नभएको दाबी गरेका छन्।

    ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया दिँदै इजरायलको आक्रमणबाट सीमित क्षेत्रमा मात्र क्षति पुगेको बताएका छन्। साथै, कतारको यस घटनासँग कुनै संलग्नता नभएको पनि स्पष्ट पारेका छन्।

    उनले चेतावनी दिँदै भनेका छन् कि यदि कतारको एलएनजी केन्द्रमा पुनः आक्रमण भएमा त्यसको गम्भीर परिणाम हुनेछन्। साथै, अनावश्यक हिंसा र विनाशले क्षेत्रीय स्थायित्व मात्र होइन, इरानको दीर्घकालीन भविष्यमा पनि असर पर्ने उल्लेख गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images