काठमाडौं- वातावरण, स्वास्थ्य तथा अनुसन्धानमा करोडौँ डलर खर्च कटौती गर्ने ट्रम्प सरकारले अहिले इरान युद्धमा अर्बौँ डलर खर्च गरेको तथ्यांक बाहिरिएपछि धेरै अमेरिकी रुष्ट बनेका छन् ।
इरानमाथिको सैन्य आक्रमणको पहिलो सातामै अमेरिकाले ११.३ अर्ब डलर खर्च गर्यो । यो ठुलो रकम ट्रम्प प्रशासनले कटौती गर्न खोजेका धेरै सार्वजनिक स्वास्थ्य र वैज्ञानिक एजेन्सीको वार्षिक बजेटभन्दा बढी हो ।
यही कुरालाई देखाएर केहीले वर्तमान ट्रम्प सरकारको प्राथमिकताबारे गम्भीर प्रश्न उठाएका छन् । फेब्रुअरी २८ मा इरानमा अमेरिका र इजरायलको संयुक्त आक्रमण सुरु भएपछिका ६ दिनमै अमेरिकी करदाताको ११.३ अर्ब डलर बममा खर्च गरिएको तथ्यांक अमेरिकी रक्षा मन्त्रालयले देशका सांसदलाई जानकारी गरायो, जसमा सेनाको मध्यपूर्वमा तैनाथीजस्ता द्वन्द्वको सम्पूर्ण लागत समेटिएको छैन ।
साथै युद्ध लम्बिएको अवस्थामा यो संख्या निकै बढेको हुनुपर्छ ।
अमेरिकाले इरान युद्धको पहिलो सातामा खर्च गरेको रकम यो वर्ष त्यहाँको वातावरण संरक्षणसम्बन्धी एजेन्सी इन्भाइरोनमेन्ट प्रोटेक्सन एजेन्सी (बजेट ८.८ अर्ब डलर), रोग नियन्त्रण तथा रोकथाम केन्द्र (बजेट ९.२ अर्ब डलर) वा नेसनल क्यान्सर इन्स्टिच्युट (बजेट ७.४ अर्ब डलर)लाई वर्षभर वित्तपोषण गर्न पर्याप्त हुने बजेट हो ।
त्यस्तै ११.३ अर्ब डलर यो वर्ष न राष्ट्रिय विज्ञान प्रतिष्ठान ‘नेसनल साइन्स फाउन्डेसन’मार्फत संघीय वैज्ञानिक अनुसन्धान कोषका लागि छुट्याइएको कुल रकमभन्दा पनि बढी हो ।
‘यसले अमेरिकी जनताको स्वास्थ्य र कल्याणमाथि सैन्यवाद कति हाबी छ भन्ने विचलित पार्ने प्राथमिकताको चित्र देखाउँछ,’ हार्वार्ड मेडिकल स्कुलका प्राध्यापक एडम ग्याफ्नीले भने, ‘त्यो पैसाले हामी सार्वजनिक स्वास्थ्य खर्च दोब्बर गर्न वा अमेरिकीहरूका लागि थप स्वच्छ हावा र पानी सुनिश्चित गर्दै वातावरणीय सुरक्षा दोब्बर बनाउन सक्थ्यौँ ।
हामीले थप लाखौँ अमेरिकीलाई स्वास्थ्य सेवा सुविधा प्रदान गर्न सक्थ्यौँ । तर, हामीले त्यति ठुलो रकम युद्धमा लगाउन सही ठान्यौँ ।’
ट्रम्प प्रशासनले यो वर्ष विभिन्न वातावरण तथा स्वास्थ्य निकायको बजेटमा ५० प्रतिशतभन्दा बढीको कठोर कटौती प्रस्ताव गरेको छ ।
अमेरिकाले सार्वजनिक स्वास्थ्य र विज्ञान एजेन्सीहरूको बजेटलाई अझ कम गर्न खोजेको छ । गत वर्ष ट्रम्पले सत्ता सम्हालेलगत्तै एलन मस्क नेतृत्वमा तथाकथित खर्च कतौती निकाय नै खोलेका थिए ।
त्यसले अनावश्यक खर्च कतौती गर्ने भन्दै संघीय कर्मचारी तथा वैज्ञानिकको ठुलो समूहलाई बर्खास्त गर्ने, स्वच्छ ऊर्जा विकासदेखि क्यान्सर उपचारसम्मका हजारौँ अनुसन्धानलाई छुट्याइको अनुदान कोष रोक्का गर्ने काम गरेको थियो ।
सैन्य खर्चले विभिन्न अनुसन्धान वा विज्ञान क्षेत्रको प्रबलीकरणमा हुने खर्च काट्न सक्ने चिन्ता सन् १९२० को दशकदेखि नै बारम्बार उठाइँदै आइएको छ ।
हुन पनि दोस्रो विश्वयुद्धपछि अनुसन्धानको कोष प्रायस् सैन्य अनुसन्धानतर्फ सरेको छ । अमेरिकी रक्षा मन्त्रालयको पेन्टागनको बजेट अहिले समग्र अमेरिकी सरकारी खर्चको सबैभन्दा विशालमध्ये एक हो ।
इरान युद्धमा खर्च गरिएको विशाल रकमप्रति विशेषगरी अनुसन्धानकर्ताको ध्यान तानेको, जसका संस्थानमा विगत एक वर्षमा थुप्रै सानाठुला संघीय सहायता कटौती गरिए ।
यस्तै एक अनुसन्धानदाता हुन्, सान होजे स्टेट युनिभर्सिटीमा विज्ञान शिक्षाकी सह–प्राध्यापक ट्यामी भिसिनटेनर । उनको संस्थानमा गत वर्ष ‘विविधता, समानता र समावेशीकरण’ जोडिएका अनुसन्धानमा प्रशासनले लगभग पाँच लाख डलरबराबरको दुईवटा अनुदान कटौती गर्यो ।
त्यस निर्णयले स्टेम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित)मा विद्यार्थीको सहभागिता दर बढाउन तथा सहरी क्षेत्र ताप क्षेत्रको प्रभाव मापन गर्न चार वर्षदेखि चलिरहेको अनुसन्धान अवरुद्ध भएको भिसिन्टेनरले बताइन् ।
‘यो युद्ध खर्च कटौती कहिल्यै खासमा रकम अभावसँग सम्बन्धित थिएन भन्ने अर्को प्रमाण हो । यदि पैसा बचत गर्ने हो भने त्यसको पहिलो निसाना सेना हुनुपथ्र्यो ।
खासमा तिनको उद्देश्य विज्ञान र उनीहरूका ठुला दाताहरू तथा ठुला तेल कम्पनीले समर्थन नगर्ने कुनै पनि क्षेत्रलाई कमजोर पार्नेबारे थियो,’ भिसिनटेनरले निराश हुँदै भनिन्, ‘टोमाहक मिसाइलको सयको एक भागले यी सबै एजेन्सीको खर्च पुग्थ्यो ।
यसले धेरै अनुसन्धानलाई वित्त पोषित गर्न सक्थ्यो । तर, तिनले सो रकम इरानी स्कुले छात्रा मार्न प्रयोग गरे ।’ -पत्रपत्रिकाबाट


विश्व खबर 


















