काठमाडौं– अमेरिकी रक्षा मन्त्रालयले इरानसँगको युद्धका लागि २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको छ ।
युद्ध तेस्रो सातामा प्रवेश गर्न लाग्दा यस्तो प्रस्ताव ह्वाइट हाउसमा पठाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।
ह्वाइट हाउसले उक्त प्रस्तावलाई कांग्रेसमा पेश गर्ने तयारी गरिरहेको छ ।
पेन्टागनले माग गरेको रकम हालसम्मको सैन्य खर्चभन्दा धेरै ठूलो रहेको बताइएको छ ।
अमेरिका र इसराइलले फेब्रुअरी २८ यता इरानका विभिन्न क्षेत्रमा गरेको आक्रमणका क्रममा प्रयोग भएका हतियार तथा सैन्य सामग्रीको पुनः उत्पादन र मर्मतका लागि ठूलो रकम आवश्यक परेको जनाइएको छ ।
यद्यपि, ह्वाइट हाउसले कांग्रेसमा पठाउने अन्तिम बजेट प्रस्ताव पेन्टागनले माग गरेकै जस्तो हुनेछ कि हुँदैन भन्ने अझै निश्चित छैन ।
एक अधिकारीका अनुसार त्यति ठूलो बजेट कांग्रेसबाट पारित हुने सम्भावना कम देखिएको छ ।
इरान युद्धमा महँगा र उन्नत हतियारको प्रयोगका कारण खर्च निकै बढेको अनुमान गरिए पनि यसको यकिन विवरण सार्वजनिक गरिएको छैन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको सुरुवातमा विदेशमा सैन्य संलग्नता घटाउने बताएका थिए, तर हालको अवस्था त्यसको विपरीत देखिएको छ ।
यसअघि रूस–युक्रेन युद्धका क्रममा अमेरिकाले युक्रेनलाई सहयोग गर्न झन्डै १८८ अर्ब डलर स्वीकृत गरिसकेको छ ।
अहिले इरानसँगको युद्ध चर्किँदै जाँदा रक्षा खर्च अझै बढ्ने संकेत देखिएको छ ।
यो प्रस्ताव पेन्टागनभित्र उपरक्षा सचिवको नेतृत्वमा अघि बढाइएको हो ।
युद्धका कारण विशेषगरी सटीक हतियारको भण्डार तीव्र रूपमा घट्दै गएको बताइएको छ ।
अमेरिकी संसदमा भने यो प्रस्ताव पारित गराउन सहज देखिँदैन ।
डेमोक्र्याटहरू युद्धप्रति आलोचनात्मक छन् भने रिपब्लिकनहरूले समर्थन जनाए पनि स्पष्ट रणनीति अघि सारेका छैनन् ।
सिनेटमा ६० मत आवश्यक पर्ने भएकाले प्रस्ताव पारित गर्न चुनौतीपूर्ण हुने देखिएको छ ।
विशेषज्ञहरूका अनुसार यो बजेट प्रस्तावले इरान युद्धप्रति अमेरिकी जनमत कस्तो छ भन्ने पनि परीक्षण गर्नेछ ।